सम्पादकीय । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ संवाद र सहकार्यको ढोका खोलेको छ । विगतमा भारतसँगको सम्बन्धलाई राजनीतिक राष्ट्रवाद, आशंका र अविश्वासको दृष्टिले हेर्ने प्रवृत्तिबीच प्रधानमन्त्री शाहले विकास, पूर्वाधार, ऊर्जा, व्यापार र प्रविधिलाई प्राथमिकतामा राखेर भ्रमण गर्नु आफैँमा बदलिँदो कूटनीतिक शैलीको संकेत हो । तर, कूटनीतिक सम्बन्धमा देखिएको आत्मीयता र भएका सम्झौताकै आधारमा भ्रमणको सफलता मापन गर्न भने मिल्दैन । त्यसको वास्तविक मूल्याङ्कन राष्ट्रिय हितको संरक्षण र सहमति कार्यान्वयनबाट हुनेछ । करिब २५ घण्टाको दिल्ली बसाइमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरे । मोदीको आत्मीय स्वागत र प्रशंसाले नयाँ नेपाली नेतृत्वप्रति भारतको चासो र सम्बन्ध विस्तार गर्ने चाहना देखाएको छ । दुई देशबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर, संयुक्त दृष्टिपत्र जारी, विभिन्न पूर्वाधार आयोजनाको शिलान्यास तथा उद्घाटन र विकास सहायताको घोषणा भ्रमणका प्रमुख उपलब्धिका रूपमा प्रस्तुत भएका छन् । विशेषगरी बाढीपछिको पुनर्निर्माण र पूर्वाधारका लागि भारतले घोषणा गरेको २४ हजार करोड रुपैयाँको सहयोग महत्वपूर्ण छ । तर, यसमध्ये ५ हजार ६ सय करोड रुपैयाँ अनुदान र १८ हजार ४ सय करोड रुपैयाँ सहुलियतपूर्ण ऋण हो भन्ने तथ्य बिर्सनु हुँदैन । ऋणलाई अनुदानका रूपमा व्याख्या गरेर उपलब्धिको आकार ठूलो देखाउनु उचित हुँदैन । त्यसैगरी भैरहवा हुँदै आवतजावत गर्ने बी–३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति, कान्डला बन्दरगाहसम्म नेपालको पहुँच, पारादीप बन्दरगाह प्रयोगको सम्भावना, पेट्रोलियम पाइपलाइन, जलविद्युत् र सीमापार व्यापार पूर्वाधारसम्बन्धी सहमतिले नेपालको आर्थिक गतिविधि विस्तार गर्ने सम्भावना बोकेका छन् ।
अझ प्रविधि, डिजिटल सेवा, स्वास्थ्य, शिक्षा, अनुसन्धान, अन्तरिक्ष सञ्चार र नवप्रवर्तनका क्षेत्रमा भएको सहकार्यले नेपाल–भारत सम्बन्धलाई परम्परागत विकास साझेदारीबाट नयाँ आयाममा लैजाने आधार तयार गरेको छ । अयोध्या–जनकपुर रेलसेवा र धार्मिक पर्यटनको विस्तारले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई आर्थिक अवसरसँग जोड्न सक्छ । तर, यी सबै सहमतिको प्रतिफल नेपाली किसान, युवा, विद्यार्थी, उद्यमी र सर्वसाधारणले कहिले र कसरी पाउँछन् भन्ने प्रश्न महत्वपूर्ण छ । अर्कोतर्फ, भ्रमणले सम्बोधन गर्न नसकेका विषय पनि उत्तिकै महत्त्वपूर्ण छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा विवादमा ठोस प्रगति देखिएन । सन् १९५० को सन्धि पुनरावलोकन गर्ने सम्भावनाको चर्चा भए पनि प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय अघि बढ्न सकेन । पञ्चेश्वर आयोजनाको लाभ बाँडफाँट, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच र व्यापार असन्तुलनजस्ता विषय पनि अपेक्षित रूपमा सम्बोधन हुन सकेनन् ।
प्रधानमन्त्री शाहले विगतमा राष्ट्रियताको विषयमा प्रस्तुत गरेका अभिव्यक्ति र अडानका कारण पनि यी विषयमा जनताको अपेक्षा स्वाभाविक रूपमा बढी थियो । भ्रमणअघि राष्ट्रपति, संसद् र प्रमुख राजनीतिक दलहरूसँग पर्याप्त परामर्श नभएको भन्दै विपक्षी दलहरूले उठाएको प्रश्नलाई पनि सामान्य रूपमा लिन मिल्दैन । परराष्ट्र नीति कुनै एक दल वा प्रधानमन्त्रीको निजी विषय होइन । छिमेकी मुलुकसँग गरिने महत्त्वपूर्ण सहमति र राष्ट्रिय सरोकारका विषयमा साझा राष्ट्रिय दृष्टिकोण आवश्यक हुन्छ । नेपाल–भारत सम्बन्धमा विगतदेखि नै सहमति र सम्झौताको कमी छैन, कमी छ तिनको प्रभावकारी कार्यान्वयनमा । त्यसैले प्रधानमन्त्री शाहले दिल्लीबाट ल्याएका दस्तावेज र प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान समयसीमा, जिम्मेवार निकाय र नियमित अनुगमनको व्यवस्था गर्नुपर्छ । भारतसँगको सम्बन्ध न अनावश्यक विरोधबाट बलियो हुन्छ, न अन्धसमर्थनबाट । समानता, पारस्परिक सम्मान र राष्ट्रिय हितमा आधारित व्यवहारिक कूटनीति नै नेपालको आवश्यकता हो । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विकास साझेदारीको सम्भावना देखाएको छ । तर, कूटनीतिक अंकमालभन्दा राष्ट्रिय हितका मुद्दामा प्राप्त उपलब्धि महत्त्वपूर्ण हुन्छन् । भारतसँगको आत्मीयता कायम राख्दै नेपालको सार्वभौमसत्ता, सीमा, आर्थिक स्वाधीनता र जनताको हितमा दृढ रहन सक्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ । भ्रमणको मूल्याङ्कन अब दिल्लीमा भएको स्वागत र हस्ताक्षरबाट होइन, त्यसको परिणाम नेपाली नागरिकको जीवनमा कति देखिन्छ भन्ने आधारमा हुनुपर्छ ।