बागलुङ । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसीले काठेखोला गाउँपालिकाका मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा जन्मघर भएका केसीले जन्मपालिकामा माघ १९ गते वडा नम्बर १ पालादेखि घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गर्नु भएको थियो ।
उम्मेदवार हिरा बहादुर केसी सहित काठेखोला गाउँपालिका निर्वाचन परिचालन कमिटिका संयोजक अमरबहादुर थापा, गाउँपालिकाका ८ वटै वडाका निर्वाचन परिचालन कमिटी संयोजक, वडा कमिटीका अध्यक्ष सहित नेता कार्यकर्ता र मतदाताहरु सहितको सहभागितामा भेला, छलफल र भेटघाट गर्दै काठेखोला गाउँपालिकामा पहिलो चरणको घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
उम्मेदवार केसीले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्नुका साथै पार्टीका नीति, कार्यक्रम र प्रतिबद्धताबारे जानकारी गराउनु भएको थियो ।
माघ १९ गते वडा नम्बर १ पालाबाट सुरु भएको घरदैलो तथा भेटघाट कार्यक्रम माघ २० गते भिमपोखरामा, माघ २१ गते धम्जामा, माघ २२ गते तङ्ग्राममा, माघ २४ गते बिहुँमा, माघ २५ गते लेखानी र माघ २६ गते रेशमा जनभेटघाट र छलफल गर्दै सम्पन्न भएको हो ।
घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा स्थानीय मतदाताले विकास, रोजगारी, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित विषयमा चासो व्यक्त गरेका थिए । उम्मेदवार केसीले समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउँदै निर्वाचनपछि जनताको अपेक्षा अनुसार काम गर्ने बताउनु भएको थियो ।
काठेखोला गाउँपालिका स्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक अमर थापाका अनुसार सबै वडामा वार्डस्तरीय निर्वाचन परिचालन कमिटी गठन गरि सम्पर्क कार्यालय खोलिएको छ ।
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, मतदाता परिचालन र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेर अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।
