• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

जैमिनीमा विशेषज्ञ सेवा : एक हजार ३७५ नागरिक लाभान्वित

बागलुङ ।  बागलुङको जैमिनी नगरपालिकामा अहिले सम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लव अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको ८ दिने स्वास्थ्य शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रिया सहितको शिविर जैमिनीमै पहिलोपटक गरिएको हो ।

शिविरमा आँखा र स्त्रीरोग सम्बन्धी स्वास्थ्य परिक्षण संगै आँखाको शल्यक्रिर्या र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गते सम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर विरामीको परिक्षण तथा आँखाको जटिल बिरामीको सिफारिस गरिएकोमा असोज २३ गतेदेखि चार दिन सम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्रिर्या तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“यो प्रकारको विशेषज्ञ सेवा लिन नगरवासीले करोडौ खर्चनु पर्दथ्यो, हाम्रो पहलमा गाउँमै निःशुल्क विशेषज्ञ सेवा दिइएको छ, आँखाको शल्यक्रिर्या शहरमा महङ्गो पर्दथ्यो, शिविरले गाउँमै निःशुल्क बनायो” शर्माले भन्नुभयो “शल्यक्रिर्या सहितको पहिलो शिविर जैमिनीमा भएको हो, विशेषज्ञ चिकित्सक सहित दुई दर्जन बढी स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।”

शिविरमा स्त्री रोग विशेषज्ञ डा.केशव भुर्तेल, हिमालय आँखा अस्पतालका प्रमुख डा. हरी बिक्रम अधिकारी, रेडियोलोजिष्ट डा. कालु शर्मा लगायतका स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।  शिविरमा एक हजार १३६ जनाको आँखाको परिक्षण गरेकोमा ५८ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै आँखाको परिक्षण पश्चात ४५० जनालाई निःशुल्क चस्मा र आवश्यकता अनुसार औषधी वितरण गरिएको थियो । साथै स्त्रीरोग सम्बन्धि परीक्षणमा २३९ जना महिलाले सेवा लिएकोमा २०८ जनाको भिडियो एक्सरे समेत गरिएको थियो ।