• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

गाउँबाट बजार झरेर तरकारी खेती : नौं लाख आम्दानी

 बागलुङ / बागलुङको घम्जा घर भएका गणेश छन्त्याल र कला छन्त्याल बागलुङ बजारमा तरकारी उत्पादन गर्न व्यस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखामा छन्त्याल दम्पतीले पाँच वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै मनग्य आम्दानी समेत गर्दै आउनुभएको छ । पाँच रोपनी जग्गा भाडामा लिएर छन्त्याल दम्पतीले बेमौसमी तरकारी तथा तरकारीका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । जग्गाको वार्षिक ५९ हजार भाडा तिरेर उनिहरुले तरकारी खेती गर्दै आएका छन् ।

वर्खामा समेत छन्त्याल दम्पतीको ‘छन्त्याल कृषि फर्म’मा बन्दा फलेका छन् भने टमाटर टिप्न भ्याइनभ्याइ छ । काठेखोला गाउँपालिका–३ धम्जाबाट १५ वर्ष अघि बागलुङ बजार झर्नुको कला छन्त्यालले यस अघि धागो उत्पादन गर्दै आउनुभएको थियो । श्रीमान गणेश छन्त्याल भारतीय सेनाबाट अवकाश भएपछि श्रीमान–श्रीमती मिलेर कृषि कर्ममा लाग्नुभएको हो । बागलुङको बजार भित्र पाँच वटा प्लाष्टिक टनेलमा बेमैसमी तरकारी, काउली, बन्दा तथा प्याजका बिरुवा उत्पादन गरेर बिक्रि गर्दै आउनुभएको छ । “श्रीमानको पेन्सनले छोरी पढाउन सघाउछ, पहिला धागो उद्योग चलाउथे, श्रीमान अवकास भएर आएपछि सात लाख लगानीमा कृषि फर्म खोलेका थियौ, अधिकांश तरकारी फर्मबाटै बिक्री हुन्छ” कला छन्त्यालले भन्नुभयो “फर्मबाट बार्षिक नौलाख बढी आम्दानी हुन्छ भने तीन लाख सम्म खर्च भएको छ, बचत भएको रकमले घर खर्च संगै छोराछोरीको पढाईमा लागानी भइरहेको छ ।”

अहिले पाँचवटा प्लास्टिक टनेलमा काउली, ब्रोकाउली, बन्दा, टमाटर लगायत बेमौसमी तरकारी उत्पादन तथा बिक्रि भइरहेको छ । अहिले ‘सरिता’ जातको टमाटरको याम रहेकाले दिनमै १२५ केजीसम्म टमाटर बिक्री गरिरहेको बताउनुभयो । टमाटरलाई प्रतिकेजी रु.७० का दरले बिक्री गर्दै आएको छन्त्यालको भनाई छ । एक छोरा र एक छोरी रहेका छन्त्याल दम्पतीले छोरीलाई उच्च शिक्षा दिदै आउनुभएको छ भने छोरालाई बैदेशिक रोजगारीका लागि पठाउने तयारी गर्नुभएको छ ।

गणेश छन्त्यालले कृषि पेशामा खट्न सक्नेले राम्रो आम्दानी गर्ने बताउनुभयो । बजारमा कौशी खेतीका रुपमा काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरेर बिक्रि गर्दा राम्रो नाफा हुने बताउनुहुन्छ । “बेमौसकी तरकारीको मुल्य बढी छ, बजारमै कृषि फर्म भएकाले बजारको चिन्ता छैन, ढुवानी खर्च लाग्दैन” गणेश छन्त्यालले भन्नुभयो “भारतीय सेनाको जागिरको कमाईले बजारमा घर बनाएका छौं, छोराछोरी पढाउन कृषि पेशाले सघाएको छ ।” छन्त्यालले कृषि ज्ञान केन्द्र बागलुङबाट गत वर्ष एउटा प्लाष्टिक टनेलका लागि आवश्यक प्लाष्टिक अनुदानमा पाएको बताउनुभयो ।