• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

बागलुङमा अटोरिक्सा दुर्घटनामा तीन जना घाइते

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१३ वलेवा सातबिसे स्थित पानी ट्याङ्की (पैयुँपाटा भित्री पक्की सडक खण्ड) मा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
शुक्रवार दिउँसो करिब १ः५० बजे सातबिसेबाट पानी ट्याङ्की तर्फ जाँदै गरेको ग.प्र. ०२००१ ह ०११९ नम्बरको अटोरिक्सा चालकले नियन्त्रण गुमाउँदा सडकको बाँया नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा अटोरिक्सा चालक सहित सवार ४ जना मध्ये ३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा बागलुङ नगरपालिका–१३ पैयुँपाटा बस्ने वर्ष ४० का चालक दिपेन्द्र पाण्डे ,वर्ष ६५ की दिर्पा पाठक र वर्ष ७२ की डम्बर कुमारी रेग्मी रहेको प्रहरीको भनाई छ ।
चालक पाण्डेको बाँया हात र खुट्टामा चोट लागेको तथा अवस्था सामान्य रहेको बताइएको छ भने दिर्पा पाठकको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् भने डम्बर कुमारी रेग्मी को दुबै हातखुट्टा र टाउकोमा चोट लागेको तथा अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ पठाइएको छ ।