• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

जन्मदिन मनाउन संगै गएका साथीबाट भएको थियो लजिन थापाको हत्या

बागलुङ । बागलुङको बडिगाडमा आठदिनपछि शव फेला परेको लजिन थापाको आफ्नै साथीबाट हत्या भएको खुलेको छ ।

उनिहरुले आइफोनको लोभमा साथीलाई हत्या गरेर शव लुकाएको पाइएको अनुसन्धानबाट खुल्न आएको हो । बडिगाड गाउँपालिका–१ का १७ वर्षीय विद्यार्थी लजिन थापा नागरिकता बनाउन घर आएको समयमै साथीहरुबाटै सिकार हुन पुगेका छन् । थापाको आइफोन खोस्ने विषयमा थापाको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा थापासंगै जन्मदिन मनाउन गएका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यसरी भएको थियो थापाको हत्या

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठमाडौंको धुम्बाराहीस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन साउन १ गते राति साथी अशिम वनको जन्मदिन मनाउन बडिगाड–१ स्थित दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए । त्यहाँ लजिनसहित सात जना साथीले मदिरा सेवन गरी रात बिताएका थिए । बिहानपख घर फर्कनेक्रममा थापाको मोबाइल खोस्ने क्रममा हत्या भएको पाइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार साउन २ गते बिहान जन्मदिन भनाइसकेपछि घरफर्कने क्रममा अन्य नजिकका साथीहरु घर तर्फ लागेको र बिहान ४ बजे रेमबहादुर बिक र ददी परियार र लजिन थापासँग एकान्तमा पारेर आईफोन मागेका थिए । थापाले मोबाइल दिन अस्वीकार गरेपछि परियार र बिकले थापालाई हानेर भुइमा ढलाएका थिए । मोवाईलफोन लिएपछि थापा बिहोस भएको थाहापाएपछि थप कुटपिट गरी शव लुकाउनका लागि ३० मिनेट शवलाई बोकेर खोलामा लगेर फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी फडिन्द्र प्रसाईले जानकारी दिनुभयो । “पहिलैदेखि आइफोन खोस्ने योजना बनाएको पाइयो, अन्यसाथीहरु घरतर्फ लागेपछि एकान्तमा पुगेपछि रेम बहादुर बिक र ददि परियारले थापासंग आइफोन मागेको नदिएपछि कुटपिटको क्रममा हत्या भएको पाइयो” प्रसाईले भन्नुभयो “हत्याको आशंका पहिलै भयो, तर शव फेला नपर्दा समस्या भयो, आठ दिनमा पहिरो गएको स्थानमा खनेर सेमत शव हेरेको पाइयो, एकान्त ठाउँमा लगेर फोन खोसेर आक्रामण गरेपछि शव लुकाउन बोकेर खोलामा पु¥याएको पाइन्छ ।”

साउन २ गते बिहान करिब २ः३० बजे सबैजना घर फर्कने क्रममा छुट्टिएका थिए । तर लजिन घर नफर्किएपछि परिवारले भोलीपल्ट मात्रै प्रहरीलाई जानकारी गराएको थियो । स्थानीय प्रहरी, गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, ड्रोन, तालिमप्राप्त खोजी कुकुर तथा स्थानीयको सहयोगमा व्यापक खोजतलास गर्ने क्रममा आठ दिनको दिन थापाको सव खोलामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा शंकास्पद देखिएका बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय अशिम वन र १६ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिई व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा रेमबहादुर विक र ददी परियारले मोबाइलको विषयमा लजिनसँग विवाद भएको स्वीकार गरेका थिए । उनीहरूले घटनापछि लजिनलाई विभिन्न स्थानमा लगेर छाडेको भन्दै फरक–फरक बयान दिएका थिए । तर ती स्थानमा खोजी गर्दा लजिन फेला परेका थिएनन । साउन ९ गते बिहान बडिगाड–१ स्थित मनखोलामा लुकाइएको अवस्थामा सडिगल्न थालेको लजिनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल पठाइएको छ ।