• २०८३ कार्तिक १६, आईतवार
  • 2026 November 01, Sunday

संरक्षणको अभावमा ऐतिहासिक बलामकोट मासियो

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानामा रहेको ऐतिहासिक बलामकोट संरक्षणको अभावमा मासिँदै गएको छ । भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको भनिने बलामकोट दरबार संरक्षण नहुँदा भग्नावशेष समेत माटोमा पुरिएको छ ।

हाल बलामकोट क्षेत्रमा माटाका ढिस्का मात्रै देखिन्छन् । समयमै संरक्षण र उत्खनन् हुन नसक्दा ऐतिहासिक महत्त्व बोकेको यो स्थल लोप हुने अवस्थामा पुगेको छ । बाइसे–चौबीसे राज्यका पालामा बलामी नामका राजाले बलामकोटबाट राज्य सञ्चालन गरेको ऐतिहासिक किंवदन्ती छ । बलामकोटमा फैलिएको करिब तीन रोपनी जग्गामा खनजोत गर्ने क्रममा इँटा, दियो, ओखल तथा दरबारका अन्य भग्नावशेष फेला परेको स्थानीय राजन कार्कीले जानकारी दिनुभयो ।

बलामकोट दरबारबाट राज्य सञ्चालन गर्ने राजाले हतियार भण्डारणका लागि हाल सिगाना र रेशमा रहेका कोतघरको स्थान प्रयोग गर्ने गरेको बताइन्छ । सिगाना र रेशका कोतघर नजिकै बलामकोट रहेकाले उक्त स्थानमा दरबार रहेको पुष्टि हुने स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक स्थलको उत्खनन गरी भग्नावशेष सङ्कलन तथा संरक्षण गर्नुपर्ने स्थानीय कबिराज जिसीले बताउनुभयो । उहाँका अनुसार सिगानाबाट रेश, दमेकलगायतका स्थानमा समेत राज्य सञ्चालन भएको पाइएको छ ।
भुरेटाकुरे राजाले राज्य सञ्चालन गरेको स्थल, रानी तथा भूमे मन्दिर र कोतघरसँग सम्बन्धित ऐतिहासिक महत्व बोकेको बलामकोट भने ओझेलमा परेको छ । सिगाना कोतघर पुनर्निर्माण गरी आकर्षक बनाइए पनि त्यससँग जोडिएको बलामकोट भने संरक्षणको अभावमा मासिँदै गएको छ ।

बागलुङ नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले कोतघरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पुनर्निर्माण तथा संरक्षण गरिएको भए पनि बलामकोटको संरक्षण गर्न नसकिएको बताउनुभयो । बडादसैँका अवसरमा सिगाना कोतघरमा चहलपहल भएपनि कुनै समय राज्य सञ्चालन भएको बलामकोट भने सुनसान रहने गरेको छ । अहिले उक्त स्थान वनभोजस्थलका रूपमा प्रयोग हुन थालेको छ ।