• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सम्पादकीय : विश्वकप क्रिकेट महाकुम्भ, नेपाल र सुपर–८ को लक्ष्य

  • २०८२ माघ २५, आईतवार

बहुप्रतीक्षित विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप सुरु भएको छ । छिमेकी देश भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु भएको यस विश्वकपमा सुखद र उत्साहप्रद विषय त यो छ कि नेपालले पनि विश्वकप खेल्दैछ । भारतका पाँच सहरका पाँच स्टेडियम र श्रीलंकाको दुई सहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन् । १०औं संस्करणमा २० राष्ट्र सहभागी छन् र चार समूहमा विभाजन गरिएको छ । २० टोलीले ५५ खेल खेल्नेछन् । ट्रफी जितका लागि सबैको दाबेदारी रहनेछ । तर, विश्व क्रिकेटमा साम्राज्य चलाइरहेका देशले नै उचाल्छन् कि अरु कुनै देशले चामत्कारिक खेल प्रदर्शन गर्नेछन् ? यसका लागि भने खेलको अन्तिम समय सम्मै प्रतीक्षा गर्नै पर्ने हुन्छ । यो अविस्मरणिय क्षणको साक्षी बन्न र दर्शकहरुका लागि कुनै पनि महत्वपूर्ण पल नछुटाउन आईसीसीले आग्रह पनि गरेको छ ।

विश्वकप क्रिकेटमा समग्र विश्व खेल क्षेत्र र खेलप्रेमीको ध्यान केन्द्रित भइरहेको छ । यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् । जहाँ नेपालले पहिलो खेल आज आइतवार इंग्ल्यान्डसँग खेल्नेछ । अन्तिम खेल स्कटल्यान्डसँग फागुन ५ मा खेल्नेछ । विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्नेछ । समूहमा शीर्ष दुईमा परे सुपर–८ मा पुग्ने सम्भावना हुनेछ । क्रिकेट विश्वकप खेल सुरु भए पनि, नेपालले खेल्दै भए पनि मुलुक निर्वाचनमय बनेकाले क्रिकेट विश्वकप केही ओझेलमा परेको छ । नत्र त यतिबेला नेपालीबीच यतिबेला क्रिकेट नै सर्वाधिक चर्चाको विषय हुन्थ्यो । यसका बाबजुद पनि आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको खेल र चर्चाले विश्वका खेलप्रेमीको ध्यान तानिरहेको छ । यसमा तेस्रोपटक टी–२० विश्वकपमा होमिएको नेपालको खेल प्रदर्शन कस्तो रहनेछ ? यो निकै चासो प्रतीक्षित छ । नेपाल जस्तो नयाँ र भर्खर उदाउँदै गरेको देशका लागि निकै चुनौतीपूर्ण छ । उसो त नेपालले उपाधि जित्ने भन्दा पनि अहिलेका लागि सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ । क्याप्टेन्स मिटमा बोल्दै कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रलाई हराइसकेको र अब फेरि हराउन सक्षम रहेको बताएका छन् । विश्वकप मैदानमा उत्रिदै गर्दा नेपाली क्रिकेट टिमले यही आत्मविश्वास देखाउन जरुरी छ ।

विश्वकप जस्तो विश्वकै प्रतिष्ठित प्रतियोगितामा नेपालले आफूलाई प्रतिस्पर्धात्मक मैदानमा अब्बल सावित गर्नु नै ठुलो उपलब्धि हो । सीमित स्रोत साधन र अवसरका बाबजुद पनि नेपाली क्रिकेट खेलले जुन उचाई र सफलता प्राप्त गरेको छ, त्यो अद्धितिय छ । उसो त नेपालले यसअघिका बिभिन्न खेलमा टेस्ट राष्ट्रलाई हराइसकेको अनुभव पनि साथमा छ । अब विश्वकपमा पनि सोही नतिजा दोहो¥याउने लक्ष्यका साथ उच्च मनोबल सहित आजदेखि मैदान उत्रनेछ । नेपालको खेल र उच्च स्तरको खेल प्रदर्शन हेर्न सिंगो नेपाल र नेपाली उत्साहित पनि छन् । यो हिसाबले आगामी दुई साता नेपाल क्रिकेटमय हुनेछ, हजारौं नेपाली आफ्नो क्रिकेट टोलीको समर्थन गर्न मुम्बईमै पुगेका छन् । मैदानमै पुग्न नसेककाहरु पनि विश्वभरबाट लाखौंले समर्थन गर्न तयार छन् । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप यता तेस्रो विश्वकप खेल्दै गर्दा सुपर ८ मा पुगेर नेपालले आफूलाई क्रिकेटमा उदियमान राष्ट्रको रुपमा दर्ज गर्नुपर्छ । यसका लागि नेपाली टिमलाई सफलताको हार्दिक शुभकामना ।

  • २०८२ माघ २५, आईतवार