नेपाली राजनीति यसै पनि लामो समयदेखि विकृत छ । यही कारण मुलुकमा एकपछि अर्को आन्दोलनहरु हुँदै आएँ । यसक्रममा कहिले व्यवस्था नै बदल्ने ऐतिहासिक आन्दोलनहरु भए भने कहिले गलत निर्णय र कदमहरुका विरुद्ध आन्दोलनहरु भए । सत्ताको आलोपालो बागडोर सम्हालेकाहरुदेखि बिभिन्न राजनीतिक दलका नेतृत्व गरेका नेताहरु सम्म जनताको नितान्त फरक ढंगले आशा र उत्साह जागृत गर्न असफल प्रायः भए । सत्ता र शक्तिको बलमा सीमित नेता र निकट व्यक्तिहरुकै हालीमुहाली रहिरह्यो । जसका कारण जनतामा निराशा र आक्रोश बढ्दै गयो । पछिल्लो गत भाद्र २३ र २४ को जेनजी आन्दोलन सम्म आइपुग्दा यसले आन्दोलन र विद्रोहको रुप लियो । जहाँ ७६ जनाले अनाहकमा ज्यान गुमाउन बिबश बने भने अर्बौको सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो । यसले मुलुकमा ठुलो परिवर्तन मात्र ल्याएन, समाजमा अस्थिरता र अराजकताजन्य गतिविधिलाई पनि प्रश्रय दिएको छ ।
जेनजी आन्दोलन पश्चात राज्य बिहिनताको अवस्थामा पुगेको देश क्रमशः निर्वाचन मार्फत् लयवद्ध गर्ने प्रयास जारी छ । यसका लागि आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा निर्वाचन हुन लागेको छ । राजनीतिक दलहरु उम्मेदवारी मनोनयन गरेर यतिबेला घरदैलो, प्रचार प्रसारमा व्यस्त छन् । तर, चुनावी मिति नजिकिँदै गर्दा राजनीतिक दल, नेता, कार्यकर्ताहरुबिच तीव्र आरोप प्रत्यारोप चलिरहेको छ । त्यो पनि तल्लो स्तरमा झरेर एकले अर्कोलाई गर्ने गालीले सामाजिक सञ्जाल फेसवुक, टिकटक, युट्युव लगायत त हेरिनसक्नु छ । खासगरी पुरानो राजनीतिक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र शाह बिच त सामाजिक सञ्जालमै जुहारी नै चलिरहेको छ । यसै साता मात्रै प्रधानमन्त्रीका उम्मेदवारका बिच डिबेट गर्ने विषयमा ओली र शाहको दोहोरी सामाजिक सञ्जालमा ट्रोल र चर्चाको विषय बन्यो । डिबेट गर्न तयार देखिएका ओलीका विरुद्ध शाहले जेनजी आन्दोलनको हत्यारा करार गरिदिए भने कांग्रेस सभापति रहेका अर्का प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापालाई सोही हत्याराका मतियारको खुलेआम संज्ञा दिए । उसो त सामाजिक सञ्जालमा पुराना राजनीतिक दलका नेता, कार्यकर्ता र नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक बिच ‘झोले’ र ‘घण्टे’को दोहोरी उस्तै उदेकलाग्दो अवस्थामा पुगेको देखिन्छ ।
अहिले नयाँ–पुराना या असल–खराब करार गर्ने लहड र रस्साकस्सीले सामाजिक सञ्जाल मात्र होइन, सिंगो समाज प्रदुषित बनिरहेको छ । हाम्रो सोच र सामाजिक संस्कार कति घृणित र निम्न स्तरमा पुगिरहेको छ, त्यो एकले अर्कोलाई गर्ने निच गाली र तथ्यहीन तर्क, आरोपहरुले प्रष्ट देखाइरहेको छ । त्यो कार्यकर्ता, शुभेच्छुकको तहमा जति छ, त्यो भन्दा दोब्बर त यो देशको भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका, यसअघि पटक पटक प्रधानमन्त्री, मन्त्री भइसकेका पात्रहरुबाटै हुनु अझै दुर्भाग्यपूर्ण छ । यस्तो घृणाजन्य अभिव्यक्ति दिनेमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जति दोषि छन्, उत्तिकै दोषि छन् रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि । अरु दलका शीर्ष नेताहरुको भाषण पनि उत्तिकै कारक छन् । यसका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो ध्यानाकर्षण सहित शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने घृणाजन्य अभिव्यक्ति रोक्न आग्रह गरेको छ । यी र यस्ता घृणाजन्य अभिव्यक्तिले समाजमा विद्वेष फैलाउनुका साथै शान्ति सुरक्षामा समेत चुनौती सिर्जना गर्छ । कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत घृणाजन्य अभिव्यक्ति दिनु हुँदैन । आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा अरूको अधिकारमा पर्न सक्ने असरप्रति सचेत र जिम्मेवार बन्न आवश्यक छ । सामाजिक सञ्जालको प्रयोग र एकअर्काको आलोचना गर्दा पनि शिष्ट एवं मर्यादित भाषा र कार्यशैली अपनाउन सकिन्छ । अन्यथा घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनका समयमा शान्ति सुरक्षामा समेत खलल पु¥याउने छ ।