• २०८३ कार्तिक १८, मंगलवार
  • 2026 November 03, Tuesday

नाग्लीवाङ सहकारीको नेतृत्व महतलाई, नयाँ सञ्चालक समितिले सम्हाल्यो जिम्मेवारी

  • २०८३ कार्तिक १८, मंगलवार

 

बागलुङ । पर्वतको जलजला गाउँपालिका–८, खनियाघाटस्थित नाग्लीवाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नेतृत्व सूर्यबहादुर महतले पाउनुभएको छ । संस्थाको नयाँ सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीले शपथ ग्रहण गरेसँगै निर्वाचित नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।

संस्थाको गत असोज २६ गते सम्पन्न १८औँ वार्षिक साधारणसभाले महतको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन भएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यलाई बिहीबार आयोजित कार्यक्रममा निर्वाचन मण्डलका संयोजक हरेमबहादुर खत्री र सदस्य मोहन जिसीले शपथ गराउनुभएको हो ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रत्नबहादुर केसी, सचिवमा विष्णु जिसी र कोषाध्यक्षमा गोकुलप्रसाद कँडेल चयन हुनुभएको छ । सहकारीको नयाँ सञ्चालक सदस्यहरुमा यमुना महत, विजुली जिसी, लक्ष्मी रोकाहा, राम प्रसाद सुवेदी र हिम बहादुर क्षत्री रहनुभएको छ । यस्तै सहकारीको लेखा तथा सुपरीवेक्षक समितको संयोजक ताराखर पाठक र सदस्यहरुमा रूद्र श्रेष्ठ र झलक बहादुर जिसी चयन हुनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा निर्वाचन मण्डलका संयोजक खत्रीले सर्वसम्मत रूपमा निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको संस्थागत विकास र सदस्यको हितमा जिम्मेवार भएर काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका प्रबन्धक रञ्जिता विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर महतले शपथ ग्रहणलाई पद तथा जिम्मेवारी प्राप्त गर्ने औपचारिकताका रूपमा मात्र नभई सम्पूर्ण शेयर सदस्यको विश्वास, भरोसा र अपेक्षालाई सम्मान गर्दै इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धताका रूपमा लिएको बताउनुभएको छ ।

सहकारी आर्थिक कारोबार गर्ने संस्था मात्र नभई आपसी विश्वास, एकता, सहयोग र सामूहिक समृद्धिको साझा अभियान भएको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगमा संस्थाको हित, उन्नति तथा सदस्यहरूको आर्थिक समृद्धिका लागि निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘पदभन्दा ठूलो जिम्मेवारी, जिम्मेवारीभन्दा ठूलो इमानदारी र सबैभन्दा ठूलो सदस्यहरूको विश्वास हो,’ अध्यक्ष महतले भन्नुभएको छ ।

  • २०८३ कार्तिक १८, मंगलवार