• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

यातायात व्यवसायी महासंघको निर्वाचन : बागलुङका उमेश सचिव, भूपेन्द्र सदस्यमा निर्वाचित

बागलुङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ महाधिवेशनबाट बागलुङका दुई युवा यातायात व्यवसायी केन्द्रीय समितिमा निर्वाचित हुनु भएको छ ।

बागलुङका यातायात व्यवसायी उमेश केसी सचिव पदमा र अर्का व्यवसायी भूपेन्द्र खड्का खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।

३ जनाको सचिव पदका लागि प्रत्यासी रहेका केसीले सबैभन्दा बढी ५९९ मत ल्याएर निर्वाचित हुनु भएको थियो ।

लामो समयदेखि यातायात व्यवसायी महासंघमा आवद्ध रहेका केसी यसअघि गण्डकी प्रदेश सहसंयोजक, केन्द्रीय सदस्य तथा धौलागिरी अध्यक्षका रूपमा काम गरिसक्नु भएको छ ।

केसी धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष रहनु भएको छ ।

१४ जना खुला केन्द्रीय सदस्यका लागि ४१ जनाबीच भएको प्रतिस्पर्धामा खड्काले ३५५ मत ल्याएर खुला केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।

बागलुङ भगवती यातायात सेवा प्रालिका अध्यक्ष खड्का महासंघमा पहिलो पटक केन्द्रीय समितिमा निर्वाचित हुनु भएको हो ।

महासंघको सातौँ महाधिवेशनले पूण्यप्रसाद सिटौला अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्रालि, कम्पनी, समितिहरूको छाता संगठनका रूपमा रहेको महासंघले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

महासंघको नेतृत्व चयन गर्न ३ सय ८७ संस्थाका १ हजार ६६४ जना प्रतिनिधि बैशाख २७ गतेदेखि पोखरामा आयोजित महाधिवेशनमा सहभागी भएका थिए ।