बागलुङ । बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजललाई धौलागिरी अस्पताल बागलुङमा उपचार पछि थप उपचारका लागि पोखरा लगिएको थियो । उनको शनिबार गण्डकी अस्पताल पोखरामा निधन भएको हो ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । दुर्घटनाका घाइते १५ वर्षीय अमन बोहोराको सोही दिन धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा २६ जना घाइते भएका थिए । घाइते मध्ये एकको अवस्था अझै गम्भीर रहेको छ । १४ वर्षीय संगम किसानको अवस्था गम्भीर रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट किरण तिवारीले जानकारी दिनुभयो । उनको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
८जना घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइ रहेको छ । उनिहरुको अवस्था खतरामुक्त रहेको तिवारीले बताउनु भयो । धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत १४ जना घाइते मध्ये १२ जना उपचार पछि घर फर्किएको र २ जनाको उपचार भइरहेको उहाँको भनाई छ ।
