• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

पर्यटन प्रवद्र्धनमा लायन्स ढोरपाटनको सक्रियता : नरसिंहकोटदेखि चुङ्ग्री बुकीसम्म पदयात्रा

बागलुङ । विभिन्न सामाजिक कार्यहरुमा निरन्तर क्रियाशील रहँदै आएको लायन्स क्लब अफ ढोरपाटनले पछिल्लो समयमा पर्यटन प्रवद्र्धनमा समेत त्यत्तिकै सक्रियता देखाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका एक दर्जनभन्दा बढी पत्रकारसहित क्लबले निसीखोलाको नरसिंहकोटदेखि पूर्वी रुकुमको चुङ्ग्री बुकीसम्मको २ दिने पदयात्रा आइतबार सम्पन्न गरेको छ ।

गत शनिबार बुर्तिबाङबाट सुरु गरिएको पदयात्रा पहिलो दिन निसीखोलाको राजकुत स्थित धार्मिक तथा ऐतिहासिक स्थल नरसिंहकोट र टाकुराको पदयात्रा सम्पन्न गरिएको थियो । लायन्स क्लब अफ ढोरपाटनले सो अवसरमा नरसिंहकोट मन्दिर क्षेत्रमा सरसफाई समेत सम्पन्न गरेको थियो । त्यसैगरी नरसिंहकोटको स्वदेश तथा विदेशमा व्यापक प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनका लागि जोड दिन स्थानीय जनप्रतिनिधिहरुसंग समेत छलफल तथा अन्तरक्रिया गरिएको थियो । नरसिंहकोट क्षेत्रको पर्यटकीय सम्भावनालाई विस्तार गर्न गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले विशेष जोड दिएको र यस क्षेत्रमा विभिन्न मठमन्दिर एवं संरचनाहरु निर्माण भएको निसीखोला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष दिपक कुँवरले बताउनु भयो । साथै उहाँले यस क्षेत्रको अझै व्यापक प्रचार प्रसार गरी नरसिंहकोटलाई थप व्यवस्थित गर्न सके प्रशस्त आन्तरिक पर्यटकहरु भित्राउन सकिने बताउनु भयो ।
नेपाल एकीकरणको समयमा बाइसे चौबीसे राज्य रहँदा विभिन्न खस राजाहरुले यसै ठाउँबाट राज्य संचालन गर्ने गरेको नरसिंहकोट क्षेत्र एक ऐतिहासिक र धार्मिक रुपले समेत त्यत्तिकै महत्वपूर्ण मानिन्छ । पश्चिम बागलुङको बुर्तिबाङ बजारबाट समेत नजिकैको दुरीमा रहेको यो क्षेत्र प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

लायन्स क्लब अफ ढोरपाटनको दोस्रो दिनको पदयात्रा रुकुम पूर्वको चुङ्ग्री बुकीमा रहेको थियो । चौंरीखर्कको नामले समेत चिनिने यो ठाउँ पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि निकै राम्रो गन्तव्य स्थल बनेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेदेखि ३ घण्टा बढी लामो उकालो पदयात्रापछि यो ठाउँमा पुग्न सकिन्छ । यहाँबाट बुकी पाटन, खर्क क्षेत्र, हिमाल र मनोरम प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । विशेष गरी युवा पुस्ताहरु फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउन र मनोरन्जन लिनका लागि यो ठाउँमा जाने गर्छन् । यातायातको विस्तार, सरसफाई, पर्यटकहरुका लागि खानपान र आवासको पर्याप्त व्यवस्थापन लगायतको क्षेत्रमा ध्यान दिदै थप व्यवस्थापन गर्न सके यस क्षेत्रको पर्यटन प्रवद्र्धन विस्तार गर्न सकिन्छ ।

नरसिंहकोट र चुङ्ग्री बुकी दुबै ठाउँ पर्यटकीय सम्भावनाको दृष्टिले निकै महत्वपूर्ण रहेकाले यी क्षेत्रको व्यापक प्रचार प्रसार गरी सरकारवाला पक्षले पर्यटन प्रवद्र्धनमा विशेष ध्यान पुराउन सके पर्यटन विकासमा टेवा पुग्ने लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती मगरले बताउनु भयो । साथै उहाँले लायन्स क्लब अफ ढोरपाटन निरन्तर रुपमा सामाजिक सेवाका साथसाथै पर्यटन र समाजिक विकासका कार्यहरुमा समेत सरोकारवाला पक्षहरुसंग सहकार्य गर्दै अगाडि बढेकाले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।