• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ प्रशासनले भन्यो : ड्रोन प्रयोग नगर्नु, सार्वजनिक स्थलमा होली नखेल्नु

  • २०८२ फाल्गुन १६, शनिबार

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ड्रोन प्रयोगमा नगर्न र सार्वजनिक स्थानमा जम्मा भएर होली खेल्न पूर्ण रोक लगाएको छ ।
कार्यालयले सूचना जारी गर्दै फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई मध्यनजर गरी निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र शान्ति सुरक्षा कायम राख्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार निर्वाचन अवधिभर अनुमति लिएर वा नलिएर सञ्चालनमा रहेका सबै प्रकारका ड्रोनहरूलाई फागुन १८ देखि २१ गते निर्वाचन सम्पन्न नहुन्जेल ड्रोन प्रयोग गर्न रोक लगाइएको छ ।
निर्वाचनको सुरक्षामा खलल पुग्नसक्ने भन्दै ड्रोन उठाउन रोक लगाइएको हो । निर्वाचन अवधिमा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानून बमोजिम ड्रोन जफत गरी आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सबै सरोकारवालाबाट आवश्यक सहयोगको अपेक्षा गरेको जनाएको छ । होली र रमजान लगायतका चाडपर्वलाई सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ ।

कार्यालयले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र एकताको सन्देश बोकेको फागु पूर्णिमा (होली) यस वर्ष फागुन १८ गते पहाडी जिल्लामा र फागुन १९ गते तराईका जिल्लामा मनाइने उल्लेख गर्दै सम्पूर्ण जिल्लावासीमा भीडभाड नगरी मनाउन आग्रह गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।

सूचनामा कानूनविपरीतका गतिविधि, उच्छृंखल व्यवहार, झैँझगडा, द्वेष फैलाउने अभिव्यक्ति तथा सामाजिक सद्भाव भड्किने कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ। साथै, कुनै पनि अवाञ्छित गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।
कोही कसैले यस्ता कार्य गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

  • २०८२ फाल्गुन १६, शनिबार