• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सम्पादकीय : स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गरौं

  • २०८२ माघ ९, शुक्रबार

बागलुङ । देश निर्वाचनमय बनेको छ । कुनै पनि लोकतान्त्रिक मुलुकका लागि यो त एक महत्वपूर्ण अवसर र उत्सव हो । सार्वभौम मुलुकका नागरिकका लागि आफुलाई शासन गर्ने अधिकार प्रदान गर्ने ऐतिहासिक घडी हो । तर, यसपटकको निर्वाचनको शुरुवाती घटनाक्रम र राजनीतिक परिदृश्य हेर्दा तल्लो र सतही आरोप प्रत्यारोपमा नेता, कार्यकर्ता उत्रिरहेका छन् । खासगरी सामाजिक सञ्जाल फेसवुक, युट्युव, टिकटक लगायतका माध्यममा अराजकता बढ्दो छ । सामाजिक सञ्जाल त अहिले यस्तो अवस्थामा छ कि जहाँ जसले जसलाई जे भने पनि भएको छ, जसको चरित्र प्रतिष्ठामा क्षति पुग्ने जे राखे पनि भएको छ । यसको कारबाही प्रक्रिया झञ्झटिलो, सुस्त र तत्काल टुंगोमा नपुग्ने भएकाले देश भित्र भन्दा देश बाहिरबाट मनमौजी रुपमा लेख्ने र तथानाम तथ्यहीन विषय र सामग्रीहरु छरपष्ट गर्ने प्रवृत्ति बढेको छ ।

यतिबेला २१ फागुनमा हुने प्रतिनिधिसभाका प्रत्यक्षतर्फको निर्वाचनका लागि १६५ वटै सिटका लागि मनोनयन दर्ता भइसकेको छ । मनोनयन दर्तासँगै उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । खासगरी गत भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलन पश्चात हुन लागेको यस निर्वाचनमा देशभर रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सर्वाधिक चासो र चर्चामा झापा ५ छ । जहाँ भावी प्रधानमन्त्रीका दुई दाबेदार एमाले अध्यक्ष केपी ओली आठौँपटक र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पहिलो पटक संसदीय प्रतिस्पर्धामा छन् । यसका अलावा उत्तिकै चासोका साथ हेरिएको क्षेत्र हो सर्लाही–४, जहाँ कांग्रेसमा नवनिर्वाचित सभापति गगन थापा र कांग्रेसकै पुराना अनुभवी पूर्वसांसद अमरेशकुमार सिंह प्रतिस्पर्धामा छन् । झापा २ माजहाँ विघटित संसद्मा सहकार्य गरेका पूर्वसभामुख र पूर्वउपसभामुख आमनेसामने भएका छन् । पूर्वसभामुख देवराज घिमिरे एमालेबाट र पूर्वउपसभामुख इन्दिरा राना रास्वपाबाट उम्मेदवार बनेका छन् । गुल्मी १ मा सदाबहार प्रतिस्पर्धी चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको प्रतिस्पर्धामा युवा नेता सागर ढकालको ‘इन्ट्री’ भएको छ । देशभरकै सर्वाधिक सफल मेयरको छवि बनाएकी रेनु दाहाल र प्रस्ट वक्ताको छवि बनाएकी निवर्तमान सांसद सोविता गौतमको प्रतिस्पर्धाले चितवन ३ को निर्वाचन चर्चामा छ । गुरुचेला र चक्रे मिलनको प्रतिस्पर्धाले गोरखा २ चर्चामा छ । चुनाव नलड्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनका चेला लेखनाथ न्यौपाने, रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी र एमालेबाट डनका रुपमा परिचित चक्रे मिलन प्रतिस्पर्धामा छन् । डोल्पाको निर्वाचनमा सहोदर दाजुभाइ छन् । नेकपाबाट धनबहादुर बुढा र कांग्रेसबाट कर्णबहादुर बुढा उम्मेदवार छन् ।

यी त प्रतिनिधि पात्र भए । यस्तै रोचक प्रतिस्पर्धा हुने देशका धेरै निर्वाचन क्षेत्र देखिएका छन् । तर, निर्वाचन स्वस्थ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने कुरा महत्वपूर्ण कुरा हो । पहिले पहिले जस्तो जित्नका लागि साम,दाम,दण्डभेदको नीति अख्तियार गर्ने प्रवृत्ति व्याप्त थियो । त्यो केही हद सम्म पछिल्ला निर्वाचनहरुमा पनि देखिदै आइएको छ । अब भने समय र समाज धेरै नै बदलिसकेको छ । सोझासाझा मतदातालाई जे भनिदिए पनि हुन्छ, जे गरिदिए पनि हुन्छ भन्ने शासकीय मानसिकताबाट समाज धेरै अघि बढिसकेको छ । तसर्थ, राजनीतिक दल, नेता, उम्मेदवारहरुले आफ्ना वाचा, प्रतिवद्धता र संकल्पहरु जनताको माझमा राख्ने र त्यसका आधारमा उनीहरुले आफ्नो अभिमत जाहेर गर्नेछन् । अहिले त एकले अर्कोलाई तथानाम गाली, आलोचना गरेर आफू राम्रो देखिने होड चलिरहेको छ । अरुलाई खराब भनेर भन्दा पनि खराब पात्र र प्रवृत्तिलाई निरुत्साहित गर्ने र जनताको पक्षमा काम गर्ने ठोस एजेन्डा, योजना के छ ? त्यो प्रष्टसँग राख्नुपर्छ । स्वस्थ प्रतिस्पर्धालाई नै सरकार, राजनीतिक दल, नागरिक समाज,मतदाता सबैले प्रोत्साहित गर्दै जानुपर्छ ।

 

  • २०८२ माघ ९, शुक्रबार