• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

२१ महिना देखाएर समापन गरियो हनुमान नाच

बागलुङ । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिना पछि विधिवत रुपमा समापन गरिएको छ ।

यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि २०८१ भदौं ११ गते शुभारम्भ गरिएको थियो । उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मंगलबार समापन गरिएको आगमी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थ प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गालामा अनेकथरी पोतिएको रङ्ग, शिरमा श्रीराम लेखिएको रातो पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्चर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवाहरु विभिन्न १० तालको शुरुमा नाच्दै हिड्ने परम्परा यहाँका नेवार समुदायले झण्डै तीन सय वर्ष देखि बचाउदै आएका छन् । नाचको बीच–बीचमा हनुमानहरुलाई बीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनिहरु अचेत जस्तै बनेर हल्लन्छन् । नाचमा सहभागी पुजारीले बीर उठेका हनुमानलाई नियन्त्रणमा यसको पुजाबिधिका कारण हनुमानहरुलाई बीर चढ्ने (लाग्ने) गरेको हुन्छ ।

दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाहरुको सहभागीता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाच संगै १४ वटा टोल पुजा सम्पन्न गरीएको छ ।

मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउदै आएको छ । कोरोना लगायतका कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मुर्ती बागलुङ बजार परिकर्मागरी पुनःप्रतिस्थापन गरिएको छ ।

खर्चिलो नाचको रुपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको भएपनि भव्यरुपमा २१ महिनामा समापन गरिएको हनुमान नाचका प्रधानकजी इश्वर प्रसाद मलेपतीले जानकारी दिनुभयो । उक्त नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ ।

रामको सेवकको रुपमा रहेको हुनमानरहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजारपरिक्रमा संगै बागलुङ नगरपाकिला–४ उपल्लाचौर स्थित राम मन्दिर परिक्रर्मा गरेर फर्किएको थियो भने समापनमा समेत त्यही दोहो¥याइएको थियो । भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ ।

बीचमा हरायको नाचले वि.सं २०१३ सालदेखि निरन्तरता पाउन थालेको थियो । बागलुङ बजारको नारायण चोकबाट शुरु हुने उक्त नाच बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । बीचमा टोलको आह्वानमा टोल पुजा गरिन्छ भने मुल समापन समारोह गरी हनुमानको मुर्ती हनुमान पौवामा लगेर समापन गरिएको थियो ।

बागलुङ नगरपालिका ३ नारायणचोकको भिमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत रुपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ । २०८१ भदौं ११ गते नारायणचोकबाट शुरु नौ वर्षपछि शुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरी चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिर सहित शुभारम्भ र समापन सहित १९ स्थानमा देखाइएको छ ।

पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन् । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउनका लागि कठिन पर्दै गएको मलेपतीको भनाई छ ।

हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङको पहिचानसंग हनुमान नाच जोडिएको बताउनुभयो । हनुमान नाचमा सहभागी कलाकार, बाध्यबाधक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।