• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

कालिका दर्शन नगरी फर्किए प्रधानमन्त्री शाह

बागलुङ । स्थलमार्ग हुँदै शुक्रबार मुस्ताङ भ्रमणका लागि निस्किएका प्रधानमन्त्री बालेन शाह शनिबार राति नै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरी आइतबार बागलुङ हुँदै फर्किएका छन् ।

फर्कने क्रममा म्याग्दी हुँदै बागलुङको बाटो राजेका प्रधानमन्त्री शाह आइतबार दिउँसो करिब १२ः३० बजे बागलुङ बजारस्थित नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डामा पुगेका थिए । त्यहाँ केही समय बसेर उनले खाना खाएका स्रोतले बतायो । प्रधानमन्त्री शाह बागलुङ हुँदै फर्किने भएपछि स्थानीय तथा राजनीतिक दलका नेता–कार्यकर्ता र सर्वसाधारणमा उनलाई नजिकबाट स्वागत गर्ने उत्साह देखिएको थियो ।

प्रधानमन्त्री शाह बाहिनीबाट निस्कीए पश्चात् नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिकस्थल कालिका भगवती मन्दिरको समेत दर्शन गर्ने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री बागलुङमा आएको जानकारी पाएपछि सुरक्षाकर्मी तैनाथ थिए । उनलाई स्वागत गर्न केही नेता–कार्यकर्ता तथा स्थानीय नागरिक कालिका मन्दिर जाने मुख्य प्रवेशद्वार कालिका गेट अगाडि भेला भएका थिए ।

तर, प्रधानमन्त्री शाह कालिका मन्दिरको दर्शन नगरी बागलुङबाट फर्किएपछि स्वागतका लागि गेट अगाडि प्रतीक्षा गरिरहेका स्थानीय तथा नेता–कार्यकर्ता निराश भएका छन् । प्रधानमन्त्रीले छोटो समयका लागि भए पनि कालिका भगवती मन्दिरमा पुगेर दर्शन गर्ने अपेक्षा स्थानीयको थियो । कालिका भगवती मन्दिर नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यस अगाडी विशिष्ट व्यक्तिहरूले समेत कालिका मन्दिरको दर्शन गर्ने परम्परा रहँदै आएको स्थानीय बताउँछन् । प्रधानमन्त्री शाह बागलुङ हुँदै फर्किने भएपछि यसपटक पनि मन्दिरमा पुग्ने अपेक्षा गरिएको थियो ।

स्थानीय विष्णु प्रसाद पौडलले कालिका मन्दिर केवल एक धार्मिक स्थल मात्र नभई ऐतिहासिक र सामाजिक पहिचानको प्रतीक पनि रहेको उहाँको भनाई छ । “प्रधानमन्त्री बागलुङ कालिका दर्शन गरेको भए, बागलुङ कालिकाको अहिलेसम्मकै ठुलो प्रचार हुन सक्ने उहाँको भनाई छ । प्रधानमन्त्री शाह मुक्तिनाथ दर्शन फर्किने गरी फर्कने क्रममा कार्यव्यस्तताका विच, मुक्तिनाथ देखि काठमाडौं सम्म त दर्जनौ सास्कृतिक र धार्मिक सम्पदा रहेकाले पस्नुहुन्छ कि भन्ने स्थानीय जनअपेक्षा स्वभाभिक नै भएको उहाँको भनाई छ ।

“मुक्तिनाथदेखि काठमाडौंसम्मको यात्रा मार्गमा दर्जनौं सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाहरू अवस्थित छन् । छोटो यात्रामा सवै सास्कृतिक धरोहरमा,दर्शन गर्न असम्भव नै होला ”उहाँले भन्नु भयो । यस्तै राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका स्थानीय नेता अभिशेख कटुवाल क्षेत्रीले प्रधानमन्त्री शाह आफ्नो व्यक्तीगत भ्रमण रहेको भएकाले हुन सक्छ तर कालिका प्रवेश गर्ने झिनो आशा थियो ।

प्रधानमन्त्रीको बागलुङ भ्रमण औपचारिक कार्यक्रमबिनै छोटो समयका लागि भएको थियो। मुस्ताङ भ्रमणका क्रममा स्थलमार्ग प्रयोग गरेका प्रधानमन्त्री शाहको बागलुङ हुँदै फर्किने कार्यक्रमबारे जानकारी पाएपछि स्थानीयमा भने उनलाई स्वागत गर्ने उत्साह देखिएको थियो । कालिका दर्शनको अपेक्षा पूरा नभएपछि उपस्थित स्थानीय निराश हुँदै फर्किएका थिए ।