• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

दोहनले कालीगण्डकी संकटमा

  • २०८२ चैत्र ३, मंगलवार

बागलुङ । आफ्नै गतिमा बगेको पवित्र कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन हुन थालेको पाइएको छ ।
वर्खाको समयमा मध्यरातमा दोहन गरिरहने कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धारनै परिवर्तन गरेर मापदण्ड विपरित ढुङ्गा तथा बालुवा निकालेको पाइएको हो । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा नदीलाई पर्वत जिल्लातर्फ फर्काएर नदीजन्य पदार्थ निकालिएको पाइएको छ ।

नगरपालिकाले कालाखोला बगर, भाटेखोला र गलुवा खोला सहितका बगरहरु ठेक्कामा लगाएपनि नदीलाईनै संकटमा पारेर दोहोन भएको सरोकारवालको ठहर छ । बागलुङ नगरपालिका–१० गलुवा र बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा हिउँदमा कालीगण्डकी सानो हुँदा नदीको धारनै फर्काएर दोहन भएको पाइएको छ ।

बागलुङ नगरपालिकाले हिउँदमा नदीजन्य पदार्थ निकाल्न ठेक्कामा लगाएपनि नदी दोहन मापदण्ड विपरित भएको चर्को आलोचनाका बीच सरोकारवाला निकायले अनुगमनलाई तिब्रता दिन थालेको हो । कालीगण्डकी नदीको दोहनले बागलुङ र पर्वत दुबै खण्डमा भू–क्ष्य,बाढी पहिरो तथा नदी छेउका बस्तीमा समेत क्षति पु¥याउन थालेको पाइएको छ ।

कालाखोला बगरमा नदीलाई पर्वत तर्फ फर्काएर २५० मिटर भन्दा बढी लम्बाई, ५० मिटर भन्दा बढी चौडाई र सात मिटर भन्दा गहिराइमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिएको अनुगमनमा पाइएको जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जानकारी दिनुभयो ।

थापाले ३० प्रतिशत मानवसाधन प्रयोग गर्नुपर्नेमा सत प्रतिशत उपकरणको प्रयोग भएकाले नदीको संरचनानै फेरबदल भएको बताउनुभयो । “दोहन रोक्न सबैको समन्वय चाहिन्छ, अहिले नगरपालिकाले राजश्व उठाएको त छ तर नगरपालिकाले दिएको मापदण्ड विपरित दोहोन भएको पाइएको छ, मापदण्ड अनुसारको नदीजन्य पदार्थ र अबैद नदीजन्य पदार्थको ठहर प्राविधिकको प्रतिवेदनका आधारमा निष्कर्ष निकाल्छौं, नगरपालिकाले दिएको अनुमती भन्दा बढी गहिरो उत्खनन् गरेको आँखैले देखेका छौं” थापाले भन्नुभयो “प्रमुख जिल्ला अधिकारी, प्रहरी र नगरपालिकाको संयुक्त अनुगमन भएकाले अब दोहन रोकिएला, नरोके कार्वाही गर्दछौं, नगरपालिकाले अनुमती दिएको भन्दा बढी उत्खनन्मा कार्वाही हुन्छ, नगरपालिकाको सम्झौता हेरेर अगाढि बढ्छौ, अब नदीबाट अवैद्य उत्खनन् गर्नेलाई कार्वाही हुनैपर्दछ ।”

आइतबार साँझ जिल्ला समन्वय समितिका प्रमुख थापा बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य र बागलुङ नगरपालिकाका उपप्रमुख राजुखड्का र सुरक्षा निकाले बगालुङ नगरपालिका भित्र पर्ने तीन वटा बगरेको स्थलगत अनुगमन तथा नापजाँच गरिएको छ ।

कालीगण्डकी नदी दोहन चौतर्फी दवावका बीच नदीमै पुगेर अनुगमन गरिएको हो । कालाखोला आसापास र गलुवा क्षेत्रमा बढी दोहन भइरहने क्षेत्र हो । वातावरणिय प्रभाव मूल्याङ्कन (आइइई) गरेर बागलुङ नगरपालिकाले तीन लाख क्युफिट नदीजन्य पदार्थ निकाल्न अनुमती दिएको जनाएको छ । अनुमतीमा बढीमा दुई मिटर सम्म गहिराइबाट नदीजन्य पदार्थ निकाल्न अनुमती दिएपनि ८ मिटर सम्म गहिराइ बनाएको अनुमान रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनुभयो । “पहिला ठेक्कानै नलागेको क्षेत्रमा दोहन भएको रहेछ, अहिले ठेक्का लागेपनि मापदण्ड विपरित देखियो अब दोहन रोक्न आवश्यक छ, नदीको संकट टार्न दोहन रोक्दै मापदण्डमा ल्याउन आवश्यक छ” आचार्यले भन्नुभयो “नगरपालिकाले ठेक्का लगाएको र नलगाएको क्षेत्रबाट समेत नदीजन्य पदार्थ निकालिएको पाइयो, कालीगण्डकी नदी जोगाउन बागलुङ, म्याग्दी र पर्वतनै एकजुट हुन आवश्यक छ ।”

अनुगमनलाई प्राविधिक रुपमा अध्ययन गरेर विस्तृत विवरण बाहिर ल्याउने र दोहन गर्नेलाई कारवाही गर्ने, जथाभावी निकालिएको सामग्री लिलाम गर्ने अनुगमन समितिको निश्कर्ष छ । नदीमै पुगेर गहिराइसहितको नापजाँच गरिएको यो पहिलोपटक भएको प्राविधिकहरु बताउछन् ।

दोहन भइरहेको क्षेत्र, संकलन गरिएको नदीजन्य सामाग्री सहितको प्राविधिक विवरण प्रतिवेदन तयार गरी आइइई प्रतिवेदनसंग तुलना गरेर दोहोन रोक्नेगरी नीतिगत निर्णय गरिने जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो । कालाखोला क्षेत्रमा प्रतिक निर्माण सेवा र मालढुङ्गा क्षेत्रमा विधि निर्माण सेवाले नदीजन्य पदार्थ निकाल्नका लागि नगरपालिकाबाट अनुमती पाएका थिए ।

  • २०८२ चैत्र ३, मंगलवार