बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको आज ७७ वर्ष पुगेको छ । पुष्पलालको नेतृत्वमा गठन भएको नेकपाका दर्जनौ हांगाबिंगा छन् ।
समाजवादको लक्ष्य लिएर स्थापना भएको नेकपालाई क्षत विक्षत बनाउदै आफु नै राम्रो, सही र नेकपाको आधिकारीक उत्तराधिकारी भएको दावी गर्दै दर्जनौ पार्टी बनाउने नेताहरु आफु कर्नरमा परेको बेला एकताको रट पनि लगाउछन्, बलियो भएको बेला छुट्टै पार्टी पनि बनाइहाल्छन् ।
नेपाल कम्युनिष्ट पार्टीको एउटा हांगो, जसले आफुलाई नेकपाको आधिकारीक बंश समेत दावी गर्छ, नेकपा एमाले बागलुङको संगठन निर्माणमा कास्कीका शिव पौडेलको योगदान महत्वपूर्ण रहेको छ ।
बागलुङ पञ्चायतकालमै कम्युनिष्टको बर्चस्व भएको जिल्ला हो । यहाँ चित्र बहादुर केसी सहित बामपन्थी नेताहरुको बाहुल्यता थियो । पञ्चायती व्यवस्थाको अन्त्यतिर बागलुङमा नेकपा मसाल (हालको राजमो) र नेकपा मशाल (नेकपा माओवादी हुदै हालको नेकपा) को अलि बढी वर्चस्व थियो ।
नेपाली कांग्रेस र बाममोर्चा मिलेर पञ्चायत फालेपछि बागलुङमा नेपाली कांग्रेसले संगठन विस्तार अभियानलाई व्यापक बनायो, बामपन्थीहरुले पनि शक्ति निर्माणको प्रक्रिया शुरु गरे ।
कम्युनिष्ट पार्टी मध्ये एमाले (तत्कालिन नेकपा माले) अलि कमजोर थियो । नेकपा मालेको औपचारिक संगठन थिएन । मालेले गण्डकी धौलागिरीलाई पश्चिम उत्तर कलष्टर बनाएर संगठन निर्माणमा लागेको थियो । बहुदलको आगमनपछि पश्चिम उत्तर कलष्टरको वैठक पोखरामा बस्यो । बैठकले धौलागिरी र गण्डकीलाई छुट्टा छुट्टै बनाउने निर्णय ग¥यो ।
वैठकले धौलागिरी अञ्चलको संयोजकमा किरण गुरुङलाई जिम्मेवारी दियो । त्यही बैठकले बागलुङको सचिवमा शिव पौडेल, पर्वतमा प्रेम नारायण पौडेल, म्याग्दीमा केशव पौडेल र मुस्ताङमा गणेश तिमिल्सिनालाई सचिवको जिम्मेवारी दिएर संगठन निर्माण अभियानमा केन्द्रीत बनायो ।
बागलुङको पार्टी सचिवको जिम्मेवारी पाएका शिव पौडेल २०४७ जेठको अन्तिम साता बागलुङ आउनु भयो । पार्टीले बागलुङको संगठन निर्माणमा खटाएपछि बागलुङ पुग्दा नेकपा मालेको सदस्यता पाएका जम्मा ४ जना कमरेडहरु हुनुहुन्थ्यो, पौडेलले भन्नुयभयो,–‘विद्यार्थीको मोर्चा बलियो नै थियो, पार्टीको औपचारिक संगठन सक्रिय नभएकोले ४ जना साथीहरु र म सहित ५ जनाको पहिलो कमिटि बनाएर संगठन निर्माण अभियान शुरु गरेका थियौ ।’
पञ्चायतकालमा बागलुङबाट गोविन्दराज अधिकारी, रामजी प्रसाद शर्मा, मोहनलाल शर्मा र टोप बहादुर खड्काको मात्र पार्टी सदस्यता थियो, बहुदल आएपछि म बागलुङ पुग्दा चार जनाको मात्र संगठित सदस्यता थमाइएको थियो, पौडेलले स्मरण गर्नु भयो । विष्णु भण्डारी, जनक पौडेलहरु विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, क्याम्पसमा प्रारम्भिक कमिटि थियो, विद्यार्थी संगठनमार्फत पार्टीको संरचना निर्माणको अभियान हामीले शुरु गरेका थियौ ।
तत्कालिन नेकपा एमालेले गाउँमा गाउँ पार्टी सक्रिय दल, जिल्लामा जिल्ला पार्टी सक्रिय दल गठन गर्ने अभियान सञ्चालन गरेको थियो ।
नेपाली कांग्रेसले गाउँ गाँउमा पार्टीका औपचारिक संगठन निर्माण गर्न थालेपछि नेकपा एमालेको गाउँ पार्टी सक्रिय दल बनाउने अभियान पनि स्वतस्फूर्त रुपमा अगाडि बढेको थियो । दिनमा ८÷१० वटासम्म कमिटि गठन गरेको सम्झना छ, पौडेलले ति दिनको स्मरण गर्दै भन्नुभयो, ‘कम्युनिष्टले ६० वर्ष पुगेपछि मार्छन् भन्ने प्रचार हुने समयमा पनि नेकपा मालेप्रतिको आकर्षण लोभलाग्दो थियो, गाउँ गाउँमा भेला गरेर हामीलाई बोलाउनु हुन्थ्यो, ७ घण्टासम्म लगातार प्रशिक्षण दिएका थियौ ।’
बागलुङको पार्टी सचिवको जिम्मेवारी लिएर आएपछि पार्टी कार्यालय स्थापना गर्ने योजना बनाएको थिए । पार्टी कार्यालय सञ्चालनका लागि पार्टीका अगुवा साथीहरुले धेरै नै मेहेनत गर्नु भयो, लालिगुराँसचोकमा रहेको देवेन्द्रराज अधिकारीको घरमा २०४७ असार १९ गते नेकपा माले बागलुङको जिल्ला पार्टी कार्यालय स्थापना गरेका थियौ, पौडेलले जानकारी दिनुभयो ।
पार्टी कार्यालयको औपचारिक शुभारम्भ गर्ने कार्यक्रममा हामीले जिल्लास्थित सबै पार्टीका नेताहरुलाई बोलाएका थियौ, नेपाली कांग्रेसका तत्कालिन सभापति गोविन्द प्रसाद कंडेलले सम्बोधनका क्रममा पहिला पहिला कम्युनिष्ट र कांग्रेस मिल्नु हुदैन, फरक फरक विचार बोक्ने पार्टी हुन् भन्ने लाग्थ्यो, संयुक्त जनआन्दोलनले नेपालका बामपन्थी र कांग्रेस मिलेरै लोकतन्त्रको रक्षा गर्नु पर्छ भन्ने महसुस भएको छ, भन्नु भएको थियो, उहाँले भनेका ति शब्दहरु आज पनि लोकतन्त्रको रक्षाका लागि उपयुक्त हुन् भन्ने लाग्दछ, तत्कालिन नेकपा माले सचिव शिव पौडेलले स्वर्गीय गोविन्द प्रसाद कंडेलको दुरगामी मन्तव्यको स्मरण गर्नु भयो ।
जिल्ला पार्टी कार्यालयको शुभारम्भ भन्दा पहिला जिल्लाका धेरै गाविसहरुमा पुगेर भेला गर्ने, गाउँ पार्टी सक्रिय दल गठन गर्ने लगायतका काम सकेका थियौ, पार्टी संगठन कमजोर भएको ठाँउमा पनि नेकपा एमाले सशक्त रुपमा अगाडि बढ्नुमा युवा विद्यार्थी र पार्टीका अगुवा नेताहरुको भूमिका प्रभावकारी थियो । पार्टी कार्यालय सञ्चालनसंगै जनसंगठनहरुको निर्माण अभियान व्यापक बनाएका थियौ, त्यो बेला जनसंगठन अन्तरगत विद्यार्थी र महिलाको नेतृत्वमा बस्ने साथीहरु पछिसम्म पार्टीको नेतृत्वमा स्थापित हुनुभएको छ ।
त्यो बेला एसएलसी दिएका बसेकाहरु, प्रविणता प्रमाणपत्र तहमा अध्ययन गर्ने विद्यार्थीहरुको आकर्षण नेकपा मालेमा धेरै थियो । बागलुङसंगै धेरै क्याम्पसहरुमा कमिटि निर्माण गर्ने, विद्यार्थीहरुलाई संगठित र सचेत बनाउने, सिर्जनशिलतातर्फ अग्रसर गराउने काम राजनीतिले गरेको थियो ।
२०४७ जेठको अन्तिम साता बागलुङ छिरेका शिव पौडेलले २०४८ मंसिरसम्म बागलुङमा नेकपा माले हुँदै एमाले निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
जिल्ला सचिवका रुपमा जिम्मेवारीमा रहेका पौडेलले विभिन्न गाविसहरुमा पुग्ने र संगठन निर्माणको अभियान सञ्चालन गर्ने क्रममा हुग्दिशिरमा पञ्चायत समर्थकहरुको आक्रमणमा समेत पर्नु भयो ।
पार्टी कामको शिलशिलामा हुग्दिशिरमा थियौ, कमरेड गोपाल गिरीको घरमा बसेर पार्टीका गतिविधि सञ्चालन गरेका थियौ, २०४७ मंसिरको अन्तिम साता हो, गाउँमा बिवाह थियो, गोपाल गिरीहरु त्यतै जानु भएको थियो, उहाँको आमा, श्रीमती र छोरा छोरीहरु घरमै हुनुहुन्थ्यो, म संग महेन्द्र केसी भन्ने एकजना विद्यार्थी भाई पनि हुुनुहुन्थ्यो, मसंग रविन्द्र अधिकारीले दिएको एउटा रेडियो थियो, त्यही रेडियो सुन्दै सुन्तला खादै घाम तापेर बसेका थियौ, सांझ पार्टीको वैठक राखेका थियौ, घर छेउमै तलमाथि गर्ने बाटो थियो, ४÷५ जना युवाहरु माथिबाट आए, उनीहरुले मेरो बारेमा सोधखोज गर्न थाले ।
घर कहाँ हो ? मैले कास्की भने, किन आएको, के काम छ, पार्टीको काम हामीलाई नसोधी किन गरेको लगायतका कुरा गर्दा गर्दै एक जनाले लात्ताले कानमा हिर्कायो, सारै नै दुख्यो, तानातान भयो, विवाद भयो, महेन्द्र भाईलाई आमा र भाउजुहरुले घर भित्र लैजानु भयो, मलाई कुट्दै कुट्दै तल पु¥याए, आमाहरु कराउन थालेपछि गाउँलेहरु आएको देखेर कुटपिट गर्नेहरु भागे, संगठन निर्माणका क्रममा कुटपिट भएको बारेमा पौडेलले सविस्तार जानकारी गराउनुभयो ।
उपचारसंगै प्रहरीमा उजुरी गरियो, पछि जिल्ला पञ्चायतका पूर्व उपसभापति चित्र बहादुर बर्मा र कृषि विकास बैंक बरेङका कार्यालय सहयोगी एकजनालाई जिल्ला प्रशासनले बोलाएर छलफल गरायो, हामीले मुद्दा हाल्ने कि सहमति गर्ने विषयमा छलफल गरेपछि कुटपिटमा संलग्नहरुले गल्ती स्वीकार गरे, अनि हामीले पनि राजनीतिक कुरा हो, सहमति गरेर जाने भन्ने भयो । पछि पुस तेस्रो साता हुग्दिशिरमा बृहत सांस्कृतिक कार्यक्रम राखियो, त्यही कार्यक्रममा म माथि कुटपिट गर्नेहरुले माफी माग्नु भयो ।
शिव पौडेलमाथि कुटपिट भएको विरोधमा राखिएको सांस्कृतिक कार्यक्रमकै दिन केन्द्रमा नेकपा माले र नेकपा माक्र्सवादीबीच एकीकरण भएर नेकपा एमाले बन्यो, त्यो दिन देखि शिव पौडेल नेकपा एमाले बागलुङको सचिवका रुपमा रहनु भयो ।
नेकपा एमालेको बागलुङमा संगठन विस्तार, पार्टी कार्यालय सञ्चालन र परिचालन लगायत जनमत सिर्जनाका लागि पौडेलले रचनात्मक र सिर्जनात्मक अगुवाई गर्नु भएको थियो । बागलुङमा रहँदा एमाले निर्माणमात्रै होइन, अन्य पार्टीहरुसंगको सम्बन्ध विस्तार, बहुदलीय व्यवस्थाप्रति जनताको आकर्षण बढाउने लगायतका कामको अगुवाई गरेका पौडेलले चुनावका बेला कुश्मिसेरामा कांग्रेसका कार्यकर्ताहरुले ढुंगामुडा गरेको र मसालका कार्यकर्ताले आएर जोगाएको कुरालाई वर्गीय चिन्तनको संज्ञा दिनु भएको छ ।
हामीले चुनावी कार्यक्रम गर्दै थियौ, कुश्मीसेरामा । नेकपा मसालले २०४८ को चुनाव बहिस्कार गरेको थियो, उनीहरु बहिस्कारको प्रचार गर्दै गाउतिर गए । हाम्रो कार्यक्रम भएको ठाउँमा कांग्रेसका कार्यकर्ताहरुले ढुंगा मुडा गर्न थाले, हामी भाग्ने अवस्थामा पुग्यौ, के गर्ने के नगर्ने भन्ने अन्यौलतामा थियौ, त्यही बेला मसालका साथीहरु आएर कांग्रेसीहरुलाई लखेटेर हामीलाई आक्रमणबाट बचाए, आखिर बामपन्थीले बामपन्थीलाई सहयोग गर्नु पर्छ भन्ने भावना त्यसले विकास गरेको थियो, पौडेलले सम्झना गर्नु भयो ।
२०४८ को आम निर्वाचनमा एमालेले बागलुङका तिनवटै क्षेत्रमा उम्मेदवारी दियो । क्षेत्र नं. १ मा गोविन्दराज अधिकारी, २ मा कृष्ण पाठक र ३ मा मोहनलाल शर्मा उम्मेदवार रहनु भएको थियो । १ मा ७ हजार भन्दा बढी मत ल्यायौ, २ र ३ मा त जमानत जफत नै भयो ।
बागलुङमा बामपन्थी तालमेल गरौ भनेर धेरै चरण छलफल भएको पनि हो, नेकपा मसालले चुनाव बहिस्कार गरेको थियो, उ संग तालमेल हुने कुरा भएन, संयुक्त जनमोर्चा (हालको नेकपा) संग पटक पटक वार्ता भयो, त्यतिबेला ऋषिराम शर्मा त्यही पार्टीमा हुनुहुन्थ्यो, उहाँ र उहाँको टिमसंग धेरै छलफल गरियो तर सहमति हुन नसकेका कारण दुवैले उम्मेदवारी दिदा बागलुङका तीन वटै क्षेत्रबाट कांग्रेसका उम्मेदवार विजयी भए ।
२०४८ मंसिरमा शिव पौडेल मुस्ताङ र गणेश तिमिल्सिना बागलुङ आएर पार्टीको नेतृत्व गर्ने निर्णय भयो । शिव पौडेलले भूमिगत कालमा कास्की, पर्वत र बहुदल आएपछि बागलुङ र मुस्ताङमा पार्टी निर्माणको काममा योगदान गर्नु भयो ।
बागलुङमा एमाले निर्माणमा महत्वपूर्ण योगदान गरेका पौडेलले वर्तमान नेतृत्वले विगतलाई नबिर्सिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नु भएको छ ।
एमालेप्रति आम जनताको आशा थियो, भरोसा थियो, स्वतपूmर्त रुपमा जनताहरु एमालेमा आवद्ध भएका थिए, पार्टी निर्माणमा अत्यन्तै इमान्दारिताका साथ, घरको खाएर थुप्रै चुनौतीको सामना गर्दै योगदान गरेकाहरुको योगदानलाई सम्झदा मात्रै पनि पार्टी निर्माणमा थप प्रगति हुन सक्छ, पौडेलको भनाइ छ, विगतमा गरेका सबै योगदानलाई स्मरण गर्नेहरुले नै भविष्यलाई न्याय गर्न सक्छन् ।
विगत इतिहास् मात्रै होइन, भविष्यको योजना निर्माण र परिवर्तनको महत्वपूर्ण आधार पनि हो । आज एमालेबाट जो जतिले लाभ लिनु भएको छ, जनताले जति सहजता पाएका छन्, त्यो सबैका लागि एमाले निर्माणमा योगदान गर्नेहरु पन्छिदै जाने र पार्टी निर्माणमा भन्दा पनि नेताको वरिपरी घुमेर नेता निर्माणमा लाग्नेहरुले अवसर पाउने अवस्था सिर्जना हुनुले राजनीतिप्रति सम्मान घट्दै गएको छैन र ?
