• २०८३ कार्तिक १७, सोमबार
  • 2026 November 02, Monday

राजनीतिमा पुस्तान्तरणको माग, नेतृत्वमा पुरानैको पकड

  • २०८३ कार्तिक १७, सोमबार

सम्पादकीय । नेपाली राजनीतिमा अहिले पुस्तान्तरणको बहस केवल नयाँ पुस्ताको नेतृत्वमा दाबी गर्ने विषयमा सीमित छैन । यो राजनीतिक दलभित्रको शक्ति संरचना, नेतृत्व चयन प्रक्रिया र वर्षौंदेखि अभ्यास हुँदै आएको राजनीतिक संस्कार बदल्नुपर्ने मागसँग जोडिएको छ । जेनजी आन्दोलनपछि युवापुस्ताले उठाएको परिवर्तनको आवाजले यो बहसलाई थप पेचिलो बनाएको छ । तर विडम्बना, युवापुस्ताको माग मात्र होइन, पार्टीभित्र उनीहरूले खोजेको अर्थपूर्ण हस्तक्षेपलाई समेत स्थापित राजनीतिक नेतृत्व सहजै स्वीकार गर्न तयार देखिँदैन । राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ हुन् । जनताको आकाक्षा, विचार र परिवर्तनको चाहनालाई राज्य सञ्चालनसँग जोड्ने जिम्मेवारी दलहरूको हो । तर दलभित्रै नेतृत्व सीमित व्यक्तिको वरिपरि घुमिरहने, अवसर र निर्णयमा केही नेताको एकाधिकार रहने तथा नयाँ पुस्ताले नेतृत्वमा पुग्न वर्षौं कुर्नुपर्ने अवस्था लोकतान्त्रिक अभ्याससँग मेल खाँदैन । पार्टीको नेतृत्वलाई निजी सम्पत्तिजस्तो ठान्ने र आफूले चाहेपछि मात्र उत्तराधिकारी तयार गर्ने प्रवृत्तिले पुस्तान्तरणको बाटो अवरुद्ध गरेको छ । पुरानो पुस्ताको योगदानलाई अवमूल्यन गर्न मिल्दैन । २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणसम्म आइपुग्दा नेपाली राजनीतिले अनेकौँ उतारचढाव पार गरेको छ । यसमा पुरानो पुस्ताका नेताहरूको महत्वपूर्ण योगदान छ । उनीहरूको अनुभव, सङ्घर्ष र राजनीतिक ज्ञान नयाँ पुस्ताका लागि सिकाइका विषय हुन् । तर विगतको योगदानलाई वर्तमानमा अनिश्चितकालसम्म नेतृत्वमा रहिरहने आधार बनाउन मिल्दैन । इतिहासमा गरेको योगदानको सम्मान र वर्तमानमा नेतृत्वको निरन्तरता फरक विषय हुन् ।

जेनजी आन्दोलनले उठाएको एउटा महत्त्वपूर्ण प्रश्न यही हो,– राजनीतिक दल र राज्यका निर्णय प्रक्रियामा युवाको सहभागिता कहाँ छ ? परिवर्तनका लागि सडकमा उत्रिने युवा नेतृत्व चयन गर्ने ठाउँमा किन पुग्न सक्दैनन् ? दलका महाधिवेशनमा युवाको उपस्थिति देखिए पनि निर्णय गर्ने तहमा उनीहरूको प्रभाव किन कमजोर छ ? युवालाई चुनाव प्रचार, सभा र जुलुसमा परिचालन गर्ने तर नेतृत्वको अवसर दिने बेला अनुभवको अभाव देखाउने प्रवृत्तिले दलभित्रको पुस्तान्तरणलाई थप जटिल बनाएको छ । पुस्तान्तरणको मागलाई उमेरसँग मात्र जोडेर हेर्नु पनि उचित हुँदैन । नयाँ अनुहार आउँदैमा नयाँ सोच र राजनीतिक संस्कार स्थापित हुन्छ भन्ने छैन । पुरानै गुटबन्दी, व्यक्तिवाद, अवसरको वितरणमा पक्षपात र अपारदर्शी निर्णय प्रक्रिया नयाँ नेतृत्वले पनि निरन्तरता दियो भने त्यसलाई पुस्तान्तरण भन्न सकिँदैन । त्यसैले नेतृत्वमा युवा पुस्ताको प्रवेशसँगै विचार, कार्यशैली र राजनीतिक संस्कारमा समेत परिवर्तन आवश्यक छ ।

अर्कोतर्फ, पुराना नेताहरूले नयाँ पुस्तालाई अवसर दिनु भनेको आफ्नो अनुभव र योगदान समाप्त भएको ठान्नु हुँदैन । नेतृत्व हस्तान्तरणसँगै उनीहरूले मार्गदर्शन गर्ने, संस्थागत ज्ञान हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई जिम्मेवारी लिन सहयोग गर्ने वातावरण बनाउन सक्छन् । तर नेतृत्व छोड्नुपर्ने अवस्था आएपछि मात्र नयाँ पुस्ताको क्षमता, अनुभव र परिपक्कतामाथि प्रश्न उठाउनु परिवर्तनप्रतिको स्वाभाविक प्रतिरोध हो कि भन्ने प्रश्न उठ्छ । आजको आवश्यकता कुनै पुस्तालाई निषेध गर्ने होइन, नेतृत्वमा प्रतिस्पर्धा र अवसरको ढोका खुला गर्ने हो । पार्टीभित्र नियमित र निष्पक्ष नेतृत्व चयन, कार्यकालको स्पष्ट व्यवस्था, युवाको अर्थपूर्ण प्रतिनिधित्व, फरक मतको सम्मान र निर्णय प्रक्रियामा पारदर्शिता सुनिश्चित हुनुपर्छ । नयाँ पुस्ताले पनि उमेर र आन्दोलनको लोकप्रियताका आधारमा मात्र होइन, स्पष्ट विचार, नीति, क्षमता र जवाफदेहिताका आधारमा आफ्नो नेतृत्व स्थापित गर्न सक्नुपर्छ । अन्ततः पुस्तान्तरण कसैले कसैलाई दया गरेर दिने पद होइन, लोकतान्त्रिक अभ्यासबाट स्थापित हुने अधिकार र जिम्मेवारी हो । पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्छ भने नयाँ पुस्ताले नेतृत्व सम्हाल्ने क्षमता प्रमाणित गर्नुपर्छ । जेनजी आन्दोलनपछि उठेको परिवर्तनको आवाजलाई केवल असन्तुष्ट युवाको माग ठानेर बेवास्ता गर्ने हो भने राजनीतिक दल र नयाँ पुस्ताबीचको दूरी अझ बढ्न सक्छ । अबको प्रश्न को कति वर्षको भयो भन्ने होइन, कसले समयको आवश्यकता बुझ्छ, कसले जनताको अपेक्षा सम्बोधन गर्छ र कसले राजनीतिक संस्कार बदल्न सक्छ भन्ने हो । नेतृत्वको अनुहार मात्र होइन, सोच, शैली र संस्कारसमेत बदलिनु नै वास्तविक पुस्तान्तरण हो ।

  • २०८३ कार्तिक १७, सोमबार