सम्पादकीय
भाद्र २३ र २४ को जेनजी आन्दोलन पश्चात मुलुक जटिल संकटमा फस्यो । अहिले यस आन्दोलनका क्रममा देशभरमा ७२ जनाको ज्यान गइसकेको समाचार सार्वजनिक छ । अर्बौ रकमको क्षति हुने गरी मुलुकको शासकीय केन्द्र रहेको सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी, सार्वजनिक र निजी सम्पत्ति माथि आगजनी, तोडफोड र लुटपाट गरिएको छ । २७ घण्टा लामो सडक आन्दोलन र त्यसपश्चातको ६९ घण्टा नेपाल र नेपालीका लागि निकै कष्टप्रद र सकसपूर्ण रह्यो । घटना उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पश्चात रिक्तता सिर्जना भइसकेको थियो । त्यो सँगै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरुलाई नेपाली सेनाले सुरक्षाको कारण देखाउँदै आफ्नो नियन्त्रण र घेरामा राख्यो या अर्को भाषामा भन्दा अघोषित नजरबन्दमा । उनीहरु मात्रै होइन, राष्ट्रपति रामचन्द्र पौडेल समेत सेनाकै नजरबन्दमा रहेको चर्चा सहित खोजी गरियो । कारण प्रधानसेनापतिले जेनजी र अरु स्टेकहोल्डरसँग प्रधानमन्त्री चयनका लागि वार्ता र छलफल गरिरहे । अन्ततः राष्ट्रपति पौडेल नै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाए ।
अन्तरिम सरकार बनाउने विषयमा राष्ट्रपति, जेनजी समूह र प्रधानमन्त्रीमा प्रस्तावित शुशिला कार्की बिच सहमति जुट्न सकेन । मुख्यतः जेनजीको संसद विघटन गर्नुपर्ने मागमा राष्ट्रपति र कार्की बिच कसले गर्ने भन्ने विषयमा विवाद भयो । अन्ततः राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने र कार्कीले संसद विघटन गर्ने पहिलो निर्णय सहित पेश र स्वीकृत गर्ने सहमतिबाट मुलुकले अनेकन भय, अड्कलबाजी र सन्त्रासका बाबजुद तत्कालका लागि निकास पायो । भलै प्रतिनिधि सभा विघटन भए पनि धरापमा परिसकेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगियो । यही जगमा अब ६ महिना भित्र देश चुनावमा जाने भएको छ । यद्यपि, निर्धारित समयमै चुनाव हुनेमा अहिले नै मानिसहरुमा ठुलो संशय छ । प्रधानमन्त्री चयन भएर सरकारले क्रमशः अब पूर्णता पाउँदै जाला । तर, मुलुक अत्यन्त कठिन अवस्थामा छ । संघीय राजधानी, प्रदेश राजधानीहरु हेर्दा देश खरानीमा उभिएको आभाष हुन्छ । आन्दोलनका क्रममा गरिएका आगजनी, लुटपाटका दृश्यहरुले देशमा नागरिक चेत, जागरण, जिम्मेवारी र दरिद्रता कुन स्तरको रहेछ ? लज्जाजनक अनुभूति हुन्छ ।
देश अप्ठ्यारो अवस्थामा छ । फेरि पनि निराश भएर बसिरहने छुट भने छैन । अन्तरिम सरकारको मुख्य जिम्मेवार निर्वाचन गराउने त हो नै, भग्नाबशेष भौतिक संरचना आगजनी, तोडफोड र लुटपाट गर्नेलाई कानुनी कारबाहीका साथै क्षतिग्रस्त संरचना कसरी उठाउने भन्ने चुस्त योजना र कामको शुरुवात पनि अपरिहार्य छ । जेनजीले उठाएका २०४७ यताका भ्रष्टाचारहरुको निश्पक्ष छानविन पनि अघि बढाउनु पर्दछ । यो सँगै यसबेला वर्षौदेखि राज गरिरहेका राजनीतिक दल, नागरिक पनि अत्यन्त संयमित र जिम्मेवार बन्न आवश्यक छ । आज नेपाल प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड र आक्रमणका कारण हातहतियार, पोशाक विहीन अवस्थामा छन्, उनीहरु नियमित ड्युटीमा जान पनि कठिन परिस्थिति छ । अर्कोतर्फ आन्दोलनको भिडमा आपराधिक कार्यमा जेल परेकाहरु कारागारबाट भागेर हजारौं कैदीबन्दीहरु छरपष्ट भएका छन् । यसबेलामा लुटपाट र अपराधजन्य घटनाहरु बढ्ने खतरा छ । जेनजीहरु अहिले बिभिन्न समूहमा बिभाजित हुन थालिसकेका छन् । जेनजी आन्दोलनबाट किनार लगाइएका पुराना राजनीतिक दल र तिनका नेताहरु फेरी सल्बलाउन थालेका छन् । आरोप प्रत्यारोपको राजनीति शुरु भइसकेको छ । नागरिक पनि बेइमान, चोर बन्न नपाउँदा सम्मको मात्र इमान्दार जस्तो अहिलेको आन्दोलन र घटनाहरुबाट देखिन थालेको छ । अतः मुलुकको अहिलेको कठिन घडीमा सरकार र हामी सबै राष्ट्रको सर्वोपरी हित, राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि यतिबेला सबै सचेत, संयमित र जिम्मेवार बनौ ।
