बागलुङ । नेकपा माओवादी केन्द्र सहित डेढ दर्जन दलहरु एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङलाई यतिबेला चुनावले छोएको छ ।
चुनावी अभियान अन्तरगत नेकपा बागलुङले काठमाडौंमा रहेका नेता कार्यकर्ताहरुका बीचको भेला सोमबार सम्पन्न गरेको छ ।
चुनावी अभियानमा जिल्ला बाहिर रहेका नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउने, सबैलाई आ–आफ्नो भुगोलको चुनाव परिचालन सम्बन्धमा योजना बनाउन, चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउन तथा जिल्ला बाहिर मतदाताहरुसंगको भेटघाट योजना बनाउन उत्प्रेरित गर्ने उद्देश्यका साथ भेला सम्पन्न गरिएको नेकपाले जनाएको छ ।
काठमाडौंमा रहेको सम्पर्क समितिका सचिवालय सदस्यहरु सहित नेकपाका नेताहरुको सहभागितामा भएको भेलाले बागलुङका दुइवटै निर्वाचनमा नेकपाका उमेदवारलाई विजयी गराउने, समानुपातिकतर्फ जिल्लामा पहिलो दल बन्ने गरी अभियान सञ्चालन गर्न लागिएको नेकपा बागलुङका नेताहरुले बताएका छन् ।
डेढ दर्जन पार्टीहरुका बीच भएको एकताले पार्टीका नेता कार्यकर्ता र समर्थक शुभेच्छुकहरुमा एक खालको उत्साह देखिएको छ, यो उत्साहलाई जनताका बीचमा लैजाने, मतदाताहरुलाई परिवर्तनको सम्वाहक नेपाल कम्युनिष्ट पार्टी हो भन्ने विषयमा सचेत बनाउनका लागि अभियान शुरु गरिएको नेकपाका केन्द्रीय सदस्य तथा बागलुङ क्षेत्र नं. २ का प्रत्यक्षतर्फ उमेदवारका दावेदार ज्ञामनाथ गैरे (अनिल) ले बताउनुभयो ।
१० वर्षे सशस्त्र युद्धदेखि जनआन्दोलन, गणतन्त्र र संविधानसभामार्फत मुुलुकको संविधान निर्माणमा अगुवाई गर्ने, आम शोषित पीडित जनताका हक अधिकार संविधानमा समावेश गर्न नेतृत्व प्रदान गर्ने पार्टी नेकपा नै हो, केन्द्रीय सदस्य गैरेले भन्नुभयो,– ‘आगामी निर्वाचनबाट नेकपाको नेतृत्वमा बहुमतको सरकार गठन गर्नका लागि आम जनताका बीचमा जाने, सत्य कुरा बुझाउने अभियानको शुरुवात काठमाडौंबाट गरेका छौ ।’
जिल्ला बाहिर बस्ने नेता कार्यकर्ताहरुलाई जिल्लामा केन्द्रीत बनाउदै निर्वाचन क्षेत्र स्तरमा चुनाव परिचालन समिति गठन, प्रचार अभियानलाई तिब्रता दिइने गैरेको भनाइ छ । काठमाडौंसगै अन्य जिल्लाहरुमा रहेका सम्पर्क समितिहरु मार्फत भुगोल केन्द्रीत अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।
भेलामा नेकपाका केन्द्रीय सचिवालय सदस्यहरु दिनानाथ शर्मा, देवेन्द्र पौडेल र चिरन पुनले चुनावी अभियान लगायत समसामयिक विषयमा सहजीकरण गर्नु भएको थियो ।
पार्टीका केन्द्रीय सदस्यहरु बलावती शर्मा, चन्द्र बहादुर बुढा मगर, फमलाल निउरे, ज्ञामनाथ गैरे, हर्क थापा, जिल्ला संयोजक प्रकाश घर्ति लगायतका नेताहरुले जिल्लाको अवस्था, एकता पछिको उत्साह, कांग्रेस एमालेबीचको गठबन्धनका कारण जनतामा उत्पन्न निरासा र अन्यौलता लगायतका विषयमा धारणा राख्नु भएको थियो ।
भेलाका सहभागीहरुले विगतमा चुनावी तालमेल र गठबन्धन गरेर जादा पार्टी कमजोर भएको चर्चा गर्दै आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिएका थिए । टेको लगाएर चुनावमा जाने कार्यले पार्टीहरु कमजोर भए, यसपटक एक्लै लडौ भन्ने सहभागीहरुको सुझाव आएको नेताहरुले बताएका छन् ।
२०७४ मा बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट बागलुङ क्षेत्र नं. २ मा तत्कालिन नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल विजयी हुनु भएको थियो । यसपटक माओवादी केन्द्र सहितका डेढ दर्जन पार्टी मिलेर बनेको नेकपा एक्लै चुनावमा जान्छ कि ? फेरी पनि बामपन्थी तालमेल वा बाम प्रजातान्त्रिक गठबन्धनका नाममा पुरानै शैलीमा अगाडि बढ्छ त्यो हेर्न भने केही समय कुर्नै पर्छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एस सहितका पार्टीहरु मिलेर बनेको नेकपाका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा केन्द्रीय सचिवालय सदस्य देवेन्द्र पौडेलसंगै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रका उमेदवार कृष्ण बहादुर केसी, बाबुकाजी केसी, पिंगलराज गौतम, होमनाथ शर्मा, चिनीमाया काला मगर र कुलचन्द्र शर्मालाई सिफारिस गरेको छ ।
यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ नेकपा नेताहरु ज्ञामनाथ गैरे (अनिल), कमल प्रसाद घिमिरे, हर्क थापा, केशरी घर्ति मगर, चन्द्रलाल अर्याल, युवातर्फ दिवश खत्री र जेन जी तर्फ अविशेक जंग श्रीपालीलाई सिफारिस गरेको छ ।
