• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

समानुपातिक उमेदवारका लागि बागलुङ एमालेका चौध नेता सिफारिस

  • २०८२ पुष ११, शुक्रबार

 बागलुङ । फागुन २१ मा तोकिएको निर्वाचन सम्पन्न गर्न सरकार नै जिम्मेवार नदेखिएको भन्दै प्रतिनिधिसभा पुनस्थापनालाई प्राथमिकतामा राखेको नेकपा एमालेले समानुपातिक उमेदवार छनोट प्रक्रियालाई अगाडि बढाएको छ । पार्टी केन्द्रले प्रदेश कमिटि र जिल्ला कमिटिहरुलाई अनौपचारिक रुपमा समानुपातिक उमेदवारको नाम टिपाउन निर्देशन गरेको गण्डकीका एक एमाले जिल्ला अध्यक्षले बताए । पार्टीको लिखित सर्कुलर केही छैन, तर जिल्ला अध्यक्षलाई अनौपचारिक रुपमा उमेदवार सिफारिस गर्न भनिएको छ ।

त्यही अनुसार जिल्लाका अध्यक्षहरुले उमेदवारहरुको नाम अनौपचारिक रुपमै प्रदेश र केन्द्रलाई टिपाएको एमाले स्रोतले जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस १३ गतेसम्म दलहरुले समानुपातिक उमेदवारको लिष्ट आयोगमा बुझाउनु पर्नेछ । एमाले बागलुङबाट प्रदेश र केन्द्रमा १४ जनाको नाम सिफारिस भएको स्रोतले जनाएको छ । पार्टीमा आधिकारीक पत्र नआएकाले वैठक बसेर निर्णय नभए पनि जिल्लाबाट ३ जना केन्द्रीय सदस्य, एक जना निवर्तमान केन्द्रीय सदस्य सहित १४ जनाको नाम समानुपातिक उमेदवारका रुपमा पठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हालै सम्पन्न ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मन कुमारी केसी जिसी, सावित्रा राना र मञ्जु शर्मा चालिसेको नाम महिलातर्फ सिफारिस भएको छ ।

यस्तै महिलातर्फ नै प्रदेश कमिटि सदस्यहरु गिता शर्मा, भिमा अधिकारी र ममतादेवी शर्मा, जिल्ला उपसचिव करमती पुन र जिल्ला सचिवालय सदस्य चित्रा श्रीसको नाम सिफारिस भएको छ । यस्तै अन्यतर्फ (खस आर्य) निवर्तमान केन्द्रीय सदस्य डा.कृष्ण बहादुर केसी र पूर्व जिल्ला अध्यक्ष जनक पौडेल, जनजातीतर्फ प्रदेश कमिटि सदस्य लिला राना र पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, अल्पसंख्यकतर्फ प्रदेश कमिटि सदस्य भीम प्रसाद शेरचन (सुनिल) तथा दलिततर्फ प्रदेश कमिटि सदस्य बाबुराम नेपाली सिफारिस भएको एमाले स्रोतले जनाएको छ । एमाले बागलुङका एक पदाधिकारीका अनुसार पार्टी केन्द्रले उमेदवारको मापदण्ड सहित लिखित निर्देशन नगरेको हुनाले जिल्ला कमिटिले औपचारिक वैठक बसेर उमेदवार चयन नगरेको जानकारी दिएका छन्कक ।

एमालेबाट गत निर्वाचनमा देवी प्रकाश भट्टचन समानुपातिक सांसद रहनु भएको थियो । संघीय संसदमा एक जना समानुपातिक सांसद रहे पनि गण्डकी प्रदेशमा भने ४ जना रहनु भएको छ । जनजातीबाट लिला बहादुर थापा, दलितबाट गोविन्द बहादुर नेपाली, अन्यबाट कृष्ण पाठक र जनजाती महिलाबाट बिना थापा प्रदेशसभामा सदस्य रहनु भएको छ । प्रदेशसभाका सदस्य मध्ये कृष्ण पाठक प्रदेशको स्वास्थ्यमन्त्री र बिना थापा प्रदेशसभाको उपसभामुख रहनु भएको छ । निर्वाचन हुने नहुने अन्यौलताकै बीच सबै राजनीतिक दलहरुले क्षेत्र तथा जिल्लाबाट समानुपातिक तर्फका उमेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा लगायतले कमिटिमार्फत छलफल गरी उमेदवार सिफारिस गरेको बताएका छन् । एमालेले भने यस पटक कमिटिको वैठकबाट नभई अनौपचारिक रुपमा उमेदवारको नाम पठाउन निर्देशन गरेको भन्दै आलोचना समेत भएको छ ।

  • २०८२ पुष ११, शुक्रबार