• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

सहकारी बैंकको चुनावका उपविजेता घिमिरेले दिए बधाई र धन्यवाद

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको बागमती प्रदेश सञ्चालकमा थोरै मतले पराजित भएका स्वतन्त्र उम्मेदवार रामशरण शर्मा घिमिरेले विजयी उम्मेदवारलाई वधाई तथा शुभकामना र मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

निर्वाचनमा पराजित भए लगत्तै शर्माले सामाजिक सञ्जालमार्फत निर्वाचनमा विजयी उम्मेवार परितोष पौड्याललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको हो । पौड्यालको कार्यकाल राष्ट्रिय सहकारी बैक र समग्र सहकारी क्षेत्रका लागि फलदायी रहोस भन्दै उहाँले शुभेच्छा व्यक्त गर्नु भएको छ ।

निर्वाचनमा सातै प्रदेशबाट मलाई दिनु भएको माया, विश्वास, साथ र अमूल्य मत प्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु, घिमिरेले भन्नु भएको छ । चुनाव भनेको हार र जितको स्वभाविक प्रक्रिया हो, तपाईहरुको साथ, सहयोग र विश्वास मेरा लागि ठूलो उर्जा र प्रेरणा बनेको छ, घिमिरेले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘मत परिणाम जे आए पनि सहकारी क्षेत्रको दिगोपन, व्यवसायिकता र संस्थागत सुधारका लागि मेरो प्रतिवद्धता निरन्तर रहनेछ ।’

सहकारी बैंकको बागमती प्रदेश सञ्चालकका लागि शनिवार भएको निर्वाचनमा पौड्यालले १ हजार ८२७ मत ल्याएर विजयी हँुदा घिमिरेले १ हजार ५५२ मत प्राप्त गर्नु भएको थियो । बैंकको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहमति अनुसार एमालेलाई ३, कांग्रेस र नेकपालाई दुइ दुइ सञ्चालन बाडिएको थियो ।

अन्य ६ प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुँदा बागमतीमा भने नेकपा एमालेका दुइ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । तीन दलका साझा उम्मेदवार परितोष पौड्यालका विरुद्ध प्रतिस्पर्धामा उत्रिएका घिमिरे २७५ मतान्तरले पराजित हुनु भएको हो ।