बागलुङ । जोय स्टोर एक्स गहते युवा क्लबलाई जेसीज कपको उपाधि गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जोय स्टोर एक्स गहते युवा क्लबले जितेको छ ।
बागलुङ जेसीजको आयोजनामा चैत २३ गतेदेखि संचलन भई शनिवार सम्पन्न फाइनल खेलमा गहतेको बागलुङ सुधार केन्द्रलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । ८२ औँ मिनेटमा सौरभ छन्त्यालले गरेको गोल नै गहते युवा क्लबको जितमा निर्णायक गोल बनेको हो । आक्रमक खेल प्रदर्शन गर्नुभएका राज भूसालले डि–बक्समा उपलब्ध गराएको क्रस पासलाई छन्त्यालले आर्कषक गोल गर्नुभएको थियो । प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गहतेले जेसीज कप उचाल्दा बागलुङ सुधार केन्द्र भने यसपटक पनि उपविजेतामा सिमित हुन पुगेको छ । विजेता बनेको गहतेले २ लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ ।
उपविजेता बागलुङ सुधार केन्द्रले १ लाखसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनमा पुग्ने टोलीलाई १२/१२ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिको पुरस्कार बागलुङ सुधार केन्द्रका मुकुन्द निउरे प्राप्त गर्नुभएको छ । जोय स्टोर एक्स गहते युवा क्लबका विविध थापा उत्कृष्ट डिफेन्डर, गहतेकै आकाश थापा उत्कृष्ट मिडफिल्डर, सन्तोष महत उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।
सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाको कालीजंग गण घोडाबाँधेका दिपेन दियालीले प्राप्त गर्दा आदर्श विद्यामन्दिर -एभिएम) अनुशासित टिम घोषित भएको छ । सर्वोत्कृष्ट खेलाडि र अनुशासित टिमले १०/१० हजार रुपियाँ प्राप्त गर्दा अन्य उत्कृष्ट खेलाडिले जनही ५/५ हजार रुपियाँ प्राप्त गरेका छन ।