• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

मंगला गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड शुरु

  • २०८२ कार्तिक २१, शुक्रबार

म्याग्दी । मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०८२ बिहीबार देखि शुरु भएको छ ।

मंगला गाउँपालिका २ लाम्पाटा खेल मैदानमा सुरु तीन दिन सम्म चल्ने प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उद्घाटन् गर्नुभयो । राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी प्रतियोगिता हुनेछन् ।

मंगला गाउँपालिका भित्रका ९ विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितामा एथलेटिक्स तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर १५ सय मिटर र ३ हजार मिटर, तथा एक सय गुण चार र चार सय गुणा चार रिले ट्रयाक तर्फका खेल हुनेछन् । त्यस्तै सटपुट, हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याबलीन थ्रो फिल्ड तर्फको खेल हुने मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

३० स्वर्ण पदकका लागि हुने उक्त प्रतियोगितामा धेरै पदक जित्ने विद्यालयले रनिङ शिल्ड आफ्नो पोल्टामा पर्नेछ । गत वर्ष भएको पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालयले शिल्ड जितेको थियो ।

यसैबीच पहिलो दिन भएको उद्घाटन खेलको १५ सय मिटर दौडमा छात्र तर्फ महेन्द्र रत्न माध्यमिक विद्यालय बरंजाका विवेक नेपालीले स्वर्ण, मंगला माध्यमिक विद्यालय बाबियाचौरका बुद्धिबहादुर बिकले रजत र शिद्धशान्ति माध्यमिक विद्यालय हिदिका हविन फगामीले कास्य पदक जितेका छन् । त्यस्तै छात्रा तर्फ शीशुकल्याण माध्यमिक विद्यालय अर्मनकी थमसरा रोकाले स्वर्ण, मंगला माध्यमिक विद्यालयकी कृष्णकुमारी सापकोटाले रजत र महेन्दद्र रत्न माध्यमिक विद्यालयकी प्रमिसा पुनले कास्य पदक जितेकी छिन् ।

  • २०८२ कार्तिक २१, शुक्रबार