• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

आलोचना निषेध गरेर एमाले बलियो हुन्छ ?

  • २०८३ आश्विन २१, बुधबार

बागलुङ । नेकपा एमालेले तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशन–३ अर्थात् अपानिले पार्टीभित्र अनुशासन कडाइ गर्ने सन्देश दिएको छ । नेतृत्व, नीति र निर्णयविरुद्ध सार्वजनिक आलोचना, विरोध, निन्दा वा गुटबन्दी गरे कारबाही गर्ने चेतावनी दिइएको छ । विगतमा जसले जे बोले पनि अब त्यसलाई ‘कटअफ’ मानेर नयाँ ढंगले अघि बढ्ने भनिएको छ ।

पार्टी अनुशासन आवश्यक छ । संगठनमा विधि, मर्यादा र जिम्मेवारी हुनैपर्छ। तर अनुशासन र आलोचनाबीचको फरक छुट्याउन नसक्दा भने पार्टी बलियो होइन, कमजोर बन्न सक्छ । नेतृत्वको आलोचना गर्नु र पार्टीविरुद्ध काम गर्नु एउटै कुरा होइन । नेतृत्वले गरेको गलत निर्णय औँल्याउनु, नीतिमा कमजोरी देखाउनु, कार्यशैलीमाथि प्रश्न उठाउनु वा पार्टीलाई जनताको अपेक्षाअनुसार हिँडाउन सुझाव दिनु गुटबन्दी होइन । बरु स्वस्थ राजनीतिक संगठनको जीवन्त अभ्यास हो ।

कम्युनिस्ट पार्टीको इतिहास हेर्ने हो भने बहस, विवाद, आत्मालोचना र आलोचना यसको राजनीतिक संस्कृतिको महत्वपूर्ण पक्ष रहँदै आएको छ । ‘आलोचना र आत्मालोचना’को कुरा गर्ने पार्टीमै आलोचना गर्न नपाइने अवस्था आयो भने त्यो विडम्बना हुनेछ । एमालेले निर्वाचनमा पराजय भोगेपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता स्वीकार गरेको छ । पार्टी जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल र युवाको डिजिटल संसारसम्म पुग्न नसकेको निष्कर्ष पनि निकालिएको छ ।

 

युवाको भाषा बुझ्न नसकेको, आधुनिक सञ्चारमा ढिलो पुगेको, स्थानीय मुद्दासँग सम्बन्ध कमजोर भएको र आफ्ना विचारलाई नयाँ पुस्ताको जीवनसँग जोड्न नसकेको स्वीकारोक्ति आफैँमा महत्वपूर्ण छ । तर प्रश्न उठ्छ,—यी कमजोरी औँल्याउने अधिकार कसलाई छ ? यदि कार्यकर्ताले पार्टी नेतृत्वलाई प्रश्न गर्नै नपाउने हो भने आत्मसमीक्षा कसरी हुन्छ ? यदि नेतृत्वका निर्णयमाथि प्रश्न उठाउनुलाई अनुशासनहीनता मानिन्छ भने गलत निर्णय सच्याउने बाटो कहाँबाट खुल्छ ? यदि नेतृत्वलाई केवल प्रशंसा सुनाउने वातावरण बनाइयो भने वास्तविक सूचना नेतृत्वसम्म कसरी पुग्छ ? नेतृत्वलाई सही बाटोमा हिँडाउन कहिलेकाहीँ विरोध आवश्यक हुन्छ । गलत निर्णय रोक्न असहमति आवश्यक हुन्छ । पार्टीभित्र उठ्ने असन्तुष्टिलाई दबाएर होइन, सुनेर समाधान गर्नुपर्छ । नेतृत्वलाई खुसी पार्ने कार्यकर्ता धेरै हुन सक्छन्, तर नेतृत्वलाई सही कुरा सुनाउने कार्यकर्ता नै पार्टीका लागि बढी उपयोगी हुन्छ ।

एमालेले अहिले ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’को कुरा गरेको छ । युवालाई नीति निर्माण र निर्णायक तहमा पु¥याउने भनिएको छ । डिजिटल युगसँग पार्टीलाई जोड्ने, नयाँ पुस्ताको भाषा बुझ्ने र जनताको दैनिक जीवनसँग सम्बन्ध स्थापित गर्ने लक्ष्य पनि अघि सारिएको छ । तर नयाँ पुस्तालाई पार्टीमा ल्याएर पुरानो प्रश्न सोध्ने शैली नै कायम राख्ने हो भने पुस्तान्तरण कसरी हुन्छ ? युवाले प्रश्न गर्छन् । बहस गर्छन् । नेतृत्वलाई चुनौती दिन्छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्छन् । उनीहरूलाई केवल आदेश पालना गर्ने कार्यकर्ता बनाउने प्रयास गरियो भने एमालेले आफैँले पहिचान गरेको ‘डिजिटल पुस्तासँगको दूरी’ अझ बढाउनेछ । प्रश्न गर्नेहरुलाई बैरी देख्ने संस्कारले पार्टी बलियो हुन्छ ?

निश्चय नै सार्वजनिक रूपमा पार्टीको निर्णय तोड्ने, व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्ने, संगठनलाई कमजोर पार्ने वा पार्टीविरुद्ध गतिविधि गर्ने कामलाई अनुशासनको दायरामा ल्याउनुपर्छ । तर नीति र नेतृत्वको आलोचनालाई गुटबन्दीको एउटै टोकरीमा राख्नु हुँदैन । नेतृत्व अचूक हुँदैन । कुनै पनि अध्यक्ष, महासचिव वा केन्द्रीय कमिटीले सबै कुरा सही देख्न सक्दैन । कहिलेकाहीँ तलबाट आएको आलोचनाले माथिको नेतृत्वलाई ठूलो गल्ती गर्नबाट रोक्न सक्छ । त्यसैले आलोचकलाई शत्रु होइन, पार्टीको ‘अर्ली वार्निङ सिस्टम’का रूपमा बुझ्न सक्नुपर्छ । एमालेले आफ्नो चुनावी पराजयको कारण खोज्दै गर्दा सबै दोष कार्यकर्ता, उम्मेदवार, सञ्चार रणनीति वा विरोधीको प्रचारमा मात्र खोजेर पुग्दैन । नेतृत्वका निर्णय पनि प्रश्नको घेरामा पर्नुपर्छ । आलोचना सुन्न नसक्ने संगठनले आफ्नो कमजोरी समयमै देख्दैन । कमजोरी नदेख्ने संगठनले सुधार गर्न सक्दैन । सुधार गर्न नसक्ने संगठनले जनताको विश्वास गुमाउँदै जान्छ । त्यसैले एमालेले अनुशासन कायम गरोस्, तर प्रश्न गर्ने ढोका बन्द नगरोस् । नेतृत्वको सम्मान गरोस्, तर नेतृत्वलाई प्रश्न गर्न पाउने अधिकार पनि सुरक्षित गरोस् । किनकि पार्टीलाई बिगार्ने सबैभन्दा खतरनाक कुरा आलोचना होइन, आलोचना हराएको संगठन हो ।

नेतृत्वलाई सही काम गर्न प्रेरित गर्ने, गलत निर्णय सच्याउन दबाब दिने र जनताको आवाज पार्टीभित्र पु¥याउने आलोचना एमालेका लागि कमजोरी होइन—शक्तिको स्रोत बन्न सक्छ । एमालेले अब कार्यकर्तालाई केवल ‘केन्द्रीय निर्देशन पालना गर्ने’ होइन, सही कुरा भन्न सक्ने, गलत कुरा रोक्न सक्ने र नेतृत्वलाई सही बाटोमा हिँडाउन सक्ने राजनीतिक कार्यकर्ता बनाउनुपर्छ । अनुशासनले संगठन जोगाउँछ, तर विवेकपूर्ण आलोचनाले संगठनलाई सही दिशामा हिँडाउँछ । एमालेले यी दुईबीचको सन्तुलन जोगाउन सकेन भने अपानि–३ अनुशासनको दस्तावेज त बन्नेछ, तर आत्मसुधारको बाटो बन्द गर्ने दस्तावेज पनि बन्न सक्छ । जनताको बहुदलीय जनवाद मान्ने पार्टीमा फरक विचार राख्न नपाइने, नेतृत्वको आलोचना गर्न नपाइने, विरोधलाई निषेध गर्ने कुरा स्वभाविक हुदैन । पार्टीमा विचारहरुको मन्थन हुन आवश्यक छ । बिचार निर्माण गर्ने भन्दा पनि माथिबाट लाद्ने प्रवृतिका कारण नेपालका बामपन्थी शक्तिहरु कमजोर हुदै गएको तथ्य बिर्सन हुदैन ।

 

 

 

  • २०८३ आश्विन २१, बुधबार