बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको २७ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा युवराज राजभण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पदमा उमेदवारी दिएका एक बहादुर केसीले उमेदवारी फिर्ता लिएपछि राजभण्डारी निर्विरोध निर्वाचित हुनु भएको हो ।
पुस २६ गते शुरु भएको साधारणसभा अन्तरगत २७ गते उमेदवारी दर्ता भएको थियो । संस्थाका उपाध्यक्ष राजभण्डारी र लेखा सुपरीवेक्षण समितिका संयोजक केसीले अध्यक्ष पदमा दावी गर्दै उमेदवारी दर्ता गराएकोमा सोमबार केसीले उमेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा हरिराम अधिकारी र कृष्ण शर्माको उमेदवारी परेको छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा भने उमेदवारी नै नपरेको निर्वाचन समितिका संयोजक अधिवक्ता काजीगाउँले श्रेष्ठले जानकारी दिनुभयो ।
१२ पद मध्ये ९ सदस्यीय सञ्चालक समिति निर्विरोध भयो, ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा २ जनाको उमेदवारी परेका कारण माघ ३ गते शनिवार मतदान गर्ने गरी तालिका प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

लेखा सुपरीवेक्षण समितिका २ जना सदस्य पदका लागि उमेदवारी नै परेको छैन । उमेदवारी नै नपरेपछि अहिलेलाई लेखा सुपरीवेक्षण समितिका एक महिला सहित २ सदस्यको पद खाली रहने निर्वाचन समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।
सञ्चालक समितिको उपाध्यक्षमा रुद्र बहादुर महत, सचिवमा रितादेवी शर्मा र कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै ३ जना महिला सदस्यहरुका लागि हिरादेवी शर्मा, बबिता शर्मा र पार्वती परियार निर्विरोध निर्वाचित हुनु भएको छ ।
खुल्ला २ सदस्यका लागि शम्मी कपुर श्रेष्ठ र अनुज श्रेष्ठ निर्विरोध हुनु भएको छ । खुल्ला सदस्यमा उमेदवारी दिएका ओम बहादुर क्षेत्री र हरि रुचालले उमेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
बागलुङ बजारमा वित्तीय कारोबारको शुरुवात गर्ने अगुवा संस्थाका रुपमा एकता सहकारी संस्था रहेको छ ।
