• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

संरक्षणसँगै प्रचारप्रसार पर्खेको भर्तीबम(भद्रिबम) शिवालय

म्याग्दी । म्याग्दीका विभिन्न महत्वपूर्ण पर्यटकीय गन्तव्य मध्येको एक हो म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको चार सय वर्ष पुरानो भद्रिबम शिवालय । वाइसे चौबिसे राज्यका पालाको तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी रहेको यो ऐतिहासीक मन्दिरको उचित संरक्षण र प्रचार अभाव भने खड्कीएकै कुरा हो । इतिहासकारहरुको तथ्यलाई आधार मान्दा बि.सं. १७५४ मा निर्माण भएको यो शिवालय ऐतिहासीक अवस्था नियाल्ने आँखीझ्यालको रुपमा पनि लिने गरिएको छ ।

मोहनबहादुर मल्लले लेखेको पर्वतको इतिहासको पृष्ठ ४९ मा यो मन्दिरको निर्माण गरी एक हजार आठ गोदान गरी ब्राह्मण भोजन गराएको उल्लेख छ । आकर्षक तथा ऐतिहासीक महत्व बोकेको शिवालय धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बन्ने प्रचुर सम्भावना रहेको छ । शिवालय मन्दिरको शिरमा अवस्थित वरको ठूलो रुखले मन्दीरको आकर्षणलाई झनै मजबुत बताएको छ । वरका जराले शिवालयको पर्खाल घेरिएको हेर्दा भगवानलाई शेषनागले घेरेको जस्तो अनुभव गर्न सकिन्छ ।

अकर्षक तथा देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भने अलिक दुःखद् रहेको छ । तत्कालिन पर्वत राज्यको राजपरिवारका भाइभाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामले नै यो मन्दिरको स्थापना गरेको इतिहारकारको भनाइलाइ मान्न सकिन्छ । तत्कालीन पर्वत राज्यका राजा मलेबमले आफ्ना सौतेलोभाइ भद्रिबमलाइ तहसनहस पार्ने खेलमा हत्या गर्ने सम्मको अवस्थामा पुगेपछि यो मन्दिरको स्थापना भएको देखिन्छ । मलेबमले भाइ भद्रीबम मल्लको हत्यागरे पछि उनको प्रेतात्माले सताए पछि मन्दिर स्थापना गोदान र ब्राह्माण भोजन गरेको पाइन्छ ।

के हो त शिवालयको इतिहास

ऐतिहासीक पर्वत राज्यको इतिहासमा उल्लेख भएका तथ्यअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम (दिलीप बम) मल्लले १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहासमा पाइन्छ । राजा डिम्बपछि छोरानाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम पर्वत राज्यको राजा भएको इतिहास छ । घनश्याम मल्लका जेठी श्रीमती तिरका मलेबम थिए भने कान्छी श्रीमती तिरका भद्रिबम थिए । कान्छि तिरका मलेबम ज्यामरुककोटको राज गरी रहेकामा घनश्यामको देहवसान पछि मलेबम(नलैबम) पर्वत राज्यको राजा भए पछि आफ्ना भाइ भद्रिबमलाई ज्यामरुककोटको शासनभारबाट हटाउँदै देश निकालाको आदेश दिएको इतिहासमा उल्लेख छ ।

सोही अनुसार मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले “दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन”, भनी अड्डी लिएपछि मलेबमले अफ्नो अपमान भएको मानि फौज पठाएर पक्रिन लगाएरका थिए । फौजले पक्रने भनेपछि भर्तिबम पौडीएर काली तरेर लामाखेत पुगेर लुकेको अवस्थामा फौजले सोही ठाउँमा पुगेर पक्रेर ल्याएको इतिहासकार मोहनबहादुर मल्लद्वारा लिखित पर्वतको इतिहासमा उल्लेख छ । फौजले पक्रेर ल्याएका करिब २३ वर्षका भर्तिबमलाई मलेबमले आफ्नै हातले शिर छेदन गरेर हत्या गरेको उल्लेख छ । आफ्ना पतिको जीवनदान माग्न आएकी भर्तिबमकी पत्नीले बेनी नजिकै हालको कुरिलाखर्क भन्ने स्थानमा गएर गलामा पासो लगाइ आत्महत्या गरेको मल्लले लेखेको पर्वतको इतिहासबाट थाहा हुन्छ । रानी संगै गएकी उनकी भान्से बाहुनीले पनि राजाको हत्याको वियोगमा आत्महत्या गर्ने रानी सँगै आत्महत्या गरेकी थिइन् । अहिले उक्त स्थानमा महारानी नाथ स्थापना गरेर नियमित पुजाआजा हुनुका साथै बोका तथा परेवा बलि दिने पनि गरिन्छ ।

मलेबमले हत्या गर्ने डरले भागेर भर्तिबम र उनका मित डिल्ली भुजेलसहित लामगरा (लुङ्दी)मा पुगेको इतिहासमा उल्लेख छ । भर्तिबमलाई पक्राउ गरी शिरोच्छेदन गरी मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने रहेको छ । राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले पूजाआजा गरेको इतिहासमा पाइन्छ । मोहनबहादुर मल्लद्वारा लिखित पर्वतको इतिहासमा भाइको हत्या पछि मलेबमले बेनी स्थीत काली र म्याग्दीको दोभानमा शिवालय बनाउन लागाइ एक हजार आठ गौदान तथा ब्राह्मणभोजन समेत गराएको उल्लेख भएको प्रसंगले पनि यसलाई थप पुष्टि गर्ने देखिन्छ । भाइको प्रेतात्मालाई शान्त पार्नका लागि नै शिवालय खडा गरेको उक्त इतिहासमा उल्लेख छ ।

मलेबमले मन्दिर स्थापना गरेर पुजाआजा शुरु गरेको उक्त शिवालय मन्दिरमा हाल सम्म पनि नियमित पूजाआजा गर्ने गरिन्छ । साथै मलेबमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ भन्ने पुस्तक लेख्न लगाएपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ । भद्रिबम मल्लपछि राजा मलेबम मल्लका माइला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीले पनि पुष्टि गर्ने गर्दछ । उनको शासनकाल अर्थात् १८४३ मा बहादुर शाहले आठ हजार पर्वतका राजा कीर्तिबम मल्ललाई जितेपछि पर्वत राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो । १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनीतिक एव प्रशासनिक कार्य सञ्चालन भयो । यही परम्परागत रुपमा पछि गाविस हुँदै अहिले स्थानीय तहको एउटा वडाको रुपमा ज्यामरुककोट रहेको छ ।

यसरी भयो भद्रिबम मल्लको हत्या
बाबाको मृत्यु पछि मलेबम पर्वत राज्यको राजा भएपछि पहिलो काम नै भद्रिबमलाई ज्यामरुककोटबाट हटाउने प्रयास भएको थियो । तर भद्रिबम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने चिन्तामा परेका राजा मलेबमले भाइ भद्रीबम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थालेको बुझिन्छ । जयन्ती मङ्गलाकालीको कालीगण्डकी दोभानमा सबेरै नुहाउने समयमा भद्रीबम मल्लको शिर छेदन गर्ने योजना बनाइ उनले नुहाउन आउने र जाने समयको चियो गर्न मलेबमले गुप्तचर खटाए ।

सोही योजना मुताविक केही समयपछि अवस्था जटिल बनाउँदै लगेपछि भद्रिबम भागेर लामागरा पुगेछि फौज पठाएर बेनी ल्याएर राजा भद्रिबमको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलेबम मल्ल सफल भएको देखिन्छ । भाइको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड तलतिर र शिर माथितिर बग्न थाल्यो ।

भाइको हत्यापछि पश्चातापमा परेका मलेबम मल्ललाई मुखबिनाको भाइको शरीरको गिडले “दाजु ! मेरो हत्या गर्नुभयो, म निर्दोषी भाइलाई शिर छेदन गरेर मारेकामा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मङ्गला र कालीगण्डकी नदीको दोभानमा राखी शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उघौली र उभौली गरी पूजा चलाउनु, शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश, भगवती, नारायण आदि देवताको स्थापनागरी नित्य पूजा सञ्चालन गराइदिनु र नित्य पूजाका लागि गुठीसमेतको व्यवस्था मिलाइ दिनु”, भाइले भनेको भनाइ छ ।

भाइको इच्छाअनुसार राजा मलैबमले (हालको बेनी शिवालयको गुठी) बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा गुठीको व्यवस्था गरिदिए । सो गुठी अझैसम्म पनि रहेको छ । भर्तीबम मल्लकै इच्छाअनुसार दाजु मलेबम मल्लले १७५४ मा बेनी शिवालय मन्दिरको निर्माण गरेको मोहनबहादुर मल्लको पर्वतको इतिहासमा उल्लेख छ । त्यसपछि १७७२ मा मलेबम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैबम र रानीमहल वसन्तको दुई हात जोडिएको मूर्ति राखेको र त्यो आजसम्म पनि देख्न सकिन्छ । राजा मलेबम मल्लले भाइको बिना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले ‘पाञ्चायत प्रायश्चित्त प्रदीप’ नामक ग्रन्थ लेख्न लगाउनुभएको इतिहास छ । मलेबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो ।

आफ्ना पति राजा भद्रिबम मल्लको हत्या पछि रानीले हालको बेनी नगरपालिका ७ मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य ज्यामरुककोट देखिने ठाउँमा पुगेर आत्महत्या गरेको स्थान हालसम्म उनै महारानीको पूजा गर्ने गरेको पाइन्छ । उनीहरुले राज्य गरेको ठाउँ ज्यामरुकोट क्षेत्रमा भने यसको खासै कुनै चासो खोजी र वास्ता गरेको पाइँदैन । राजा मलेबमले भाइ भद्रिबमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तिबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भद्रिबम जिवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ ।

ऐतिहासिक शिवालयको संरक्षणमा समुदायको चासो

ऐतिहासिक महत्वको यो शिवालयको संरक्षणका लागि स्थानीयले पनि सक्रियता देखाउने गरेका छन् । शिवालयको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका उपाध्यक्ष सुन्दर केसीको भनाइ छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनमूलक कार्य गर्ने प्रयास गर्दै आएको उहाँको भनाई छ । नापी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार हाल बेनीमा रहेको शिवालय मन्दिर परिषरमा १३ आना क्षेत्रफल जमिन रहेको छ भने बागलुङमा मन्दिरको नाउमा भएको गुठी व्यक्तिले आफ्नो नाममा गरेको उपाध्यक्ष केसीको भनाई छ ।

समिति गठन भए सँगै मन्दिर परिसरमा भौतिक संरचना स्थापना गर्नुका साथै एक सय आठ शिवलिङ्ग स्थापना र यज्ञमण्डप निर्माण गरिएको छ । मन्दिरमा साउनको सोमबार, मङ्गलचौथी, जनैपूर्णिमा, ग्रहदशा पूजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि मन्दिरमा एक जना पुजारीको पनि व्यवस्था गरिएको छ ।