बागलुङ । बागलुङमा २ सय १९ जना एचआइभी संक्रमित रहेको पाइएको छ । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका २१ जना रहेका छन् ।
१ सय १३ जना महिला, ९९ जना पुरुष, १५ वर्ष भन्दा कम उमेरका ३ जना बालिका र ४ जना संक्रमित बालकले नियमिति औषधी सेवन गरि रहेका छन् ।
धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सञ्चालित एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टरका अनुसार ४ जना यौनकर्मी, ३ जना लागुपदार्थ प्रयोगकर्ता, ७२ जना वैदेशिक रोजगारिबाट फर्किएकाहरु र १ सय ४० जना अन्य रहेका छन् ।
रहेक वर्ष संक्रमितको संख्या बढ्दै गएपनि उनिहरु समाजमा खुल्न सकेका छैनन् । परिवार र समाजबाट हुने विभेद, लान्छना र भेदभावका डरले अहिले पनि संक्रमितहरु खुल्न सकेका छैनन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार रोगले भन्दा पनि परिवार, आफ्न्त र समाजबाट हुने विभेदका कारण संक्रमितहरु कमजोर बन्ने गरेका छन् ।
मानिसहरुमा संक्रमण देखिएपछि नियमिति औषधी सेवन र चेकजाँचमा जत्ति समस्या देखिएको छ, त्यो भन्दा बढि समस्या पहिलो पटककै परिक्षण र रोगको पहिचान गर्नमा छ । एचआइभीको परिक्षण भन्यो भने अहिले पनि मानिसहरु परिक्षण गर्न हिचकिचाउने गरेको भन्दै घिमिरेले अन्य रोगको पहिचान र रोकथामका लागि स्वास्थ्य संस्थाले गर्दै आएको कार्यक्रम जस्तो सजिलो नभएको बताउनु भयो ।
पहिचान खुल्ने डरले संक्रमितहरु उचित परामर्श लिन समेत डराउने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनु भयो ।
सोमबार कार्यालयमा आयोजना गरिएको एचआइभी सम्बन्धी लान्छना र भेदभाव न्यूनिकरण कार्यक्रममा बोल्दै उहाँले नयाँ संक्रमण शून्य, भेदभाव र एडसबाट हुने मृत्यु शून्य पु¥याउने उद्देश्य अनुरुप यस सम्बन्धी जनचेतना जगाउने कार्यक्रमा लागि रहेको बताउनु भएको थियो ।
सँगै बस्दैमा, खाना खाजा खाँदैमा, हास्दैमा बोल्दैमा एचआइभी नसर्ने भन्दै उहाँले संक्रमित र उसको परिवारलाई हेर्ने दृष्टिमा परिर्वतन नभएका संक्रमितलाई समाजमा खुलेर हिड्न ग्राहो भएको उहाँले बताउनु भयो ।
एचआइभी संक्रमितसँग गरिएको असुरक्षित यौन सम्पर्कबाट मात्र सर्छ भन्ने आम मानिसको गलत बुझाई पनि संक्रमित खुल्न नसकेको प्रमुख कारण भएको उहाँको भनाई छ ।
एचआइभी सर्ने विभिन्न माध्यम र कारणहरु भएको भन्दै उहाँले नियमिति औषधी सेवनले यसको संक्रमण सम्भावना समेत कम गर्न बताउनु भयो । एचआइभी संक्रमित व्यक्तिको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति कम हुने र अन्य रोगको संक्रमणका कारण मृत्यु हुनसक्ने भन्दै उहाँले नियमित औषधी सेवन गरे एचआइभी संक्रमण भएकै कारण मानिसको मृत्यु नहुने उहाँले बताउनु भयो ।
एचआइभी एड्स संक्रमण भए नभएको परिक्षण, परामर्श र नियमिति औषधी उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा २०६३ सालदेखि एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर स्थापना भएको छ ।
संक्रमित र उसको परिवारको गोपनियता, उनिहरुको मनोवल वृद्धि, र घरमै पुगेर नमुना संकलन र परिक्षण गर्न थालेपछि संक्रमितको संख्यामा वृद्धि हुन थालेको एआरटी सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनु भयो ।
