• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

बागलुङमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता शुरु

 

बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा सर्वाधिक पुरस्कार राशीको मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बाङ्गेचौर खेलमैदानमा आइतबारदेखि शुरु भएको हो ।

नगर खेलकूद विकास समितिद्वारा आयोजित मेयर कपको उद्घाटन नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै खेलाडी उत्पादनका लागि खेल प्रतियोगिताले प्रोत्साहन गर्ने बताउदै नगरपालिकाले खेलकूदको क्षेत्रमा लगानी बढाएको बताउनुभयो । उहाँले पर्यटनको विकासका लागि समेत खेल क्षेत्र महत्वपूर्ण रहेको बताउदै खेलाडीका कारण बागलुङको पहिचान उचो बनाउन सहज हुने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले बागलुङले खेलकूद क्षेत्रमा अघि बढ्नका लागि खेलकूदका गतिविधि महत्वपूर्ण रहेको जानकारी दिनुभयो । बागलुङको पहिचान बढाउनका लागि खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेल, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, बानपा–१ का वडा अध्यक्ष जय बहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेलको अध्यक्षता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत तथा पत्रकार तारा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

मेयरकपमा आयोजक बागलुङ नगरपालिका सहित १० टिम सहभागी रहेका छन् । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल १८ गते हुने छ । प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ र उपविजेताले २ लाख २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्ने छन भने प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले दुई हजार प्राप्त गर्ने छन् ।

उद्घाटनपछि भएको खेलमा आयोजक बागलुङ नगरपालिका (निलो)ले तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पर्वतको जलजला गाउँपालिकालाई ५–० ले पराजित गर्दै बागलुङ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको छैठौं मिनेटमा बागलुङका दिप्लभ जिसीले गोल गर्दै आयोजक टिमलाई अग्रता दिलाउनुभएको थियो । डिबक्स भित्रबाट राजिव श्रीसले दिएको उत्कृष्ट पासलाई जिसीले गोलमा परिणत गर्नुभयो । खेलको ३८ औं मिनेटमा पेनाल्टी बक्सबाट बरदान थापाले गोल गर्दै बागलुङलाई पहिलो हाफमा २–० को अग्रता दिलाउनुभयो ।

बागलुङ नगरपालिकाका लागि खेलको ४९ औं मिनेटमा सुशिल मगर र ५८ औं मिनेटमा सौरभ गौतमले गोल गरे भने ७३ औं मिनेटमा आयुष पौडेलले गोल गर्नुभएको थियो । खेलको अधिकांश समय बागलुङले विपक्षी जलजलामाथि दबाब कायम गरेको थियो । खेलको प्लेयर अफ द म्याच विजेता टिमका कप्तान निशान थापा घोषित हुनुभयो । उहाँले नगद २ हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।

सोमबार तीन खेल हुने प्रतियोगिताका संयोजक सुदिप गौतमले बताउनुभयो । सोमबारको पहिलो खेल जैमिनी नगरपालिका बागलुङविरुद्ध बेनी नगरपालिका म्याग्दी, दोस्रो खेल गलकोट नगरपालिका बागलुङविरुद्ध गण्डकी प्रदेश प्रहरी पोखरा र तेस्रो खेल कालीजङ्ग गण घोडाबाधेविरुद्ध पैयुँ गाउँपालिका पर्वतका बिच हुने छ ।

बागलुङ नगरपालिकाले २०७४ सालमा पहिलो र २०७६ सालमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसपछि रोकिएको प्रतियोगितालाई यस वर्षबाट पुनः आयोजना गरिएको हो ।