• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

जैमिनीको माटोमा युरियाको मात्रा कम

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको माटोमा नाइट्रोजन(युरिया)को मात्र कम देखिएको छ । यहाँको माटोमा बाली तथा बोट विरुवालाई हरियो, बलियो बनाउने, छिट्टो बढ्न मद्धत गर्ने, राम्रो दाना र रोगसँग लड्नसक्ने शक्ति प्रदान गर्ने नाइट्रोजन(युरिया)को मात्र कम देखिएको हो ।

कृषि विकास कार्यालय बागलुङसँगको सहकार्यमा नगरपालिकाले गाउँ गाउँमा माटोको स्वास्थ्य परिक्षण गरेको छ । नगरपालिकाले माटोको पोषण, नाइट्रोजन, फस्फोरस र अम्लीयापनको चेकजाँच गर्दै उपचार गर्ने उद्देश्यले कृषि शिविर समेत सञ्चालन गर्दै आएको छ ।

माटोको उर्वरा शक्तिको परिक्षण गरेर उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यले वडा नम्बर ३, ४ र ८ मा शिविर सञ्चालन गरेर माटो परिक्षण गरिएको हो । माटो परिक्षण गर्दा नाइट्रोजनको मात्रा कम, फस्फोरस र पोटासको मात्रा मध्यम तथा अम्लीयपन ज्यादा देखिएको जैमिनी नगरपालिका वडा नम्बर २ र ३ का कृषि प्राविधिक रविन्द्र शर्माले जानकारी दिनुभयो ।

नगरपालिकाले वडा कार्यालयसँगको समन्वयमा हालसम्म वडा नम्बर ३ मा १ सय ७० वटा माटोको नमूना, वडा नम्बर ४ मा ३२ र ८ मा ५७ वटा नमूना परिक्षण गरेको शर्माले बताउनु भयो ।

किटबाट गरिएको परिक्षणमा माटोमा हुनुपर्ने मात्राभन्दा बढी र कम देखिएका स्थानको माटोलाई थप परिक्षणका लागि पोखरा पठाउँने तयारी गरेको उहाँले बताउनु भयो । माटोमा अम्लीयपन बढी हुँदा पोषण भएपनि विरुवाले आवश्यक भएजति लिन नसक्ने भन्दै उहाँले उत्पादकत्वमा ह्रास आउने बताउनु भयो ।

वडा नम्बर ३ का अध्यक्ष कृष्ण बहादुर भुजेलले आलु खेतीको पकेट क्षेत्र रहेको आफ्नो वडामा उत्पादन कम हुने, नयाँ नयाँ रोग र समस्याहरु देखिन थालेपछि कृषि कार्यालयलाई अनुरोध गरेर विज्ञको टिम सहित माटो परिक्षण थालिएको बताउनु भयो ।

वडा कार्यालय बाहेक कृषि विकास कार्यालय बागलुङले १ सय ४ वटा माटोको नमुना परिक्षणमा ३ वटा नमुनामा अत्याधिक अम्लीयपन, २ वटामा छारिय, ९९ तटष्थ रहेको कृषि विकास कार्यालय बागलुङका अधिकृत जमुना भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार उक्त नमुनामा ९२ वटामा नाइट्रोजनको मात्र कम १० वटामा फस्फोरसको मात्र कम, ९० मा मध्यम र ४ वटामा अत्याधिक देखिएको छ । त्यसैगरी १२ वटामा पोटासको मात्र कम र ९२ मा मध्यम देखिएको बताउनु भयो । २/२ वर्षको अन्तरालमा माटोको नमुना परिक्षण गर्नु पर्ने भन्दै उहाँले वर्षाैदेखि यस क्षेत्रको माटो परिक्षण हुन नसकेकोमा वडा अध्यक्षको पहलमा परिक्षण सम्भव भएको बताउनु भयो ।

माटोको उर्वराशत्ती कम हुँदै गएको भन्दै उहाँले पाकेको गोबरमल र रसायनिक मलको प्रयोग प्राविधिकको सहयोगमा गर्नु पर्ने बताउनु भयो ।
रैथानी बालीसँगै फलपूmल र तरकारी खेती गर्दै आएका कृषकलाई उत्पादनमा ह्रास आउँदा क्षती भएको भन्दै माटोको समस्या पत्ता लगाएर उपचार गरिने वडा अध्यक्ष भुजेलले बताउनु भयो ।

अघिल्लो वर्ष बाली उपचार शिविर सञ्चालन, यस वर्ष माटो परिक्षण शिविर गरिएको भन्दै उहाँले उपचारले नियन्त्रण हुन नसके अर्काे वर्ष बाली बिउ परिर्वतन गर्ने तयारी गरेको बताउनु भयो ।