• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बागलुङ

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङ क्षेत्र नं. १ को निर्वाचन सम्बन्धी कार्य गर्नका लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

बागलुङ क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले कार्यालयको औपचारिक शुभारम्भ गर्नु भएको थियो । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न जिल्लास्थित राजनीतिक दलहरु, नागरिक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवालाहरुसंग आव्हान गर्नु भयो । मुलुक निर्वाचनतर्फ होमिएको छ, सरकार निर्वाचन गराउने कार्यमा अग्रसर भएर प्रक्रिया अगाडि बढाइसकेको छ, निर्वाचनमा उमेदवारी दर्ता गराउनेहरुले सम्पत्ती विवरण लगायत थप विवरणहरु समेत बुझाउनु पर्नेछ, मुख्य निर्वाचन अधिकृत अधिकारीले भन्नुभयो,–‘निर्वाचनलाई सफल बनाउनु हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा सरोकारवालाहरुको ध्यान जाने अपेक्षा लिएको छु ।’

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकारका तर्फबाट गर्नु पर्ने काम र शान्ति सुरक्षामा कुनै कमी नआउने जानकारी गराउदै निर्वाचन सफल पार्न राजनीतिक दलहरुको सक्रियता र समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रम मुख्य निर्वाचन अधिकृत अधिकारीको अध्यक्षता, जिल्ला निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालको स्वागत र सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायत पत्रकारहरुको कार्यक्रममा सहभागीता रहेको थियो । बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् ।

४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै क्षेत्र नं. २ मा ६ वटा पालिकामा ९५ हजार ३३५ मतदाता, १ सय १५ मतदान केन्द्र रहने रिजालले बताउनुभयो । क्षेत्र नं. २ को निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी रहनु भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।