बागलुङ । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता–२०८२ अन्तर्गत प्लस–२ समूहको उपाधि बागलुङस्थित चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ। पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय आवरण हलमा आइतबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा चिल्ड्रेन लाईफले पोखरास्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतिस्पर्धाको चौथो मिनेटमै आयुष पौडेलले गोल गर्दै चिल्ड्रेन लाईफलाई अग्रता दिलाएका थिए। उनले १४औँ मिनेटमा पुनः गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। स्टेप बाई स्टेपका तर्फबाट ३०औँ मिनेटमा कुँवरले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाउने प्रयास गरे पनि ३५औँ मिनेटमा चिल्ड्रेन लाईफका कप्तान बरदान थापाले निर्णायक गोल गर्दै ३–१ को जित सुनिश्चित गरे।
उपाधि विजेता चिल्ड्रेन लाईफले नगद एक लाख रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता स्टेप बाई स्टेपले नगद पचास हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र हात पारेको छ। विधागततर्फ स्टेप बाई स्टेपका कुन्दन पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भए।चिल्ड्रेन लाईफका आयुष पौडेल सर्वाधिक गोलकर्ता तथा रेशम रिजाल उत्कृष्ट गोलरक्षक घोषित भए। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजनामा तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो। प्लस–२ समूहमा कास्कीबाट आठ टोली, बागलुङ र तनहुँबाट तीन–तीन टोली तथा पर्वत र म्याग्दीबाट समान एक–एक टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।