• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

धादिङ बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

  • २०८२ फाल्गुन ११, सोमबार

काठमाण्डौ । धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा घाइते भएका एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय एक पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन । दुर्घटनापछि २३ जनालाई काठमाडौं ल्याइएको थियो । तीमध्ये १० जनालाई नेसनल अस्पताल कलंकी र १३ जना ट्रमा सेन्टरमा लगिएको थियो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडकखण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसमा कुल ४५ जना सवार थिए । तीमध्ये २८ जना घाइते भएका छन् । बाँकी घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । उक्त बस आइतबार बेलुकी ७ बजे पोखराबाट छुटेको थियो । मृतकको पहिचान अहिलेसम्म खुलेको छैन ।

  • २०८२ फाल्गुन ११, सोमबार