बागलुङ । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियानको घोषणा गरेको छ । यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ ।
जेठ ४ बाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि) २ मार्फत अभियान घोषणा गरिएको हो ।
गणतन्त्र दिवसका दिन शुक्रवार जारी अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय सदस्यहरु मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।
अन्य धेरै जिल्लामा केन्द्रीय कमिटिका सदस्यहरुलाई दिइएको जिम्मेवारी बागलुङमा ११ औं महाधिवेशनमा पराजित भएका ३ नेतालाई पनि दिइएको छ ।
गत मंसिरमा सम्पन्न ११ औं महाधिवेशनमा सचिवमा प्रतिस्पर्धा गरेका इन्द्रलाल सापकोटा तथा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका हिरा बहादुर केसी र कृष्ण बहादुर केसीलाई पालिकाको पार्टी जागरण अभियानमा जिम्मेवारी दिइएको छ ।
इन्द्रलाल सापकोटालाई गलकोट नगरपालिका, हिरा बहादुर केसीलाई काठेखोला गाउँपालिका र कृष्ण बहादुर केसीलाई निसीखोला गाउँपालिकामा पार्टी जागरण अभियानको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
यस्तै केन्द्रीय सदस्यहरु मन कुमारी केसीलाई बागलुङ नगरपालिका, लिला बहादुर थापालाई बरेङ गाउँपालिका, गोविन्द बहादुर नेपालीलाई बडिगाड गाउँपालिका, सूर्य पाठकलाई जैमिनी नगरपालिका, सावित्रा रानालाई ताराखोला गाउँपालिका तथा मञ्जु शर्मा चालिसेलाई ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ ।
एमालेको ११ औं महाधिवेशनबाट ओली समुहबाट प्रतिस्पर्धा गरेका ६ जना नेता केन्द्रीय सदस्यमा विजयी हुदा इन्द्रलाल सापकोटा सचिव तथा हिरा बहादुर केसी र कृष्ण बहादुर केसी इश्वर पोखरेल समुहबाट प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।
एमालेले अध्यक्ष ओलीको विकल्प खोज्नु पर्ने दवाव बढेको छ । पछिल्लो समय पार्टीको आन्तरिक शक्ति सन्तुलन परिवर्तन भएको आंकलन गरिएको छ । पार्टी पुर्नजागरणका लागि अध्यक्षले मार्र्ग प्रशस्त गर्नु पर्ने दवावकाबीच जेठ १० गते सम्पन्न सचिवालय वैठकले अध्ययन गर्न उपाध्यक्ष राम बहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले असार १० गते भित्र दिने प्रतिवेदनका आधारमा पार्टी पुर्नजागरण अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।
