• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

‘नागरिकको अवस्था फेर्न जेन्जी आन्दोलन हो’

बागलुङ । जेन्जी समुह बागलुङले व्यवस्था फेर्न नभइ नागरिकको अवस्था बदल्न आन्दोलन गरेको बताएका छन् । शनिबार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी भ्रष्टाचार र बेथितीबाट आक्रान्त बनेका नागरिकको अवस्था परिवर्तनका लागि जेन्जी आन्दोलन उठेको उनीहरुले बताए ।

‘यो देशको व्यवस्था र संविधान उल्ट्याउनका लागि नभई देशको भविष्य बदल्नका लागि आन्दोलनमा होमिएका हौं,’उनीहरुले भने,‘हामी जन्मनु भन्दा अगाडि सत्तामा पुगेका व्यक्तिहरुले यो देश लुटेर कंगाल बनाउने काम गरे । यो देश बर्बाद हुनुमा हाम्रो पुस्ताको कुनै हात छैन तर सबै भन्दा धेरै यसको मार हाम्रै पुस्ताले व्यहोर्नुप¥यो । त्यसका विरुद्ध हाम्रो आन्दोलन हो ।’

जेन्जी आन्दोलनका अगुवा अभिषेक कटुवालले जेन्जी पुस्ता देशको भविष्य निर्माण गर्ने पिढीँ भएको उल्लेख गर्दै भ्रष्टाचार निवारण, सुशासन, समान अवसर र दिगो विकासका लागि जेन्जी पुस्ताले विद्रोह गरेको बताउनुभयो ।

उहाँले पुरानो पुस्ताले गरेको गलत कामको परिणाम जेन्जी पुस्ताले भोग्नुपरेको सुनाउनुभयो । कटुवालले संविधान र लोकतन्त्रप्रति जेन्जी पुस्ता प्रतिबद्ध रहेको बताउनुभयो । जेन्जीको माग अनुसार बनेको नयाँ सरकारले घोषणा गरेको निर्वाचन सफल पार्न सबै पक्षको सहयोग चाहिने उहाँको भनाइ छ ।

देशमा मौलाएको भ्रष्टचार, बेथिति र असमानताका विरुद्ध जेन्जी युवाले गरेको आन्दोलन सफल भएसँगै देशले नयाँ बाटो लिएको कटुवालले बताउनुभयो । ‘
अर्का जेन्जी युवा रोहन भण्डारीले जिल्लामा जेन्जी आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो ।

जेन्जीले मात्र सुरु गरेको आन्दोलनमा नागरिक समर्थन प्राप्त भएको र त्यो नागरिकको समझदारी, सहभागिता र सहयोगले मात्र सम्भव भएको उल्लेख गर्नुभयो । जेन्जी बागलुङले जिल्लामा भएको आन्दोलनलाई जिम्मेवार र शान्तिपूर्ण बनाउन सहयोग गर्ने बागलुङवासी जनसमुदाय, सरोकारवाला निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई विज्ञप्तिमार्फत आभार व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन जेन्जी अभियन्ता कमल कँडेलले गरेका थिए ।