• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

मृगौला पीडित कार्कीलाई पोर्चुगलबाट आर्थिक सहयोग

बागलुङ । दुबै मृगौला फेल भएका बागलुङ नगरपालिका–८ सिगाना निवासी रन बहादुर कार्कीलाई आर्थिक सहयोग गरिइको छ । उपचारमा आर्थिक अभाव भएपछि कार्कीले सहयोगको याचना गर्नुभएको थियो ।  २०७५ सालबाट दुबै मृगौला फेल भएका कार्कीले अहिले धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा हप्ताको दुई दिन डाइलाइसिस गर्दै आउनुभएको छ ।
उहाँले सिगानाबाट अस्पताल आउजाउ गर्न समेत आर्थिक अभाव भएको बताउनुभएको छ । ५९ वर्षका कार्की भारतमा पिसावको संक्रमणबाट थलिएपछि रोजगारीमुक्त भएर गाउँ फर्कनुभएको थियो ।  गाउँ फर्केका कार्कीको २०७५ सालदेखि दुबै मृगौलाले काम नगर्ने भएपछि अहिले डाइलाइसि गरिराख्नुभएको छ । उपचारमा आफ्नो क्षमताले भ्याएसम्म खर्च गरिसकेको बताउदै क्षमताले थेग्न नसकेपछि हात फैलाएको कार्कीले बताउनुभयो । “भारतमा काम गर्दथे, उतै पिसावमा खराबी आयो, ठूलो शल्यक्रिर्या समेत भयो, दाजुभाइले समेत उपचारमा सघाए, अहिले घरमा समेत श्रीमतीको सहारा नभई हिड्न सकिदैन, हप्तामा दुई पटक धौलागिरी अस्पताल आउदा जादा र महिनामा एक पटक पोखरा पुग्नै खर्चले थेग्न छोडिसक्यो” कार्कीले भन्नुभयो “सहयोग आएमा केही वर्ष अलि बाँच्दथे भन्ने लागेको छ, सबैको सहयोगमा उपचारमा सहजता होला ।”

उहाँले गर्नुभएको सहयोगको याचना अनुसार सिगानाबाट पोर्चुगलमा रहेका समाजसेवी भावनाका धनी राजन कार्कीको नेतृत्वमा रु. एक लाख ९३ हजार सहयोग समेत हस्तान्तरण गरिएको छ । पोर्चुगलका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले गाउँका कार्कीको अवस्था नाजुक देखेपछि एक लाख ९३ हजार हयोग रकम पठाएर हस्तान्तरण गरेको सिगाना घर भई पोर्चुगलमा कार्यरत राजन कार्कीले बताउनुभयो ।

कार्कीको अवस्थाको विषयमा सामाजिक संजाल तथा मिडियामा देखेपछि सानो रकम सहयोग गरेको बताउदै अन्य दशेमा रहेका सिगानावासीलाई समेत सहयोगको अपिल गरिएको जानकारी दिनुभयो । पोर्चुगलमा रहेका राजन कार्की सहित राजिव गौतम लगायत पोर्चुगलमा कार्यरत ६२ जनाबाट उक्त रकम संकलन गरी पठाइएको राजन कार्कीले जानकारी दिनुभयो ।