बागलुङ । नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ ।
शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘कि नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरुको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री÷उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनबारे बहस, ‘लाइभ पेन्टिङ’लगायतका कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।
सोही अवसरमा रजत वर्षका अवसरमा शाखाले प्रकाशन गर्ने पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन र रजत स्मारकको अनावरण गरिने उहाँले बताउनु भयो । मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रजदेखि जिल्लामा क्रियाशील पत्रकारहरु एकठाउँमा जमघट हुने सचिव रिजालले बताउनु भयो । “वर्ष २०८२ लाई पत्रकार महासङ्घ, बागलुङले रजत वर्षका रुपमा मनाइरहेको छ”, उहाँले भन्नुभयो, “शाखा स्थापनाको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास रहने छ ।”
मेलाका अवसरमा छोटो दुरीका पर्यटकीयस्थलको घुमफिरसहित बागलुङमा प्रचलित साँस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति रहने जनाइएको छ । शाखाले गत असार २५ गते दुई दिवसीय कार्यक्रमसहित रजत जयन्ती मनाएको थियो । सो अवसरमा पत्रकारहरुका लागि ध्यान शिविर, अन्तर शाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणसहित विविध रचनात्मक कृयाकलाप गरी रजत वर्षको शुभारम्भ गरिएको थियो । शाखाले २०८२ लाई तालिम वर्षसमेत घोषणा गरी पत्रकारहरुको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ ।
‘दिगो विकास र वातावरण’, ‘मोबाइल पत्रकारिता’लगायत विषयगत तालिम सम्पन्न भइसकेको शाखाका उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा थप आधारभूत र विषयगत तालिम सञ्चालनको तयारीमा रहेको उहाँले बताउनु भयो । शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले मिडिया मेलाको आर्थिक स्रोत व्यस्थापनदेखि व्यवस्थापकीय तयारीका कामलाई अगाडि बढाइएको बताउनु भयो ।
शाखाका अध्यक्ष राम थापाले मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सम्पादक, सञ्चार हेर्ने सरकारी निकायका प्रमुख÷प्रतिनिधि, मिडिया सञ्चालक, व्यवस्थापक, पत्रकार महासङ्घका केन्द्र, प्रदेश, जिल्लास्तरका पदाधिकारी, सदस्यलगायत अन्य सरोकार भएका सङ्घसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहने बताउनु भयो । स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका विज्ञ तथा अगुवाहरु पनि बहसमा सहभागी हुने अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
“विभिन्न सरकारी निकाय, निजी क्षेत्रलगायतसँग सहकार्य गरी बागलुङ मिडिया मेलालाई सफल बनाइनेछ, यो पत्रकारहरुसँग मात्र जोडिएको कार्यक्रम नभई समग्र जिल्लाको पहिचान र गौरवको पनि विषय हो”, उहाँले भन्नुभयो, “मेलामा स्थानीय विकास र पर्यटनका मुद्दामा पनि बहस तथा अन्तरक्रिया हुनेछ, जसले जिल्लाभित्र रहेका अवसर र सम्भावना पहिल्याउन मद्दत पुग्नेछ ।”
