• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

कालीगण्डकी बाढीको त्रासदी

कालीगण्डकी नदी तथा यसको आसपासका क्षेत्रमा हालै आएको बाढीलाई उक्त क्षेत्रमा हालसम्म देखिएको सबैभन्दा ठुलो र विनाशकारी प्राकृतिक विपत्तिका रूपमा लिन सकिन्छ । यसले ठुलो भौतिक तथा मानवीय क्षति पु¥याएको छ । बाढीमा परेर २६ जनाको निधन र १७९ घर पूर्ण रूपमा क्षति पुगेको छ भने सयौँ घर आंशिक क्षति तथा उच्च जोखिममा छन् । छ वटा पक्की तथा कच्ची पुल क्षतिग्रस्त भएका छन् । अर्बौं रुपियाँ बराबरको भौतिक क्षति भएको छ । ठुलो परिमाणमा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

सताब्दिऔँदेखि पटक पटकका बाढी झेल्दै आएका ‘फर्से बजार’ जस्ता बस्तीको अस्तित्वसमेत बाढीले मेटाइदिएको छ । दशकौँदेखि नदीको बहाबलाई सहज रूपमा पार गर्दै आएको मालढुङ्गा पुल तथा सहस्रधारास्थित नदीछेउको लोकमार्ग क्षतविक्षत भएका छन् । म्याग्दी र बागलुङका धेरै पुराना बाटा तथा बस्ती पनि प्रभावित भएका छन् । कालीगण्डकी तटका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत यसको असर परेको छ । यो घटनाले केही गम्भीर प्रश्न अगाडि ल्याएको छ । के हाम्रो विकासको गलत ढाँचा यसका लागि जिम्मेवार छ ? के यो नदी दोहनको नतिजा हो ? अथवा जलवायु परिवर्तनको असर ? यो बाढीको देखिने कारण २०८३ असोज ८, ९ र १० गते म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङमा परेको अविरल वर्षा हो, जसले यस क्षेत्रमा रहेका खोलानालामा पानीको बहाब बढाइदियो र बाढी निम्त्यायो । एक हदसम्म यो सत्य हो तर यसभन्दा अगाडि पनि कैयौँ पटक एक हप्तासम्म लगातार परेको वर्षालाई हाम्रा भौतिक संरचनाले थेगेकै थिए । अहिले किन थेग्न सकेनन् ? यो प्रश्न धेरै गम्भीर छ ।

हामीले हाम्रो जमिनले धान्न नसक्ने गरी डोजरको प्रयोग गरेर कच्ची बाटो डाँडाकाँडामा पु¥यायौँ । स्थानीय जनप्रतिनिधिले आफू वा आफ्ना मान्छेले किनेका डोजरलाई काम दिन अनावश्यक ठाउँमा समेत कच्ची बाटा पु¥याउने काममा बजेट खर्च गरे । फलस्वरूप सताब्दिऔँदेखि स्थिर भएर बसेका हाम्रा पहाडमा खलल पुग्न गयो र ती कमजोर बने । डोजरको प्रयोगसँगै जताततै फालिएका ढुङ्गामाटोले वर्षाको पानीको प्रभावलाई थेग्ने सतही वनस्पतिलाई नष्ट गरिदियो । यस बाढीका लागि विगत केही वर्षमा हामीले गरेको अव्यवस्थित डोजरे विकास केही हदसम्म जिम्मेवार छ । यो बाढीका लागि बर्सौंदेखि उठ्दै आएको नदी दोहनको विषय पनि पक्कै जिम्मेवार छ । कानुनको धज्जी उडाउँदै विगत लामो समयदेखि म्याग्दी, पर्वत र बागलुङका केही क्षेत्रमा अनियन्त्रित रूपमा बालुवा, गिट्टी तथा ढुङ्गा उत्खनन गरिँदै आएको छ । सयौँ वर्षदेखि स्थिर रूपमा रहेका र हाम्रो जमिनलाई थामेर बसेका ठुलठुला ढुङ्गासमेत डोजर लगाएर फोर्ने वा तिनलाई खलबलाउने काम भएको छ । जोखिमको कति पनि मूल्याङ्कन नगरी यस्ता उत्खनन भइरहेका छन् । त्यसैले हाम्रा नदीकिनारले आफ्नो रक्षा शक्ति गुमाएका छन् र बाढीबाट हाम्रा बस्ती जोखिममा पर्दै छन् । केही मानिसले आफ्नो स्वार्थपूर्तिका लागि नदी दोहनबाट कमाएको अकूत सम्पत्ति र पहुँचको प्रयोग गर्दै नदी दोहनलाई निरन्तरता दिइरहेका छन् । कानुनी राज्यको अवधारणालाई धज्जी उडाउँदै खुलेआम अपराध भइरहेको छ । केही व्यक्तिका कारण यो क्षेत्र नै खतरामा परेको छ । हालको विनाशकारी बाढीका लागि यसप्रकारको अवैध नदी दोहन पक्कै जिम्मेवार छ । यस कार्यलाई तत्काल रोक्न सकिएन भने अझै ठुला विपत्ति निम्त्याउने निश्चित छ ।

हालैको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर हेरिएन भने यसको विश्लेषण अधुरो हुन्छ । मुख्य कारण विश्वव्यापी तापक्रम वृद्धिले निम्त्याएको जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनले हाम्रो जलवायु चक्रमा प्रभाव पारेको छ र अनेक किसिमका प्रकोप निम्त्याएको छ । अत्यधिक कार्बन उत्सर्जन हो र विकसित देश यसका लागि जिम्मेवार छन् । यसमा नेपाल जस्ता कम विकसित देशको जिम्मेवारी नगण्य छ । कालीगण्डकी बाढीको उद्गमस्थल मुस्ताङ क्षेत्र हो । हालसम्म यो क्षेत्र कम पानी पर्ने क्षेत्रका रूपमा मानिन्छ । त्यसैले यस क्षेत्रको जमिन खुकुलो र बालुवाले भरिएको छ । विभिन्न समयमा पर्ने हिउँले नै यस क्षेत्रको पानीको उपलब्धतालाई सहयोग गर्ने गरेको छ तर जलवायु परिवर्तनका कारण यहाँको जलवायु चक्रमा प्रभाव पर्न गई वर्षा हुन थालेको छ । हालैको अतिवृष्टिको समयमा यहाँ हालसम्मकै ठुलो वर्षा भएको र त्यसले यहाँ रहेको बालुवा र ढुङ्गासहितको लेदोलाई ठुलो मात्रामा कालीगण्डकीसम्म पु¥याई यो बाढीको मुख्य कारकको भूमिका खेलेको देखिन्छ । अन्य स्थानमा परेको अति वर्षाका कारण पनि जलवायु परिवर्तन नै हो ।

सुस्त गतिमा हुने हिंसा

यी तीन वटै कारणलाई विद्वान् रोब निक्सनको ‘सुस्त गतिमा हुने हिंसा’ को दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । निक्सनले आफ्नो पुस्तक ‘स्लो भायोलेन्स, इन्भाइरोन्मेन्टलिजम अफ दी पुअर (२०११)’ मा जलवायु परिवर्तनको ढिलो गरी देखिने प्रभाव वा विध्वंसलाई सङ्केत गर्दै यसलाई ‘सुस्त गतिमा हुने हिंसा’ भनेका छन् । जस अनुसार प्रकृतिको विनाशसँग जोडिएको विनाश लामो समयको प्रक्रियाको उपज हुन्छ । विनाशकर्ता र विनाशबाट प्रभावित हुने व्यक्तिबिचको सम्बन्ध सुषुप्त हुन्छ । यस्तो हिंसामा विनाशको मुख्य कारक व्यक्ति त्यही विनाशकारी कामबाट प्राप्त धनको प्रयोग गरी सुरक्षित हुन्छ । जसको यो समस्यामा कुनै योगदान छैन तर तिनै ती निर्दोष गरिब प्रताडित हुनु पर्छ । चाहे त्यो मुस्ताङमा देखिएको वर्षा होस्, डोजरे विकासको क्षति होस् या नदीको दोहन होस, सबैमा अपराध गर्ने मानिस त्यस अपराधकर्मबाट प्राप्त धनको उपयोग गरी कतै सुरक्षित हुन्छन् । विकसित देश आफू सुरक्षित बनेका छन् । त्यस्तै डोजरे विकासका कारक तथा नदी दोहन गर्ने दोहनकर्ता सबै सहरमा घर बनाएर सुरक्षित छन् तर नदी तथा खोला किनारमा बस्ने गरिब तथा धेरै मात्रामा दलित यी र यस्तै प्रकोपका सिकार बन्नु परेको छ । यो वर्तमान समयको सबैभन्दा ठुलो अन्याय हो । यी र यस्तै अन्यायविरुद्ध विश्वमञ्चमा आवाज उठाउने एउटा अभियान जलवायु न्यायको अभियान हो ।

यसले प्रथमतः प्रकृतिको अनुचित शोषणको विरोध गर्दछ र त्यसलाई तत्काल रोक्न माग गर्दछ । त्यसैले हाल देखिएका प्रकोपको समाधान भनेको जलवायु न्यायको बाटो हो । यसले प्रकृतिको सही उपयोग, सहअस्तित्व, सहसम्बन्ध र आफूले नगरेको अपराधको पीडा भोग्न बाध्य देश तथा समुदायले पाउनुपर्ने सुरक्षा, क्षतिपूर्ति र नीति निर्माणमा सहभागिताका लागि जोड दिँदै प्रकृति र मानिसको सम्बन्धलाई आत्मीय बनाउने कुराको माग गर्छ । अत्यधिक कार्बन उत्सर्जन, नदी दोहन र डोजरे विकास जस्ता प्रकृतिमाथिको बर्बरताको अन्त्य र न्यायिक तथा दिगो उपयोग नै अबको सुरक्षित बाटो हो । यसका लागि हामी स्थानीय रूपमा सजग, राष्ट्रिय रूपमा सक्षम र अन्तर्राष्ट्रिय रूपमा न्यायका लागि खरो आवाज उठाउन तयार हुनु अति आवश्यक छ । अन्यथा हाम्रो समाजले अति ठुलो क्षति बेहोर्नुपर्ने देखिन्छ ।