• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा चुनावी समिक्षाको भित्री पाटो : ‘जीप चलाउने, भोट फकाउने’

  • २०८२ चैत्र ५, बिहीबार

बागलुङ । पञ्चायती व्यवस्थाको अन्त्यका लागि गाउँ गाउँमा जनतालाई सचेत बनाउने कामको अगुवाई राजनीतिक दलसंगै शिक्षकहरुले गर्दै आएको कुरा नेपाली राजनीतिमा खुल्लै देखिएको विषय हो ।

एक दलीय पञ्चायती व्यवस्थामा खुल्ला रुपमा पार्टी खोलेर गतिविधि गर्न रोक लगाइएको थियो । दलहरु क्रियाशिल नै थिए, विशेष गरी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका विभिन्न घटकहरु पञ्चायतका विरुद्धमा थिए । दलहरु प्रतिवन्धित रहेको समयमा पनि दलका नेता तथा कार्यकर्ताहरु शिक्षक बनेर गाउँ गाउँमा पुग्ने र राजनीतिक परिवर्तनका लागि जनतालाई प्रशिक्षित गर्ने अभियान सञ्चालन गर्ने गर्दथे । पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था पुनस्थापना पछि दलहरुमा शिक्षकहरु अगुवा नेता बनेका थुप्रै उदाहरणहरु छन् ।

शिक्षण पेशा छोडेर सांसद, गाविस अध्यक्ष तथा वडा अध्यक्ष हुने नेताहरु धेरै छन् । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेपछि राजनीतिक कार्यकर्ताहरु विभिन्न बहानामा बजार झर्ने, विदेश लाग्न थालेपछि त गाउँको राजनीति र सामाजिक कामामा शिक्षकहरुकै भर पर्ने अवस्था थियो । सहकारी, सामुदायिक वन लगायत संघ संस्थाको प्रमुख जिम्मेवारी शिक्षकहरुकै जस्तो बनेको थियो ।

पञ्चायती व्यवस्थाको संरचनागत जरा काट्न राजनीतिक दलसंगै शिक्षकहरुको भूमिका महत्वपूर्ण रहे जस्तै बहुदलीय व्यवस्थामा हुने चुनावहरुमा पनि शिक्षकहरुको भूमिका प्रभावकारी बन्दै आएको थियो । कुन वडामा शिक्षकहरु कुन पार्टीको पक्षमा छन्, त्यो वडाको जनमत त्यही पार्टीको पक्षमा रहेको हामीले देख्दै भोग्दै आएका थियौ ।

शिक्षकले विद्यालयमा पढाउने मात्रै होइन, समाजका हरेक समस्यामा, गाउँलेका हरेक दुख सुखमा साथ दिएकै कारण शिक्षकलाई गाउँमा सकारात्मक रुपमा हेरिएको हो, एक पूर्व शिक्षकले भने, शिक्षक नभएको भए द्वन्द्वकालमा अझ धेरै मान्छेहरुले गाउँ छोड्थे । अहिलेको अवस्था भन्दा अझै बिकराल अवस्था आउथ्यो, उनले भने ।

शिक्षकहरुको भूमिका प्रभावकारी देखेरै होला ? शिक्षकहरुले राजनीति गरे, शिक्षकहरुलाई राजनीतिमा संलग्न हुन दिनु हुदैन भन्ने आवाज बेला बेला प्रकट हुदै आएको थियो र छ । शिक्षकहरु पार्टीका कमिटिमा बस्ने, पार्टीका गतिविधिमा प्रत्यक्ष संलग्न हुने गरेका कारण विद्यार्थीको पढाईमा समस्या भएको, राजनीतिको प्रभाव शिक्षा क्षेत्रमा धेरै भएको विषय पनि चर्चामै रहने गरेको छ । पछिल्लो समय सरकारले शिक्षकलाइ सक्रिय राजनीतिबाट टाढा रहन निर्देशन गरेको छ । चुनावमा आन्तरिक रुपमा सबै भन्दा खटिनेहरुमा शिक्षक अग्रपंक्तिमा पर्दछन् ।

बहुदल ल्याउन तथा बहुदलपछिका चुनावहरुमा विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिष्ट पार्टी लगायतका दलहरुका पक्षमा जनमत सिर्जना गर्न मुख्य भूमिका निर्वाह गर्दै आएका शिक्षकहरुको भूमिका फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सन्तुलित बनेको स्थानीयहरु बताउछन् ।

 

समाजका अगुवाका रुपमा रहेका शिक्षकहरु राजनीतिमा सक्रिय नभएसंगै गाउँमा पछिल्लो समय यातायात व्यवसायीहरु (गाडी चालक) को प्रभाव बढ्दै गएको पाइएको छ । पछिल्लो समय गाउँ गाउँमा गाडी पुगेसंगै प्रत्येक वडामा १५ वटा सम्म जीपहरु सञ्चालन रहेको व्यवसायीहरुले बताएका छन् ।

जीपका चालकहरुले व्यवसायसंगै साना तिना काममा समेत सहयोग गर्ने, समन्वय गर्ने भएकाले पछिल्लो निर्वाचनमा मतदाताहरु उनीहरुसंग प्रभावित भएको राजनीतिक दलका कार्यकर्ताहरु बताउछन् ।

हाम्रो वडामा रहेका ८ मध्ये ६ जना गाडीका चालकहरुले चुनाव अवधीभर नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा मतदान गर्न निरन्तर लविङ गरेका थिए, उनीहरुको आग्रहलाई मतदाताले सहज रुपमा लिएर साथ दिएको पाइयो, नेपाली कांग्रेसका एक जिल्ला नेताले भने । गाउँ पनि यतिबेला बजारमा निर्भर हुदै गएको छ, दैनिक रुपमा केही न केही सामान ल्याउनु पर्छ, त्यसका लागि चालकहरुलाई भन्नु पर्छ, सानो देखि महत्वपूर्ण कागजात समेत उनीहरुलाई दिने अवस्था छ, त्यसैले उनीहरुले मतदातालाई प्रभावित बनाएका हुन सक्छन, नेकपा एमालेका एक सदस्यले बताए ।

उनीहरुले आग्रह गरे पनि मतदाताहरुले राजनीतिक कार्यकर्ताले नै भनेको मान्छन्, आफुहरुलाई साथ दिन्छन् भन्ने ठानेका राजनीतिक दलका नेता कार्यकर्ताहरु मतगणना पछि भने झस्केका छन् । गाउँमा हजुरबा हजुर आमा, आमा, बाहरु बस्ने उनीहरुका परिवारका छोरा छोरी, बुहारी, नानी नातिना बजारमा पढ्न, व्यवसाय तथा रोजगारीका लागि बस्छन्, गाउँबाट दैनिक रुपमा दुध, मोही, साग सब्जी ल्याइदिने, अनि बजारबाट घरमा आवश्यक औषधीदेखि साना तिना सामग्री समेत लगिदिने भएकाले पछिल्लो समय गाउँका मतदाता यातायात व्यवसायी (गाडी चालक) हरुप्रति सकारात्मक रहेको मतदाताहरुले बताएका छन् ।

हामीले गाउका हाम्रा ग्राहकहरुका लागि नुनदेखि सुनसम्म ल्याउने लैजाने गर्छौ, उहाँहरुले हामीलाई विश्वास गरेर एटिएम समेत दिनुहुन्छ, पैसा झिकेर ल्याउनका लागि । गलत गर्न भएन, विश्वासिलो काम गर्दा सबैले साथ सहयोग गर्नुहुन्छ, बागलुङ नगरपालिका वडा नं. ११ रायडाडाँका जीप व्यवसायी बल बहादुर थापाले बताउनुभयो ।

हाम्रो व्यवसाय हो, व्यवसायिक हिसावले मान्छे, सामान बोक्दा भाडा लिन्छौ, तर घर परिवारका बजारमा बस्ने छोरा छोरी, नाति नातिनालाई घरबाट पठाउने साना तिना सामान, बजारबाट घरमा पठाउने साना तिना सामान लैजाने ल्याउने मात्र होइन, उहाँहरुको अति आवश्यक र महत्वपूर्ण कागजातहरु समेत हामीलाई विश्वास गरेर दिनुहुन्छ, थापाको भनाइ छ ।

पुराना राजनीतिक दलका शिर्ष नेताहरुले गठबन्धन लगायत विभिन्न कारणले जनताका आवाज नबोल्ने, गाउँ रित्तिदै गयो, युवा मात्रै होइन, गाउँमा बस्नेहरुको संख्या दिन प्रतिदिन घट्दै जादा पनि वेवास्ता गरेका कारण आम जनताले नयाँ र आशा जगाउने शक्तिको अपेक्षा गरेका थिए, त्यसमा हामीले साथ दिएका हौ, काठेखोला गाउँपालिका वडा नं. ७ रेशका व्यवसायी टंक कुँवरले भन्नुभयो ।

राजनीतिमा संलग्नै भएका, चुनावमै होमिएका भन्दा पनि कामका कारण सहयोगी बनेका यातायात व्यवसायीहरु (विशेष गरी जीप चालकहरु) ले यसपटक अलि बढी मत प्रभावित बनाएको राजनीतिक दलका कार्यकर्ताहरुले बताएका छन् ।
विदेशमा बस्ने युवा युवतीहरुले गाउँका राजनीतिक कार्यकर्ता, शिक्षक लगायत सामाजिक कार्यकर्ताहरुलाई भन्दा यातायात व्यवसायीहरुलाई सक्रिय बनाउन सुझाव दिएको रास्वपाका एक नेताले बताए । सबैको सहयोग छ, सबैको साथ र विश्वास तथा आशा भरोसा छ, यद्यपी गाउँबाट बजारमा जीप चलाउने साथीहरुले अलि बढी मत प्रभावित पारेको हामीले पाएका छौ, विदेशमा बस्ने युवाहरुले पनि उनीहरुमार्फत नै चुनाव प्रचार गरेको पायौ, उनले भने ।

देशैभर रास्वपाको चुनाव चिन्ह घण्टीको माहोल सिर्जना हुनुमा प्रमुख राजनीतिक दलहरुले जनताको भावना, चाहना र आवश्यकतालाई भन्दा पार्टीको गुट, अमुक नेता र आफ्नै कार्यकर्ताको संरक्षणमा बढी ध्यान दिएको आरोप व्यवसायीहरुले लगाएका छन् ।

हामी विगतदेखि नै कुनै न कुनै पुराना पार्टीलाई मत दिदै आएका हौ, हामीले हेरिराखेका छौ, गाउँमा मर्दा मलामी र विहेमा जन्ती जाने मान्छेको कमी भइसक्यो, विरामी हुदा तत्काल अस्पताल लगिदिने मान्छे छैन, तर यो विषयमा राजनीतिक दलका तलदेखि माथिसम्मका कसैलाई चासो, चिन्ता र जिम्मेवारी भएको महसुस भएन, त्यसैले नयाँले केही गर्छन् कि ? भन्ने आशाले मत परिवर्तन गरेका हौ, बागलुङ बजारबाट गाउँमा जीप चलाउने एकजना चालकले नाम नलेख्ने सर्तमा बताए । उनले भने, हामी राजनीति गर्ने मान्छे होइनौ, राजनीति गर्ने नेताहरुले आश्वासन धेरै दिए, तर जनताको भावनाको कदर नगरेका कारण परिवर्तनमा लागेका हौ, नयाँले राम्रो गर्लान् भनेर विश्वास गरका छौ, गरेनन् भने यिनीहरुलाई पनि हामीले अर्को पटक साथ दिदैनौ ।

यसपटकको निर्वाचनले धेरै कुरामा ब्रेक गरिदिएको छ । अमुक पार्टीका गढ भत्काइदिएको छ, भुगोल, जात, धर्म, लिंगका आधारमा गरिने राजनीतिलाई अझै भनौ चुनावी अभियानलाई यसपटक रोकिदिएको छ । राजनीतिमा लाग्न संघर्ष गर्नु पर्छ, अलिक पाकै पनि हुनुपर्छ, चुनाव जित्नका लागि पैसा र शक्ति प्रदर्शन गर्न पर्छ, लगायत धेरै कुरामा पुरानो अवस्थालाई परिवर्तन गरिदिएको छ ।

यद्यपी चुनाव जित्नका लागि जे जस्ता रणनीति अपनाइन्छ, जे जसरी विरोधीलाई गाली गरिन्छ, आरोप लगाइन्छ, चुनाव जितेपछि काम गर्न ति सबैको साथ, सहयोग र सद्भाव चाहिन्छ भन्ने कुरा झण्डै दुइ तिहाइ जनमत प्राप्त गरेको रास्वपाका सभापति रवि लामिछानेले बुधवार ललितपुरमा आयोजित पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा व्यक्त गरेको विचारबाटै प्रष्ट हुन्छ ।

पुरानाले केही गरेनन् भन्ने भाष्य जसरी निर्माण गरियो, नयाँले केही गर्दैनन् भन्ने अवस्था सिर्जना नहोस् भन्ने हामी व्यवसायीहरुको कामना हो, एक यातायात व्यवसायीले भने, भन्न जति सजिलो छ, गर्न त्यत्तिकै गाह््रो छ, सबै मिलेर राम्रो बनाउनतर्फ लाग्नु पर्छ ।

जनताको अभिमतलाई कसैको किल्ला, कसैको गढ मान्दै आएका पुराना राजनीतिक दलहरुले पछिल्लो आर्थिक अवस्था, सामाजिक संरचना र सांस्कृतिक परिस्थितिलाई सम्बोधन गर्ने गरी राजनीतिक कार्यक्रम बनाउन आवश्यक देखिन्छ ।
बहुदलीय व्यवस्थामा दलहरु बलियो हुदा मात्रै राजनीतिले सही बाटो लिन सक्छ, दलहरुले गठबन्धनका नाममा जे पनि गर्ने, जो संग पनि मिल्ने, जसरी पनि सत्तामै पुग्ने, प्रतिपक्षमा बस्नै नचाहने अवस्थाका कारण यसपटक जनमत एउटै शक्तिलाई दिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

फोटो फाईल तथा एआई

 

  • २०८२ चैत्र ५, बिहीबार