समाचार टिप्पणी
मुलुक निर्माणमा आशा गर्ने राजनीतिक दलहरु नै हुन् । लोकतान्त्रिक पद्धती अपनाएर जनतामा आशा जगाउने, विकास निर्माण गर्ने दलहरुबीचको किचलोका कारण आज मुलुक अलमलिएको अवस्था छ । दलहरु सच्चिएनन्, दलका नेताहरुले जनताको भावना, कार्यकर्ताको चाहना र सिंगो मुलुकको उन्नतीमा ध्यान दिएनन् भनेर जनताका तर्फबाट पटक पटक दवाव, विरोध र आन्दोलन भएका छन ।
पछिल्लो पटक जेन जी (नवयुवाहरु) को आन्दोलनले २ दिनमा सत्ता परिवर्तन गरिदियो ? २०८४ सम्मै संगै जाने, त्यसपछि पनि यही गठबन्धनको सरकार बन्छ, सम्म भनेका मुख्य दुइ दललाई मात्र होइन, सम्पूर्ण दलहरु, आम जनताले नपत्याउने गरी जेन जी आन्दोलनले परिवर्तन गरिदियो । यद्यपी आन्दोलनमा घुसपैठ भएको, विदेशीको हात रहेको लगायतका विषय चर्चामा छन् । आन्दोलनको समग्र अवस्था क्रमश खुल्दै जाला । आन्दोलनबाट मुलुकको लोकतान्त्रिक आन्दोलनका दुइ ठुला दलको गठबन्धनमा बनेको शक्तिशाली सरकार मात्रै परिवर्तन भएन, ७२ जना युवाको ज्यान गयो, ऐतिहासिक सम्पदा, सर्वोच्च अदालत सहित देशभरमा थुप्रै भौतिक सम्पत्ती क्षति भयो ।
यत्रो विध्वश हुदा त दलका नेताहरुको मति ठेगानमा आयो कि ? भन्ने आशा जनताले गरेका छन् । दलको विकल्प दल नै हो, दलहरु सुधारिनुको विकल्प छैन भन्नेमा जनता सचेत छन् । तर अझै पनि दलका नेताहरु सुध्रनुको सट्टा दोष अरुलाई लगाएर आफु चोखो बन्ने ध्याउन्नमा रहेको लुकेको छैन । यही मौकामा पार्टी कब्जा गर्ने ध्याउन्नमा पनि नेताहरु लागेको देखिन्छ । दलका नेताहरुका गतिविधि, बोलीचाली र व्यवहार हेर्दा सच्चिएको अनुभूति भएको देखिदैन । नवयुवाहरुले चाहेको जस्तो पार्टीमा पुस्तान्तरण हुने, नयाँ पुस्ताले पार्टी र सरकारको नेतृत्व लिने अवस्थामा सुधार हुन्छ भन्ने अपेक्षा पुरा हुने संभावना तत्कालका लागि देखिदैन । पार्टीहरुमा गुट बढी हावी भयो, गुटमा लागेको आधारमा र गुटमा आफ्नो शक्ति भएको बेला आफ्नो गुटको सामान्य मान्छे धेरै माथि जाने र निरन्तर दुख गरेका नेता कार्यकर्ता छायामा पर्ने विगत आम जनताका अगाडि छर्लङ्ग नै छ ।
गुट, उपगुट र नेताका चाकडी, जिउ हजुरी, खर्च पर्चको समेत व्यवस्थापन गरिदिने परम्परा अब कम्तिमा हट्छ कि ? भन्ने आम कार्यकर्ताहरुमा आशा जागेको थियो । तर अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो देखिदैन ? यसै क्रममा नेकपा एमाले गण्डकी प्रदेश अन्तरगतको एउटा दौडधुपले गुट अझै सल्बलाएको हो कि ? भन्ने देखिएको छ ।
जेन जी आन्दोलन पछि आन्दोलनका क्रममा पार्टीका जिल्ला तथा पालिका कार्यालय र नेताहरुका घरमा भएको क्षतिको अवलोकनका नाममा दुइ गुटको दौडधुप हेर्न लायक छ ।

यद्यपी पार्टीको अवस्था बारे नेताहरु हिड्नुलाई अन्यथा लिनु हुदैन । तर यस्तो बेलामा प्रदेश कमिटि, केन्द्रीय नेताहरु सबै मिलेर हिड्दा नै राम्रो हुन्थ्यो भन्ने कार्यकर्ताहरुको चाहना देखिन्छ । जेन जी आन्दोलनबाट पार्टी कार्यालयहरुमा भएको क्षतिका बारेमा अवलोकन गरी यथार्थ अवस्थाका बारेमा जानकारी लिने तथा नेता कार्यकर्ताहरुलाई सान्त्वना दिने, उनीहरुको मनोबल उच्च बनाउन उत्प्रेरित गर्ने भन्दै प्रदेश कमिटिका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङ नेतृत्वको टोलीले प्रदेशका विभिन्न जिल्ला कार्यालयहरुसंगै नेताहरुको घरमा भएको क्षतिको विवरण संकलन गर्ने अभियान चलायो ।
पार्टी नेतृत्वको निर्देशनमा होइन, प्रदेश कार्यालयले कम्तिमा जिल्लाको अवस्थाका बारेमा बुझेर यथार्थ जानकारी लिने, नेता कार्यकर्ताहरुको मनोवल उठाउने उदेश्यका साथ अभियान सञ्चालन गरिएको टोलीका एक सदस्यले बताए । प्रदेश कमिटिले मातहतका कमिटिहरुको अवस्था पहिचान गरी जानकारी लिने कुरा स्वभाविक भएको ति सदस्यको भनाइ छ । कार्यवाहक अध्यक्ष गुरुङ, प्रदेश सचिव धनञ्जय दवाडी, प्रदेश कमिटि सदस्य तथा पर्वतका पूर्व अध्यक्ष राजु पौडेल सहितको टोलीले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा र तनहुँमा जिल्ला कार्यालयसंगै नेताहरुको घर तोडफोड र आगजनीका विषयमा जानकारी लिएको थियो ।
एमालेको गण्डकी प्रदेशको प्रथम अधिवेशनमा पृथ्वीसुब्बा गुरुङ गुटबाट विजयी भएका उपाध्यक्ष (हाल कार्यवाहक अध्यक्ष), सचिव र प्रदेश कमिटिका सदस्यहरुले जिल्ला कार्यालयहरुको अनुगमन गरेको जानकारी शुक्रवार स्थायी कमिटि सदस्य तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले पाए । शुक्रवार प्रदेश कार्यालय पुगेका अधिकारीलाई प्रदेशका पदाधिकारीहरुले अवलोकनका बारेमा जानकारी गराएका थिए । प्रदेश पदाधिकारीहरुले अवलोकनका बारेमा जानकारी गराएको भोली पल्ट जिल्ला कार्यालयहरुको क्षतिग्रस्त अवस्था बारे बुझ्न प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई लिएर नेता अधिकारी धौलागिरी हान्निए ।
प्रदेश पदाधिकारीहरुले सबै कुरा जानकारी गराएपछि यसरी दौडनुको पछाडि के रहस्य छ ? बुझ्न नसकिएको एक सदस्यले बताए । सबै जानकारी गराएपछि उहाँ आफै हिड्नुका पछि प्रदेश कमिटिलाई विश्वास नगरेको वा आफु बिनाको अवलोकनको अर्थ नभएको निष्कर्ष निकाल्न सकिने ति सदस्यको भनाई छ । अधिकारी र पाठकले पर्वतमा जिल्ला पार्टी कार्यालयसंगै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदम गिरीको क्षतिग्रस्त घरको अवलोकन गरे । बागलुङ र म्याग्दीमा पुगेर जिल्ला कार्यालयको अवलोकन गर्नुका साथै जिल्लामा रहेका नेताहरुसंग छलफल गरेका थिए । पार्टीको प्रदेश कमिटिले भदौ २६ गतेदेखि निरन्तर जिल्लाहरुको अवलोकन गर्दै आएको छ । प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य किरण गुरुङ काठमाडौंमै रहेका तथा अध्यक्ष नवराज शर्मा छोरा विरामी भएका कारण छोराको उपचारमा रहेकोले कार्यवाहक अध्यक्ष गुरुङको नेतृत्व टोलीले अवलोकनको योजना बनाएको थियो ।
आफु प्रदेश राजधानी पोखरामै रहेको अवस्थामा पनि प्रदेश कमिटिले वेवास्ता गरेको अनुभूति भएर होला ? प्रदेश पदाधिकारीले सबै जानकारी गराएपछि पनि अधिकारी पुन ः जिल्ला दौडाहा गरेको हुन सक्ने प्रदेश कमिटिका एक सदस्यले बताए । पार्टीमा गुट सक्कियो कि ? भनेको अझै गुटका छिटाहरु देखिदै आएका छन् । अधिकारीलाई पार्टीका महासचिव शंकर पोखरेलको बलियो साथ रहेको ति सदस्यले बताए । पृथ्वीसुव्वा गुरुङ जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा नदेखिए पनि उनी समर्थक प्रदेश कमिटिले खगराजलाई वेवास्ता गरेकै कारण अवलोकनमा प्रतिस्पर्धा देखिएको हुन सक्ने ति सदस्यको भनाइ छ । यद्यपी उनले पार्टीका नेताहरुले कार्यकर्ता भेट्ने, क्षतिग्रस्त कार्यालयको अवलोकन गर्ने कुरालाई अन्यथा लिन नहुने बताउछन् । यस्तो बेलामा सबै एकतावद्ध भएर हिड्दा कार्यकर्तामा पनि उत्साह आउथ्यो ? छुट्टा छुट्टै जाने कुरालाई पनि नकरात्मक रुपमा नलिदा राम्रो हुन्छ, उनले भने ।
गण्डकीमा एमालेका दुइ गुट छन्, भन्ने कुरा आम नेता कार्यकर्ता र आम समुदायलाई थाहा भएकै विषय हो । एउटा गुटको अगुवाई पार्टीका उपमहासचिव तथा निवर्तमान सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङ र अर्को गुटको अगुवाई स्थायी कमिटि सदस्य, पूर्व गृहमन्त्री खगराज अधिकारीले गरेका छन् । उनीहरु दुवै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् । दुई गुटको लडाई विगत केही वर्षदेखि नेता कार्यकर्ताले मज्जैले महसुस गरेका छन् । प्रदेश कमिटिको प्रथम अधिवेशन होस् वा विभिन्न जिल्ला र पालिका अधिवेशनमा होस्, पार्टीका नेताहरुले गुटगत रुपमै गतिविधि गर्दै आएका छन् । कही गुरुङको गुट बलियो छ, कतै अधिकारीको गुटले जितेको अवस्था छ ।
विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय भएसंगै गुरुङ र अधिकारी एक ठाउँमा भएको चर्चा चलेको थियो । अधिकारीले नै दुइजनाको फोटो पोष्ट गरेपछि धेरैले अब दुइ जना एक ठाउँमा उभिए भन्ने अड्कल काटेका थिए ।
केन्द्रमा अझै १० वर्ष केपी शर्मा ओलीको विकल्प छैन, अरुले ताउर माउर गर्ने होइन भन्ने यि दुवै नेता तल भने आफ्नो गुट बलियो बनाउन निरन्तर सक्रिय छन् ।
एमालेमा गत असार १४ गतेसम्म केन्द्रमा गुट थिएन, केपी ओली निर्विकल्प अध्यक्षका रुपमा रहेका थिए । असार १४ गते मदन भण्डारीको जन्म जयन्ती पारेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने घोषणा गरेसंगै गुटका गतिविधि बढेका छन् । विद्यादेवीलाई रोक्नका लागि केन्द्रीय कमिटिले भण्डारीको सदस्यता नविकरण नगर्ने निर्णय गरेसंगै एमालेमा आन्तरिक संघर्ष बढेर गएको छ । विद्यादेवीलाई राजनीतिमा आउन दिनु हुदैन भन्ने पक्षमा दृढता पूर्वक उभिएका अधिकारी र ओलीको विकल्प विद्या होइन भन्दै मौन बसेका गुरुङबीचको लडाई पुन शुरु भएको हो कि ? भन्ने आशंका कार्यकर्ताहरुले गर्न थालेका छन् । भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्थालाई हटाएपछि ११ औं महाधिवेशनबाट ओली निर्विकल्प अध्यक्ष हुने बाटो खुुलेको थियो ।
पार्टीमा शक्तिशाली बन्दै गएका ओलीलाई भण्डारीको आगमनले चुनौती सिर्जना गरेको थियो । जेन जी आन्दोलनका कारण सत्ता गुमेपछि र पार्टी भित्रै नेतृत्व परिवर्तनको आवाज उठ्न थालेपछि ११ औ महाधिवेशन अलि प्रतिस्पर्धात्मक हुने अड्कल हुन थालेको छ । ओलीको विकल्प नयाँ भन्ने अभियान भुसको आगो झै दिन प्रतिदिन बढ्दै गएको छ । २०४६ सालको परिवर्तन पछि निरन्तर चुनाव, सत्ता र पार्टीको नेतृत्वमा रहेका नेताहरु सक्रिय राजनीतिबाट बाहिर बसेर जेन जी आन्दोलनको भावना अनुसार नव युवाहरुलाई राजनीतिमा ल्याउनका लागि संयोजन गर्नु पर्ने माग एमालेका युवाहरुको रहेको छ ।