• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

म्याद थपेपछि हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नतिले गति लियो

बागलुङ । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत पर्ने बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक स्तरोन्नतिले गति लिएको छ । पश्चिम क्षेत्रमा पर्ने उक्त सडकले बागलुङको बीच भागलाई विकासमा जोड्ने छ ।

बागलुङको क्षेत्र नं २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडकको ८ किमि सडक कालोपत्रका लागि गरेको ठेक्का सम्झौता थपेपछि बल्ल कालोपत्रको चरणमा पुगेको छ ।

दुई वर्षमा जम्मा २५ प्रतिशत काम सकेकोे निर्माण व्यवसायीले म्याद थप गरेपछि कामलाई गति दिएर ७० प्रतिशत भौतिक प्रगति गर्न सफल भएको छ । अहिले पाँच किमि सडक कालोपत्रको लागि पूर्वाधार तयारी भइसकेको छ भने एक किमि सडक ढलान सम्पन्न भइसकेको छ ।

अन्य दुई किमि सडक पूर्वाधार निर्माणकै चरणमा रहेको छ । निर्माण व्यवसायीले पछिल्लो समय कामलाई तिब्रता दिएको गलकोट नगरपालिका–७ मल्मका वडा अध्यक्ष राज थापाले जानकारी दिनुभयो ।

सडक निर्माणको सम्झौता गरेको दुई वर्षमा २५ प्रतिशत मात्रै प्रगति गरेको निर्माण व्यवसायीले २०८२ फागुन ५ गते भित्र सडक सक्नेगरी सम्झौता थप गरेको थियो । सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/ लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिइरहेको छ । “दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने थियो, २०८१ सालमै सकिने सडक बल्ल तिब्र रुपमा अघि बढेको छ” थापाले भन्नुभयो “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तरगत ठेक्का म्याद थपेपछि निर्माण व्यवसायीले कामलाई तिब्रता दिएको हो ।”

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गरेपछि अहिले ७० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो ।

७० प्रतिशत भौतिक र ६० प्रतिशत आर्थिक प्रगति भएको सडकको आगमी चैत सम्म पाँच किमि कालोपत्र गर्ने तयारी रहेको छ । इन्जिनियर भण्डारीका अनुसार उक्त सडक यही गतिमा काम गरेमा अझै एक पटक म्याद थप्नुपर्ने बताउनुभयो । अहिले काम गर्ने निर्माण व्यवसायीलाई भुक्तानीको समस्या नहुँने जानकारी दिनुभयो । सडकको २०७९ भदौमा रु. २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक स्तरोन्नती, ढालन र कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौर खण्ड स्तरोन्नती भएर कालोपत्रको चरणमा पुगेपनि मल्म नाँच्नेडाँडा भन्दा माथि पूर्वाधारको काम बाँकी रहेको छ ।

उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ । उक्त सडक झण्डै ४० किलोमिटर लामो रहेको विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।