बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म रु.८ करोड ९४ लाख संकलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणमा महायज्ञ सञ्चालन भइरहेको छ ।
महायज्ञमा दानबिरहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ । महायज्ञमा शुक्रबार मात्रै रु. एक करोड ३४ लाख संकलन भएको थियो ।
यस्तै महायज्ञमा बिहिबार सबैभन्दा बढी रकम रु.एक करÞोड ६२ लाख संकलन भएको थियो । महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञमा हजारौ दानतादाहरुको सहयोग रहेको बताउनुभयो । उहाँले बागलुङ, पर्वत, म्याग्दी लगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले अनलाइन (क्युआर)मार्फत समेत सहयोग गरिरहेको जानकारी दिनुभयो ।
शुक्रबार मात्रै बागलुङ नगरपालिका–३ राजभण्डारी टोल निवासी सहदेव राजभण्डारी तथा आनन्द प्रकाश राजभण्डारीले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि रु. १० लाख ११ हजार प्रदान गर्नुभएको थियो । यस्तै बागलुङ नगरपालिका–२ स्थित राज्य लक्ष्मी सुनचाँदी पसलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण कार्यमा एक कोठा निर्माणका लागि रु. ५ लाख २५ हजार सहयोग गर्नुभएको छ । यस्तै बागलुङ नगरपालिका–८ सिगाना निवासी तथा हाल एनआरएनए पोर्चुगलका अध्यक्ष, बमबहादुर जि.सी र इन्द्रा कुमारी जि.सीद्वारा मानवसेवा आश्रम बागलुङ शाखाको एक कोठा निर्माणका लागि रु.५ लाख ५५ हजार सहयोग गर्नुभएको छ ।
आश्रम एक कोठा निर्माणका लागि रु. ५ लाख ११ हजार संस्थागत रुपमा समेत प्राप्त भइरहेको छ । महायज्ञमा पाँच हजार देखि १० लाखसम्म रकम दान संकलन भइरहेको आश्रमले जनाएको छ । महायज्ञमा रु. १० करोड संकलन गर्ने लक्ष्य रहेको थियो । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले उत्साहपूर्ण सहयोग गरिरहेको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबार बिहिन सडक मानवको पुनस्र्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।
देश–विदेशमा रहेका बागलुङवासी, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्युआर कोड र अन्य माध्यममार्फत सहयोग प्रदान गरिरहेका छन् । महायज्ञ कात्तिक २९ गते शनिबार समापन हुनेछ ।
