बागलुङ । हिउँदको वर्षा र हिमपातले किसानलाई राहत पु¥याएको छ । बागलुङको उच्च पहाडी भूभागमा हिमपात र तल्लो भागमा वर्षा भएको छ ।
हिमपात र वर्षा भएपछि यहाँका किसान उत्साहित भएका छन् । मंगलबार रातीदेखि बागलुङको ढोरपाटन, निसी र तमानखोलाको उच्च भागमा हिमपात हुँदा आलु लगाएका किसान उत्साहित भएका छन् । बागलुङको तल्लो भागमा वर्षा भइरहेको छ ।
हिमपात र वर्षाले हिउँदे बाली र फलफुललाई राहत पु¥याएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनले जानकारी दिनुभयो । उहाँले सुन्तला टिपेर सिँचाइको तयारी गरेका किसानलाई राहत मिलेको छ भने हुर्कदै गरेको गहुँ बाली, तोरी र आलुलाई सिँचाई पुगेको बताउनुभयो ।
सिँचाइको अभाव रहको क्षेत्रमा आकाशेपानीले राहत मिलेको उहाँको भनाई छ । ढोरपाटन र निसीखोलामा भने हिमपातमा रहमाउन आन्तरिक पर्यटक पुगेका छन् भने स्थानीयको जनजिवन भने प्रभावित भएको छ । हिमपातका कारण ढोरपाटन उपत्यकाका स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन् ।
मौसम परिवर्तन भई वर्षा भएपछि खेतीपाती सप्रने किसान दुर्गा आचार्य बताउनुहुन्छ । “हुँर्कदै गरेको तोरी र गहुँमा सिँचाइ पुगेको थिएन, जताततै धुलोले समस्या भएको थियो, वर्षाले वातावरण समेत सफा बनाएको छ” आचार्यले भन्नुभयो “सिँचाइभन्दा आकाशे पानीले बाली राम्रो हुन्छ ।”
