बागलुङ। सहिदस्मारक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा बागलुङको जैमिनीम सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । कात्तिक १२ गतेदेखि सुरु भएको तालिममा १ सय जना महिलाको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले तालिममा सिकेको सीप दैनिक जीवनमा समेत प्रयोग गर्न आग्रह गर्नु भएको थियो । शर्माले तालिमको सीपलाई सकेसम्म व्यवसायीक हुन उपयोग गर्ने र सक्दै नसके आफ्नो जीवनमा भएपनि लागु गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले आजको युगमा सीप नभएको व्यक्तिले प्रगति गर्न नसक्ने भन्दै प्रविधिको उच्चतम प्रयोग गरेर आफुलाई अब्बल बनाउन आग्रह गर्नु भएको थियो । सामुदायिक सिकाई केन्द्रले जैमिनी नगरपालिका वडा नम्बर ६, ७ र ८ का महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिएको हो ।
तालिममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहनु भएको प्रशिक्षक हुमा कुमारी जिसी अन्जुले प्रशिक्षण गर्नु भएको थियो । तीन दिनसम्म जैमिनीका महिलालाई सेनेटरी प्याड बनाउन सिकाएपछि जिसीले प्रत्येक महिना महिनावारीको समयमा प्याड खरिद गर्दा हुने हजारौँ खर्च जोगाएर एक पटक आफैले सेनेटरी प्याड बनाएपछि पटक पटक प्रयोग गर्न सकिने भन्दै उहाँले खर्च समेत कम हुने बताउनु भएको थियो ।

मुलायम कपडाको प्याड बनाएर प्रयोग गर्दा सुरक्षित समेत हुने भन्दै उहाँले सरसफाईमा भने ध्यान दिनु पर्ने बताउनु भएको थियो । तालिम सिकाई केन्द्रका अध्यक्ष अर्जुन शर्माको अध्यक्षता, सामाजिक परिचालिका मञ्जु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।