बागलुङ । स्थानीयको विरोधका कारण रोकिएको ताराखोला स्थित मध्य दरमखोला जलविद्युत आयोजना चार मेघाटवकोे काम अघि बढ्न बाटो खुलेको छ ।
ताराखोलामा निर्माण थालिएको ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको काम नरोक्न अदालते आदेश दिएपछि काम सुचारु हुने भएको छ । स्थानीयले सिँचाई कुलोमुनी जलविद्युत निर्माण गर्दा जग्गा बाँझो रहने भन्दै विरोध जनाएका थिए । विरोधपछि आयोजनाको विद्युत गृहको काम रोकिएको थियो ।
उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा जलविद्युत् परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश जारी गरेको छ । कम्पनीले गाइघाट झरना रिसोर्टसम्बन्धी विवादमा सो रिसोर्ट पक्षविरुद्ध अदालतमा निवेदन दिएको थियो ।
मुद्दामा निवेदक कम्पनीका तर्फबाट अधिवक्ता सुवास आचार्य र अधिवक्ता सृजना पोखरेलले बहस गर्नुभएको थियो । दुवै पक्षका कानुनी तर्क सुनेपछि अदालतले प्रारम्भिक रूपमा निवेदककै पक्षमा आदेश दिएको हो ।
अदालतले विवादको अन्तिम टुङ्गो नलागेसम्म सम्बन्धित आयोजनाको निर्माण कार्य नरोक्न तथा कुनै किसिमको अवरोध नगर्न विपक्षीलाई निर्देशन दिएको छ । साथै वातावरणीय तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर काम गर्न पनि भनिएको छ । यस आदेशसँगै विवाद समाधान नहुँदासम्म निर्माण कार्य जारी राख्ने बाटो खुलेको छ । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत निर्देशन दिएको छ ।
विगत दुई वर्षदेखि बागलुङको ताराखोलाबाट ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडले जलविद्युत् परियोजना निर्माण गर्दै आएको छ । निर्माणका विभिन्न चरणमा सामुदायिक वन तथा स्थानीयले विभिन्न मागसहित परियोजनासँग छलफल गर्दै आएका थिए । उनीहरूका माग पारिस्थितिक प्रणाली र जलीय वातावरणसँग सम्बन्धित रहेका थिए ।
सयपत्री जलविद्युत् आयोजना संचालनमा आएपछि ताराखोला क्षेत्रमा पाँच नयाँ जलविद्युत् आयोजना थपिने तयारी भइरहेको छ । तीमध्ये एउटा सकिएको छ भने अन्य चारवटा निर्माणको चरणमा छन् । नेपालको कानुन अनुसार कुनै पनि हाइ्ड्रो सञ्चालन गर्दा वर्षभरि नदीमा कम्तीमा १० प्रतिशत न्यूनतम बहाव अनिवार्य रूपमा छोड्नैपर्ने भएपनि नदीमा पानी देखिनै छोडेको स्थानीय दर्पथा मगरले चिन्ता व्यक्त गर्नुभयो । जलविद्युत् विधेयक, परिच्छेद–८, दफा २७) लाई जलविद्युत उत्पादकले वेवास्था गरेको पाइएको उहाँको भनाई छ ।
बागलुङको ताराखोला गाउँपालिकाबाट गलकोट तर्फ बग्ने ताराखोला नदिमा अहिले धमाधम मध्य दरमखोला ‘ए’ चार मेघावट जलविद्युत आयोजना निर्माण कार्य स्थानीयको अवरोधले रोकिएको थियो ।जलविद्युतका कारण सिँचाई कुलो मासिने, खेतियोग्य जमिन सुख्खा हुँने, गाईघाट झरनाको शौन्दर्यकरण घट्ने र असला माछा संकटमा पर्ने लगायतका समस्या देखिने भएकाले प्रभावितहरुको तर्फबाट बिरोध जनाउदै आएको स्थानीय हिरा काला मगरले जानकारी दिनुभयो ।
जलविद्युत् परियोजनाको भौतिक पूर्वाधार निर्माणका क्रममा स्थानीयको सिँचाइ व्यवस्थापन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले समन्वय गरेको थियो भने गलकोट नगरपालिकाले पनि सहजीकरण गरेको थियो ।
ताराखोला गाउँपालिका–१, २ र ३ प्रभावित हुने गरी निर्माण भइरहेको मध्य दरम खोला ए जलविद्युत् परियोजनाले गलकोट नगरपालिकामा पावर हाउस निर्माण अघि बढाएपछि हरिचौर क्षेत्रको सिँचाइ प्रणाली प्रभावित भएको विषयमा विवाद उत्पन्न भएको थियो ।
सोही विषयमा जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजकत्वमा १० सदस्यीय समस्या अध्ययन तथा समाधान सहजीकरण समिति गठन गरिएको थियो । समितिमा विद्युत् निर्माण कम्पनीका ३ जना, सिँचाइ प्रभावित क्षेत्रका ५ जना, गलकोट नगरपालिकाका प्राविधिक इन्जिनियर १ जना र जिल्ला प्रशासन कार्यालयका १ जना प्रतिनिधि रहेका थिए । समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन तयार गरी समस्या समाधान गर्ने जिम्मा दिइएको थियो । त्यसैगरी ताराखोला गाउँपालिकाले पनि सरोकारवालासँग छलफल गर्दै आएको थियो । जिल्ला वन कार्यालयको प्रमुखसहित कम्पनी, स्थानीय, सामुदायिक वनलगायत सरोकारवालासँग छलफलसमेत गरिएको थियो । तर समस्या पूर्णरूपमा समाधान हुन नसकेपछि विषय अदालतसम्म पुगेको हो ।
हाल कम्पनीले ताराखोला गाउँपालिका–३, घुस्मेली मुनी ड्याम र पाइपलाइन झण्डै ७५ प्रतिशत काम सम्पन्न गरेको छ । पावर हाउसको बेस निर्माण भइसके पनि पछिल्लो समय काम रोकिएको छ ।