सम्पादकीय
नेपालीहरूको महान् चाड दसैँ अर्थात् बिजया दशमी सम्मुखमा छ । आफ्ना मान्यजनबाट टीका र आर्शिवाद ग्रहण गर्ने दिन नजिकिँदै गर्दा देश विदेशबाट आफ्नो जन्मभूमि पुग्ने नेपालीहरुको संख्या बढ्दो छ । काठमाडौंबाट पनि लाखौं मानिसहरु घर तर्फ लागिसकेका छन् । दसैँको समयमा काठमाडौंबाट बाहिर जाने मानिसको संख्या अत्यधिक हुन्छ । यो चाडमा एक साताको अन्तरालमा करिब १५ लाख मानिस काठमाडौंबाट बाहिरिने गर्दछन् । संघीय, प्रदेश र जिल्लाका राजधानी, मुख्य शहर, मुकामहरुमा कर्मथलो, पेशा व्यवसाय गर्नेहरु पनि अब गाउँ घर तर्फ लाग्ने क्रम बढ्न थालेको छ । तर, यसरी यात्रा गर्न सार्वजनिक सवारी साधनमा निकै सकसको अवस्थामा छ । गाडी नपाउने समस्या, पाए पनि ओभरलोड लगायतका कारण यात्रा असुरक्षित हुने गर्दछ । जसका कारण दसैँ मनाउन हिँडेका कैयन व्यक्ति दुर्घटनामा परेर अमूल्य ज्यान समेत गुमाउनु परेको दुर्भाग्यपूर्ण अवस्था बिद्यमान छ ।
दसैँको आगमनसँगै केही दिन अघि नै गन्तव्य तर्फ हिँडेका यात्रु काठमाडौं–मुग्लिन, मुग्लिन–नाराणगढ लगायतका मुख्य राजमार्ग अवरुद्ध चरम सास्ती र सकस बेहोर्न बिबश भए । ७० घण्टा भन्दा बढी सडकमै व्यतित गर्न बाध्य भए । यता सरकार भर्खर फेरिएको अवस्था छ । मुलुक अत्यन्त संकटको अवस्थाबाट विस्तारै लय उन्मुख भए पनि अझै दुर्घटना र खतरा टरिसकेको छैन । यसबेलामा धेरै कोणबाट यात्रामा सरकार,सरोकारवाला र सम्बन्धित यात्रुले नै विशेष ध्यान दिनुपर्ने अवस्था छ । चाडपर्वको समयमा सडकमा हुने अवरोध, खाल्डाखुल्डी पुर्ने, सरसफाइ गर्ने लगायतका कार्य त देखिएको छ । तर, यो भन्दा बढी यात्रुको चापलाई मध्यनजर गर्दै सडकको अवस्था, सवारी साधनको उपलब्धता, भाडादर र सुरक्षाका विषयमा राज्यका निकायले विशेषतः ध्यान केन्द्रित गर्नुपर्छ । यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरीले विशेष नियमन, निगरानी र यात्रुहरूलाई संयमित भएर नियम पालना गराउनु पर्छ । साथै, यस कार्यमा सबै निकाय र नागरिकको साथ अपरिहार्य रहन्छ ।
एक त यसवर्षको दशंै झरीमय हुने आँकलन छ । केही दिन यता देशका बिभिन्न स्थानमा भइरहेको वर्षाले त्यो संकेत पनि गरिरहेको छ । अर्को भनेको नेपालको भौगोलिक जटिलता र सडकको दुरावस्था हो । जुन सडकमा अरु बेला पनि सडकमा सवारी सञ्चालन जोखिमपूर्ण रुपमा भइरहेका हुन्छन् । अहिले सञ्चालनमा आएका सार्वजनिक बसले दैनिक ४०–५० हजार यात्रु लिएर जान सक्छ, तर माग दिनमा लाखौंको हुन्छ । यसले गर्दा यात्रुहरूले लामो समय उभिएर, ओभरलोड गरिएको गाडीमा बाध्य भएर यात्रा गर्नुपर्छ । यसले यात्रा असुविधाजनक र असुरक्षित बनाउँछ, दुर्घटना निम्त्याउँछ । यसका लागि सुरक्षित सवारी जाँच सुनिश्चित गर्नु पर्दछ । फूलपातीदेखि विदाको अवधिमा यात्रुहरूलाई व्यवस्थित रुपमा गन्तव्यमा पठाउने योजना बनाउन आवश्यक छ । अन्यथा, पविार, साथीसंगी, आफन्तसँग रमाइलो मान्न जाने क्रममा अप्रिय सडक दुर्घटनाले मानसिक तनाव मात्र होइन, ज्यानै लिने खतरा तर्फ सबै सचेत र संवेदनशील बन्न जरुरी छ ।
