बागलुङ / जिल्लामा डेङ्गी संक्रमणको संख्या ह्वातै बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेङ्गी संक्रमण बढेर २५७ पुगेको छ । डेङ्गी बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ ।
डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि बागलुङमा सोमबारदेखि ‘खोज तथा नष्ट’ अभियान सुरू गरिएको छ । जिल्लामा डेङ्गी संक्रमितको संख्या बढेपछि समुदायमा सचेतना फैलाउदै खोज र नष्ट गर अभियान थालिएको हो । गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार खोज र नष्ट गर अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नम्बर २ समिक्षालयरोड, वडा नम्बर ३ बुद्ध बिहार र वडा नम्बर ४ उपल्लाचौरबाट एक साथ शुरु गरिएको थियो ।
अभियानमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको छ । अभियानका क्रममा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइ समेत गरिदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमखु घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा बढी संक्रमण फैलिएको बागलुङ नगरपालिकामा १३६ जनामा संक्रमण फैलिएको छ । यस्तै अनुसार गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेङ्गी सङ्क्रमण भएको हो ।
तमानखोला र बरेङ गाउँपालिकामा अहिलेसम्म सङ्क्रमित नभेटिएको कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो । लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने त्यस्ता स्थल भेटिएमा नष्ट गर्दै समुदायमा सचेतना फैलाउदै उक्त कार्यक्रमलाई निरन्तरता दिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाटसर्ने गर्द छ । लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने, पानी जमेको स्थान
सफा गर्ने र अभिमुखीकरण गर्ने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । खनालले पुराना टायर, पानीका बोटल, फूलदानी जस्ता स्थानमा जमेको पानीबाट डेङ्गी सबैभन्दा बढी फैलन सक्नेछ ।
लामखुट्टको जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि जिल्लाका सबै वडाहरुमा विद्यालय स्वास्थ्य शिक्षा र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । । पछिल्लो समय जिल्लामा डेङ्गी बढ्न थालेपछि न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि आइतबार सरोकार भएका पक्षहरुबीच बैठक बसी स्थानीय तहमा खोज र नष्ट गर अभियान गर्न निर्देशन दिइएको थियो । त्यसलगत्तै बागलुङ नगरपालिका सहित गलकोट नगरपालिकाले अभियान थालेका छन् ।
डेङ्गी रोग नियन्त्रण तथा रोकथामकाका लागि धौलागिरी प्रादेशिक अस्पताल, सम्बोधन परियोजना, आयुवैद अस्पतालर पालिका स्तरीय अस्पतालसंग समन्वय गरिएको छ । उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ ।
