• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

राजमो बागलुङको चुनावी समिक्षा : ‘नेकपाले तालमेलको भाव बुझेन’

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जिल्ला स्तरीय समिक्षा सम्पन्न गरेको छ । शनिवार गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा जिल्ला कार्यसमितिको वैठक बसेर चुनावको सांगोपांगो समिक्षा गरिएको राजमो बागलुङले जनाएको छ । दुइ बामपन्थी शक्तिहरुबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएको राजमोले बागलुङ क्षेत्र नं. १ मा तालमेल गरेको दलले सहकार्यको भाव अनुसार भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको छ । बागलुङका २ निर्वाचन क्षेत्रमा राजमोले क्षेत्र नं. १ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले क्षेत्र नं. २ मा उम्मेदवार प्रस्तुत गरेका थिए ।

क्षेत्र नं. २ मा दुइ दलले समानुपातिकमा पाएको मत भन्दा बढी प्रत्यक्षका उम्मेदवारले पाएको अवस्था छ, त्यो क्षेत्रमा खासै धेरै फरक परेको देखिएन, तर क्षेत्र नं. १ मा सहकार्यको भाव अनुसार नेकपाको भूमिका नदेखिएको विषयमा वैठकमा समिक्षा भएको स्रोतले बताएको छ । एकता, सहकार्य र चुनावी तालमेलमा सहकार्य गरेका दलको भूमिकाले महत्वपूर्ण अर्थ राख्ने भएकाले गत निर्वाचनमा दुइ दलबीचको सहकार्यमा क्षेत्र नं. १ मा तालमेलको भाव अनुसार अगाडि नबढेको निष्कर्षमा राजमो पुगेको हो । राजमोले चुनावमा पराजित हुनुका धेरै कारणहरुका बारेमा छलफल गरेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने मुख्य दलहरुले विगतमा गरेका कमी कमजोरीहरुका कारण जनतामा देखिएको निशारा, आक्रोशको असर राजमोलाई समेत परेको वैठकका सहभागीहरुले चर्चा गरेका थिए । बैठकमा धेरै कोणबाट चुनावी समिक्षा भएको छ, पुराना सत्तारुढ दलहरुका गतिविधिको कारण जनतामा देखिएको आक्रोशमा खेल्ने विदेशी शक्तिको भूमिकाका बारेमा पनि छलफल भएको छ, राजमो बागलुङका सचिव भीमलाल पोखरेलले भन्नुभयो,–‘तुलनात्मक रुपमा कांग्रेस, एमाले र नेकपाको भन्दा राजमोको शक्तिमा कम क्षति भएको छ, तर पनि यो निर्वाचनले विगतका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्न झक्झकाएको छ ।’

बैठकका सहभागीहरुले विभिन्न समयमा विभिन्न राजनीतिक दलहरुसंग चुनावी तालमेल गर्ने गरेका कारण पनि पार्टीको आन्तरिक व्यवस्थापनमा समस्या आउनुका साथै जनतामा निशारा बढेको बारेमा ध्यानाकर्षण गराएका थिए । बागलुङमा राजमो र नेकपा एमालेले २०५१ साल यताका विभिन्न चुनावमा तालमेल गरेका छन् । कहिले सबै बाम, एक ठाँमको नारा, कहिले बामपन्थी तालमेलको नारा त कहिले बाम प्रजातान्त्रिक गठबन्धनका नाममा बागलुङका राजनीतिक दलहरु चुनावी सहकार्य गर्दै आएका छन् । जसको असर तालमेल गर्ने सबै दलमा परेको निष्कर्ष राजमोले निकालेको छ । सहभागीहरुले कहिले नेकपा एमालेसंग, कहिले नेपाली कांग्रेससंग, कहिले नेकपासंग र कहिले अन्य विचार नमिल्ने शक्तिहरुसंग समेत एकता, सहकार्य र चुनावी तालमेल गर्ने कार्यले पार्टीको संगठन परिचालन कमजोर भएको, एकता अनुसारका दलहरुसंगको आनीबानी र व्यवहारमा समेत समस्या सिर्जना भएको विषय उठाएका थिए । बागलुङ बामपन्थी जनमत बलियो भएको ठाउँ हो, यो चुनावले सबैलाई असर पारेको छ, तर बामपन्थी शक्तिहरुका बीच समन्वय र सहकार्य गरेर अगाडि बढ्दा फेरी पनि बामपन्थी जनमतलाई बढाउन सक्ने थुप्रै आधारहरु रहेको सचिव पोखरेलले बताउनुभयो ।

यतिबेला आन्तरिक समिक्षामा छौ, जिल्ला समितिको वैठकले जिल्ला स्तरीय समिक्षा गरेका छौ, बैशाख १५ गतेभित्र जिल्लाका सबै पालिकास्तर र बैशाख मसान्तसम्म वडा समितिको वैठक बसेर चुनावी समिक्षा गर्नुका साथै आगामी योजना बनाउने निर्णय वैठकले गरेको सचिव पोखरेलले जानकारी दिनुभयो । पालिका र वडा स्तरका वैठकमा चुनावी समिक्षाका साथै कार्यकर्ताहरु देखिएको निरासालाई चिर्न चुनावमा भएका गलत गतिविधि, राष्ट्रियस्तरमा देखिएको चुनावी लहर, जनतामा दलहरुप्रति देखिएको वितृष्णा लगायतका विषयमा कार्यकर्ता पंक्तिमा छलफल गरी योजना निर्माण गरेर जनताका बीचमा जाने निर्णय बैठकले गरेको छ । आगामी जेठको पहिलो सातासम्ममा समिक्षा सकेर नयाँ योजनाका साथ पार्टीका गतिविधिलाई जनताका बीचमा लैजाने गरी अभियान सञ्चालन गर्ने निष्कर्ष वैठकले निकालेको छ, सचिव पोखरेलको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, राजमोको मातृ पार्टी नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह लगायतका नेताहरुले विदेशी शक्ति र विदेशमा बस्ने नेपालीहरुका कारण पनि चुनावमा प्रभाव परेको चर्चा गर्दै आउनु भएको छ । सचिव पोखरेलले नेताहरुको विश्लेषण र कार्यकर्ताहरुको भावना सहितको योजना निर्माणमा केन्द्रीत गरेर पार्टीलाई थप व्यवस्थित रुपमा अगाडि बढाउन समग्र पार्टीपंक्तिलाई परिचालन गर्ने बताउनु भएको छ । राजमो जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको वैठकमा केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरुले चुनावको बारेमा धारणा राख्नु भएको थियो ।